अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारबाट अमेरिका र इरानबीचको युद्ध समाप्त भएको दाबी गरेका छन्। आफ्ना समर्थकहरूसँगको एक भर्चुअल र्यालीमा ट्रम्पले अमेरिका-इरान युद्ध अन्त्य भएको बताउँदै इरानले अब कहिल्यै परमाणु हतियार विकास नगर्ने बताए।
तर, ट्रम्पको उक्त दाबीलाई इरानले तत्कालै अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्मानियल बघाईले शान्ति सम्झौताबारे अझै अन्तिम निर्णय नभएको स्पष्ट पारेका छन्। उनका अनुसार वार्ताका केही महत्वपूर्ण विषयहरूमा सहमति जुट्न बाँकी नै छ।
यसअघि ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीले नयाँ सम्झौताका लागि स्वीकृति दिएको दाबी गरेका थिए। उनले यही साता युरोपमा अमेरिका–इरान शान्ति सम्झौतामा हस्ताक्षर हुन सक्ने र सबै प्रक्रिया सहज रहे अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत उक्त कार्यक्रममा सहभागी हुन सक्ने उनले बताए।
ट्रम्पमाथि निरन्तर दबाब
विश्लेषकहरूका अनुसार ट्रम्पमाथि इरानसँगको द्वन्द्व अन्त्य गर्न घरेलु दबाब बढ्दै गएको छ। अमेरिकाभित्र यो युद्ध लोकप्रिय बन्न सकेको छैन भने यसको आर्थिक असर पनि देखिन थालेको छ।
अल जजिराको रिपोर्टअनुसार विज्ञहरू ट्रम्पले युद्ध अन्त्य गरेर राजनीतिक क्षति कम गर्ने र अर्थतन्त्रलाई राहत दिने उपाय खोजिरहेको बताउँछन्। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि यो संकट समाधान गर्न उनी इच्छुक रहेको आँकलन गरिएको छ।
यद्यपि, केही रिपब्लिकन नेताहरूले ट्रम्पलाई इरानप्रति अत्यधिक नरम नहुन चेतावनी दिएका छन्। उनीहरू इरानसँगको सम्भावित सम्झौताले अमेरिकी रणनीतिक हित कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन्।
३९ पटक दोहोरिएको दाबी
रोचक पक्ष के छ भने ट्रम्पले अमेरिका–इरान शान्ति सम्झौतानजिक पुगेको वा इरान सम्झौताका लागि तयार भएको दाबी यसअघि पनि पटक-पटक गर्दै आएका छन्।
सीएनएनका अनुसार मार्चयता ट्रम्पले सार्वजनिक भाषण, सामाजिक सञ्जाल पोस्ट तथा सञ्चारमाध्यमसँगको संवादमार्फत कम्तीमा ३८ पटक सम्झौता हुन लागेको या केही दिनमै सम्झौता हुने दाबी गरिसकेका छन्। शुक्रबारको पछिल्लो अभिव्यक्तिसँगै यस्तो दाबीको संख्या ३९ पुगेको छ।
तर, तेहरानले भने निरन्तर रूपमा अन्तिम सम्झौता अझै नभएको बताउँदै आएको छ। त्यसैले ट्रम्पको आशावादी घोषणाबीच पनि अमेरिका-इरान सम्बन्धको भविष्य अझै अनिश्चित देखिएको छ।
भर्खरै
लोकप्रिय
