- कार्यक्रममा विद्यालय व्यवस्थापन, गुणस्तरीय शिक्षा, र समुदायको भूमिकाबारे जनप्रतिनिधि र शिक्षाविद्हरूले आफ्ना धारणा व्यक्त गरे।
- पूर्व प्रधानाध्यापकले विद्यालय स्थापनाका संघर्ष बुझाउँदै समुदायको सहयोगले विद्यालय सञ्चालन गरेको अनुभव सुनाए।
- विद्यालय विकासका लागि स्थानीय व्यापारीको सहयोग आवश्यक हुने र शिक्षकहरूलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइयो।
काठमाडाैँ – लोकहित विद्यालयले बालअभिभावक सहभागिता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जनप्रतिनिधि, शिक्षाविद्, पूर्व शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिले सामुदायिक विद्यालयको सुदृढीकरण, गुणस्तरीय शिक्षा र समुदायको भूमिकाबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले सामुदायिक विद्यालयप्रति नकारात्मक धारणा बढ्नु चिन्ताको विषय भएको बताए।
उनले शिक्षा सुधारका लागि महानगरले ठूलो लगानी गरिरहेको भन्दै सरकारी विद्यालयमा पढाउने शिक्षक तथा अभिभावकले आफ्ना छोराछोरीलाई पनि सामुदायिक विद्यालयमै अध्ययन गराउनुपर्ने धारणा व्यक्त गरे।
तिवारीले सामुदायिक विद्यालयमा पूर्वाधार, प्रविधि तथा अन्य सुविधाको विस्तार भए पनि विद्यार्थी आकर्षित हुन नसक्नु चुनौतीका रूपमा रहेको बताए।
“आधुनिकता मात्र होइन, व्यावहारिक शिक्षा पनि आवश्यक छ। ठूलालाई सम्मान र सानालाई माया गर्ने संस्कार विद्यालयबाटै सिकाउनुपर्छ,” उनले भने। विद्यालय व्यवस्थापन समितिलाई पर्याप्त अधिकार दिइए पनि समितिमा जिम्मेवारी लिन इच्छुक व्यक्ति पाउन कठिन भइरहेको उनको भनाइ थियो।
शिक्षाविद् प्रा. प्रकाशसिंह प्रधानले विद्यालय र समुदायको सम्बन्ध ऐतिहासिक रूपमा बलियो रहेको स्मरण गराउँदै २०२८ सालपछि शिक्षा व्यवस्थापनको जिम्मेवारी पूर्ण रूपमा राज्यले लिएसँगै समुदायको प्रत्यक्ष सहभागिता कमजोर हुँदै गएको बताए। उनले आधारभूत शिक्षालाई माटो, समुदाय, संस्कार, संस्कृति र दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिए।
काठमाडौँ महानगरपालिका शिक्षा विभागका निवर्तमान विभागीय प्रमुख रामप्रसाद सुवेदीले विद्यालय विकासका लागि सरकारी स्रोतसँगै स्थानीय व्यापारी, समाजसेवी तथा समुदायको सहयोग पनि आवश्यक हुने बताए। सरकारले देशभरका विद्यालय हेर्नुपर्ने भएकाले स्थानीय स्तरमा स्रोत परिचालन र सहकार्य महत्वपूर्ण हुने उनको भनाइ थियो।
वडा सदस्य प्रवेश श्रेष्ठले निजी विद्यालयप्रतिको आकर्षण र सामुदायिक विद्यालयप्रतिको कमजोर मनोविज्ञानले सरकारी विद्यालयहरू प्रभावित भएको बताए। उनले सामुदायिक विद्यालयमा धेरै निजी विद्यालयभन्दा उत्कृष्ट सुविधा उपलब्ध रहेकाले अभिभावकले विद्यालयप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए।

विद्यालयका पूर्व प्रधानाध्यापक मधुमान प्रधानले विद्यालय स्थापनाकालीन संघर्ष सम्झँदै आर्थिक अभावका बीच गरिब तथा विपन्न वर्गका बालबालिकालाई शिक्षा दिने उद्देश्यले विद्यालय स्थापना गरिएको जानकारी दिए।
प्रारम्भिक चरणमा विद्यार्थीहरू सुकुलमा बसेर पढ्ने, कक्षाअनुसार एक–दुई रुपैयाँ शुल्क संकलन गरी डेस्कबेञ्च बनाउने र समुदायकै सहयोगबाट विद्यालय सञ्चालन गरिएको अनुभव उहाँले सुनाए। “शिक्षक सक्रिय नभएसम्म विद्यार्थी आकर्षित हुँदैनन्,” उनले भने।
दीर्घकालीन शिक्षण अनुभव साझा गर्दै पूर्व शिक्षिका ज्ञानु मास्केले आफूले ४४ वर्ष शिक्षण सेवा गरेको उल्लेख गर्दै विगतमा शिक्षकहरूले विद्यालयका धेरै काम आफैँ गर्नुपर्ने अवस्था रहेको स्मरण गर्नुभयो। उहाँले शिक्षकहरूको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिन आग्रह गरे।

पूर्व विद्यार्थी गेहेन्द्र प्रधानले विद्यालय मात्र स्मार्ट भएर नहुने भन्दै शिक्षकलाई पनि समयानुकूल दक्ष र प्रविधिमैत्री बनाउनुपर्ने बताए।
विद्यालयका प्रधानाध्यापक मिनराज न्यौपानेले विद्यालयको विकासलाई विद्यालय परिसरभित्र मात्र सीमित नराखी समुदायसम्म विस्तार गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए। सीमित क्षेत्रफलमा सञ्चालन भइरहेको विद्यालयमा बाहिरी क्षेत्रका विद्यार्थी भर्ना हुने गरे पनि स्थानीय बालबालिकाको सहभागिता अपेक्षाकृत कम रहेको उल्लेख गर्दै समुदायका सुझाव, अपेक्षा र सहभागितालाई विद्यालय विकाससँग जोड्ने प्रयास भइरहेको बताए।

प्रिन्सिपल एसोसिएसन अफ नेपालकी प्रतिनिधि सुशीला पौडेलले विद्यालय र अभिभावकबीच नियमित संवाद आवश्यक रहेको बताउँदै कम्तीमा महिनामा एक पटक अभिभावक बैठक आयोजना गर्न सुझाव दिइन्। उनले विद्यालयले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई दैनिक जीवन उपयोगी सीप, श्रमप्रतिको सम्मान र व्यावहारिक ज्ञान पनि सिकाउनुपर्ने बताएकी थिइन्।
भर्खरै
लोकप्रिय
