- कोलम्बियाले विश्वकपको पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्दै समूह ‘के’ मा बलियो सुरुवात गर्यो।
- उज्वेकिस्तानका युवा मिडफिल्डर अब्बोसबेक फायजुल्लायेभले ६०औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।
- खेलको इन्जुरी समयमा जोहान काम्पासले हेड गोल गर्दा कोलम्बियाले अन्तिम ३-१ को जित सुनिश्चित गर्यो।
विश्वकप फुटबल अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा कोलम्बियाका स्टार स्ट्राइकर लुइस डियाज चम्किंदा उज्वेकिस्तान विरुद्ध महत्वपूर्ण ती अंक हासिल गर्न टोली सफल भयो।
पहिलो हाफमा १ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा दुई गोल थप्दै महत्वपूर्ण तीन अंक बटुलेको थियो। खेलको ४०औँ मिनेटमा लुइस डियाजको पासमा डानिएल मुन्योसले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १ गोलको अग्रता बनाएको कोलम्बिया विरुद्ध दोस्रो हाफको ६०औँ मिनेटमा उज्वेकिस्तानका युवा मिडफिल्डर अब्बोसबेक फायजुल्लायेभले उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। उनले विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गरेको टोलीलाई गोल गर्दै एतिहासिक खुसी दिएका थिए।
तर बराबरीको खुसी लामो समय टिक्न सकेन। ६५औँ मिनेटमा गुस्ताभो पुर्ताको पासमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुन २-१ को अग्रता दिलाए। बराबरी गोलको खोजीमा रहेको उज्वेकिस्तानलाई इन्जुरी समयमा थप झट्का लाग्यो। खेलको इन्जुरी समयको अन्तिम एक मिनेट बाँकी रहँदा कार्लोस हेर्नान्डेजको पासमा जोहान काम्पासले आकर्षक हेड गर्दै टिमलाई ३-१ को जित पक्का गरे। अन्तिम समय अग्रता घटाउन उज्वेकिस्तानले गरेको प्रहार क्रसबारमा लाग्न पुगेको थियो।
दक्षिण अमेरिकी टोली कोलम्बियाले जितसहित समूह ‘के’ मा बलियो सुरुआत गरेको छ। हार बेहोरे पनि पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तान संघर्षपूर्ण प्रदर्शन गर्न सफल भयो। विशेषगरी २१ वर्षीय अब्बोसबेक फायजुल्लायेभले गरेको आकर्षक गोल उज्वेकिस्तानका समर्थकका लागि सम्झनलायक क्षण बन्यो।
अब कोलम्बियाले आफ्नो दोस्रो खेलमा कंगोसँग प्रतिस्पर्धा गर्दा उज्बेकिस्तानले समूहको अर्को शक्तिशाली टोली पोर्चुगलसँग भिड्ने छ।
भर्खरै
लोकप्रिय
