- कालिलो वन कार्यालयका कर्मचारीहरूले टेम्पो जबरजस्ती खसाएपनि विज्ञप्तिमा घटनालाई दुर्घटना भनिएको छ।
- सामाजिक सञ्जालमा टेम्पो भीरबाट खसालेको भिडियो भाइरल भएसँगै कर्मचारीले झुटो विवरण जारी गरे।
- टेम्पो मालिक धनादेवी धामीले रोजगारीको साधन गुमेकामा राज्यलाई कर तिर्दा पनि गुनासो गरिन्।
काठमाडौँ- कैलालीमा टेम्पो भीरबाट खसालेका डिभिजन वन कार्यालयका कर्मचारीहरूले आफूहरूले भीरबाट नखसालेको र दुर्घटना भएको भन्दै झुट बोलेका छन्।
सामाजिक सञ्जालमा टेम्पो भीरबाट जबर्जस्ती खसालेको भिडियो भाइरल हुँदाहुँदै घटनामा संलग्न २१ जना कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गर्दै टेम्पो भीरबाट आफै दुर्घटनावश खस्न पुगेको भन्दै झुटो बोलेका हुन्।
‘टेम्पोलाई पन्छाउन खोज्दा असन्तुलन भई सो कवाडी टेम्पोको अस्तिरपञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको हो’, विज्ञप्तिमा भनिएको छ।
शुक्रबार (जेठ २९ गते) कैलालीको गोदावारी नगरपालिका ४ गोदावारी सामुदायिक वनको क्षेत्र पर्ने गाईमारे सडकखण्ड छेउमा व्यापारका लागि राखिएको बिग्रिएको टेम्पो अतिक्रम हटाउने भन्दै वनका कर्मचारीले भीरबाट खसालेका थिए। ५-७ जनाले टेम्पोलाई भीरतिर धकेलेको भिडियो अहिले भाइरल भएपछि आलोचना भइरहेको छ।
आलोचनाबाट बच्नका लागि वनका कर्मचारीले टेम्पोलाई कवाडी, अस्थिरपञ्जर भन्दै सस्तो टिप्पणी गरेका छन्। उनीहरूले विज्ञप्तिमा टेम्पो बिग्रिएको, वरपर सार्नसमेत नमिल्ने र अस्थिरपञ्जर मात्र थियो भन्ने बताएका छन्।
उक्त टेम्पो कैलालीको गोदावरी नगरपालिका- ४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको हो। उनले आफूले काम गरेर रोजीरोटी चलाउने गरेको टेम्पो फ्यालिदिएकोमा गुनासो गरेकी छन्। राज्यलाई कर तिर्दै आएको भए पनि गरिखान नपाएकोमा उनको गुनासो छ। बैँग्लोर बस्ने छोराले आफूलाई टेम्पो किनिदिएको र सोही टेम्पोमा व्यापार गरेर गुजारा चलाउँदै आएको उनले बताएकी छन्।

भर्खरै
लोकप्रिय
