काठमाडौँ- काठमाडौँको सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जेठ १६ गते दिउँसो करिब १ः२३ बजे सुकेधारामा एक महिलामाथि खुर्सानीको धुलो प्रहार गरी सिक्री र मोबाइल लुटपाट गरेर फरार भएका व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा सोही दिन राति ९ः२५ बजे काठमाडौं महानगरपालिका–३२ स्थित जडिबुटी मनोहरा खोला करिडोरबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्की र इलाम घर भई विभिन्न धर्मशालामा बस्दै आएका ३१ वर्षीय विष्णु गुरुङ रहेका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा कार्कीले प्रहरीमाथिसमेत खुर्सानीको धुलो प्रहार गरी खुकुरी आक्रमण गर्न खोजेका थिए। उनको साथबाट लुटिएको एक थान सिक्री, एक थान मोबाइल र एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेका कार्कीको लामो आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। उनीविरुद्ध अभद्र व्यवहार, हातहतियार तथा खरखजाना, कर्तव्य ज्यान, चोरी तथा डाँका चोरीलगायतका मुद्दा रहेको प्रहरीले जनाएको छ।
डाँका चोरी कसूरमा ६ वर्ष कैद सजाय भोगिरहेका कार्की २०८२ भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए। फरार भएपछि उनले काठमाडौंका विभिन्न क्षेत्रमा प्रहरीको परिचय दिँदै तथा खुर्सानीको धुलो प्रयोग गरी लुटपाटका घटना सञ्चालन गरेको खुलेको छ।
प्रहरीका अनुसार उनले कपनमा प्रहरीमाथि आक्रमण गर्ने, गौशालामा बिजुली पसल चोरी गर्ने, विदेश जाने व्यक्तिहरूमाथि नगद तथा मोबाइल लुटपाट गर्ने, शान्तिनगरमा मोबाइल लुट्ने, तिलगंगालगायत क्षेत्रमा प्रहरी भएको नाटक गरी लागुऔषध प्रयोगकर्ताबाट रकम र सामग्री लुट्ने, पशुपति तथा जोरपाटी क्षेत्रमा समेत यस्तै गतिविधि सञ्चालन गर्ने र सुन्दरीजलबाट स्कुटर चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
भर्खरै
लोकप्रिय
