- सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजस्व हिनामिना गरेको आरोप लगाउँदै संसदीय समिति गठनको माग गरे।
- उनले विगतका घटनालाई देखाउँदै अर्थमन्त्रीले बजेटको दर परिवर्तन गरी राजस्व हिनामिना गरेको दावी गरे।
- सभामुखको ध्यानाकर्षण गराउँदै उनले यस्तो चलन स्थायीरुपमा अन्त्य गर्न तुरुन्त छानविन समिति आवश्यक रहेको बताए।
काठमाडौँ- प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राजस्व हिनामिना गरेको आरोप लगाउँदै छानविनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले करको दर तलमाथि गरेर अर्थमन्त्री वाग्लेले राजश्व हिनाहिना गरेकाले संसदीय छानविन समिति गठन गरी त्यसको छानविन हुनुपर्ने बताएका छन् ।
सांसद बरालले विगतलाई देखाएर अर्थमन्त्री वाग्लेले आफूले गरेको गल्तीबाट उम्किन नपाउने पनि बताए । उनले विगतमा त्यस्ता घटना भएको भए छानविनको दायरामा आउन विपक्ष दलहरु तयार रहेको पनि बताए ।
सांसद बरालले भने,‘आज देशको अर्थमन्त्रीले आफनो विचार अभिव्यक्त गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरु उठाउनु भयो । म सभामुख महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु-कि विगतका सबै घटनाहरुलाई दुधको दुध, पानीको पानी गरेर छुटयाउनका लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ । त्यसले सत्यलाई उजागर गर्न चाहन्छ, कमजोरी भए सच्याउन चाहन्छ । तर विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दररेटमाथि छेडखानी भएर राजस्वलाई तलमाथि पार्नुभएको छ । यो चीजबाट उम्किन पाइँदैन सभामुख महोदय । यस दिशातर्फं माननीय अर्थमन्त्रीज्युको सभामुखमार्फत अविलम्ब ध्यानाकृष्ट गरियोस । र एउटा संसदीय समितिमार्फत यो विषयलाई छानविन गरेर निरुपित गर्नु पर्दछ । अन्यथा यस खालका चलनहरु चलिरहनेछन । र, गलत चिजहरको नजिर र अभ्यास बसिरहनेछ । यसलाई सदाको लागि अन्त्य गर्नका लागि संसदीय छानविन समिति गठनको जरुरी छ ।’
सांसद बरालले अर्थमन्त्री वाग्लेमाथि छानविनका लागि अभिलम्व कदम चाल्न पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराए ।
भर्खरै
लोकप्रिय
