जर्मनीविरुद्ध भिड्ने कुरासाओ कस्तो टोली हो? के होला नतिजा?

जर्मनीविरुद्ध भिड्ने कुरासाओ कस्तो टोली हो? के होला नतिजा?
+
-

फिफा विश्वकपअन्तर्गत आज समूह ‘ई’ को खेलमा चार पटकको विश्वविजेता जर्मनीले क्यारेबियन टोली कुरासाओको सामना गर्दै छ। पहिलो पटक विश्वकपमा समावेश भएको यो सानो टापु राष्ट्रको फुटबलको लोभलाग्दो विकास आफैमा अनौठो छ। यस्तोमा उपाधि दाबेदार मानिएको जर्मनीसँगको भेट स्वभाविक रुपमा सबैका लागि प्रतीक्षित छ। नवप्रवेशी कुरासाओ र अनुभवी जर्मनीबीचको खेल नेपाली समयअनुसार आज राति १०:४५ बजे सुरु हुनेछ।

जनसंख्याका हिसाबले विश्वकप इतिहासकै सबैभन्दा सानो राष्ट्रमध्ये एक कुरासाओका लागि यो सहभागिता आफैँमा ऐतिहासिक उपलब्धि हो। तर विश्व फुटबलका शक्तिशाली राष्ट्र जर्मनीविरुद्ध अंक खोस्न सक्नु उसका लागि निकै ठूलो चुनौती मात्र होइन, दुर्लभ उपलब्धिको मानकसमेत हुनेछ।

समूह चरणमा जर्मनी, आइभोरी कोस्ट र इक्वेडरजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले कुरासाओले विश्वलाई देखाउनुपर्ने चुनौतीमा रहेको छ। साथै फुटबलका लागि जनसंख्या र भुगोल होइन ‘डेडिकेशन’ महत्वपूर्ण हुन्छ भन्ने प्रमाणित गर्नै मौका पनि कुरासाओलाई छ।

अर्कोतर्फ जुलियन नागेल्समानको नेतृत्वमा रहेको जर्मनी पछिल्ला वर्षहरूमा ठूला प्रतियोगितामा अपेक्षाअनुसार सफल हुन नसके पनि यसपटक उत्कृष्ट लयमा विश्वकपमा प्रवेश गरेको छ। फ्लोरियन विर्ट्स, जमाल मुसियाला, जोशुआ किमिख र काइ हाभर्ट्सजस्ता स्टार खेलाडीहरूले भरिएको टोलीलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। त्यसैले जर्मनी पहिलो खेलमै फराकिलो जित निकाल्दै फराकिलो गोल अन्तरको प्रतीक्षामा छ।

यी दुई टोलीबीच इतिहासमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। अनुभव, स्तर र खेलाडी गुणस्तरका आधारमा जर्मनी निकै अगाडि रहेकाले कुरासाओका लागि यो खेल वास्तवमै अग्निपरीक्षा बन्ने छ। विश्वकपले विगतमा धेरै चमत्कारिक नतिजा देखाएको भए पनि कुरासाओले जर्मनीलाई स्तब्ध पार्ने सम्भावनाबारे कोही पनि आश्वास्त छैनन्।

कुरासाओ कस्तो राष्ट्र हो?


कुरासाओ क्यारिबियन सागरमा अवस्थित एक सुन्दर र सानो टापु राष्ट्र हो। ऐतिहासिक रूपमा नेदरल्याण्ड्स (डच) अधिराज्यको एक हिस्साका रुपमा रहने गरेको यो राष्ट्र भौगोलिक अवस्था, जनसंख्याको हिसाबले मान्ने हो भने अविश्वसनीय लाग्छ। यो राष्ट्र विशेष गरी दक्षिण अमेरिकाको महाद्वीप (भेनेजुएलाको तटीय क्षेत्र) भन्दा केही माथि क्यारिबियन सागरमा अवस्थित छ।

यो राष्ट्र केवल ४४४ वर्ग किलोमिटरमा मात्रै फैलिएको छ। राजधानी विलेमस्टाडमा वास्तुकलाले भरिएको र रंगीचंगी डच वास्तुकलामा पर्यटन लोभ्याउने यो सहर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। वर्षैभरि न्यानो र घाम लाग्ने मौसम हुने यो देशको कुल जनसंख्या केन्द्रीय तथ्याङ्क विभागका अनुसार करिब १ लाख ५८ हजार मात्र रहेको छ।

यो देशको स्थानीय भाषा पापियामेन्टो हो भने आधिकारिक भाषाका रुपमा डच भाषा बोलिन्छ। यहाँ अंग्रेजी र स्पेनिस पनि व्यापक रूपमा बोलिन्छ। यहाँका अधिकांश मानिसहरू (८० प्रतिशतभन्दा बढी) सहरी क्षेत्रमा बसोबास गर्ने गर्छन्।

जनसंख्या र भौगोलिक रुपमा सानो भए पनि फुटबलमा कुरासाओको इतिहास र उपस्थिति निकै लोभलाग्दो छ। यो देश उत्तर तथा मध्य अमेरिका र क्यारिबियन फुटबल संघ (कोनकाफ) अन्तर्गत पर्दछ।

कुरासाओ फिफा वरियतामा ८२ औँ स्थानमा छ। सन् २०१७ मा यो टोली आफ्नो इतिहासकै उत्कृष्ट ६८ औँ स्थानसम्म पुग्न सफल भएको थियो। यति सानो जनसंख्या भएको देशका लागि यो एतिहासिक उपलब्धि हो।

यो टोलीका मुख्य प्रशिक्षक डच डिक एड्भोकाट रहेका छन्। यसअघि प्रसिद्ध खेलाडी प्याट्रिक क्लुइभर्ट र गुस हिडिङ्कजस्ता स्थापित नामहरूले पनि यो टोलीलाई प्रशिक्षण दिइसकेका छन्। यहाँको राष्ट्रिय टोलीले राजधानी विलेमस्टाडमा रहेको एर्गिलियो हाटो स्टेडियममा आफ्ना खेलहरू खेल्छ, जसको दर्शक क्षमता १० हजार रहेको छ। तर कुरासाओका धेरैजसो राष्ट्रिय खेलाडीहरू नेदरल्याण्ड्सको व्यावसायिक लिग वा युरोपका अन्य लिगहरू खेल्ने गर्छन्। जसले गर्दा टोलीको स्तर र व्यावसायिक्ता खारिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…