- थाङ्गखोला सामुदायिक वन समूहले मिचाहा वनस्पति कम्पोष्ट मलमा परिवर्तित गरी विक्री सुरु गरेको छ।
- कम्पोष्ट मल बिक्रीबाट समूह आर्थिक लाभ लिँदै दैनिक मजदूरीको अवसर समेत सिर्जना गर्दैछ।
- वन कार्यालय र डब्लूडब्लूएफ नेपालले मल उत्पादनका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन्।
चितवन– चितवनको कालिका गाउँपालिका– २का थाङ्गखोला सामुदायिक वन उपभोक्ता समूहले जंगलमा हुने मिचाह प्रजातीका वनस्पति बेचेर आम्दानी गर्न थालेका छन्।
लहरे वनमारा, जलकुम्भी, पातीझारलगायत विभिन्न मिचाहा प्रजातिका वनस्पतिलाई कम्पोष्ट मल बनाएर बिक्री गरी उक्त समूहले आम्दानी गर्न थालेकाे हो।
यी प्रजातीका वनस्पति भएका जंगलमा अन्य वनस्पति उम्रनसमेत पाउँदैनन्। तर पछिल्लो समय यही वनस्पतिलाई उपभोक्ता समूहले आम्दानीको स्रोत बनाउन थालेकाे छ।
उपभोक्ता समूहका अध्यक्ष रामबहादुर कार्कीका अनुसार यसअघि समूहको मुख्य आम्दानी बाँस बिक्री मात्र रहेकोमा अब भने मिचाहा प्रजातिका वनस्पति पनि आम्दानीकाे स्रोत बनेको छ।

बाँस देखाउँदै अध्यक्ष रामबहादुर कार्की
कार्कीले मिचाहा प्राजतीका वनस्पतिलाई कम्पोष्ट मल बनाउने कार्य गरिएको र हाल पनि परिक्षणकै रुपमा रहेको बताए। ‘हामी परिक्षणकै अवस्थामा छौँ’, उनले भने ‘तर हामीले यसबाट उपभोक्ता समूहको आम्दानीको स्रोत बनाउने आशा राखेका छौँ।’
कम्पोष्ट मल नबनाउनुअघि मिचाहा प्रजातीका वनस्पतिलाई काट्ने र सुकेपछि डढाउने गरिन्थ्यो। ‘पहिला हामीले वनलाई असर गर्ने यस्ता मिचाहा प्रजातीका वनस्पतिका झाडी काट्थ्यौँ र सुकेपछि डढाइदिने गर्थ्यौँ। यसपालिदेखि त्यहीँबाट अर्थिक आम्दानी गर्ने सोच बनाएका छौँ’, कार्कीले भने।
उनले यसबाट उपभोक्तहरूले दैनिक ज्यालादारी काम पाएको र प्राकृतिक कम्पोष्ट मल पनि उत्पादन भएको बताए।
मिचाहा प्रजातीका वनस्पतिबाट मल बनाउने कार्यमा अहिले ५८ वर्षीया कान्छीमाया तामाङले रोजगारी पाएकी छन्। उनले दैनिक ८०० रुपैयाँ ज्यालादारीमा काम गर्दै आएकी छन्।
पहिला मिचाहा वनस्पतिबाट मल बन्छ भन्ने थाहा नभएको उनले बताइन्। ‘यहाँ सुरू गरेपछि थाहा पाएँ। आठ घण्टाको समयसम्म काम गरेको ८०० दिनको ज्याला भन्नुभएको छ’, उनले भनिन् ‘तर मैले अहिलेसम्म पैसा लिएको छैन्। एकैपटक आवश्यक पर्दा लिने सोचेकी छु।’

कम्पोष्ट मल समूहका उपभोक्तालाई २५ रुपैयाँ केजी र बाहिरकालाई रु ५० रूपैयाँ केजीमा अहिले बिक्री भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए।
थाङखोला सामुदायिक वनमा एक हजार नौ सय ६७ घरधुरी उपभोक्ता छन्। वनको कुल १९९.८५ हेक्टरमध्ये २८ हेक्टमा मिचाहा वनस्पति फैलिएको छ। त्यसैबाट कम्पोष्ट मल बनाउन थालिएको हो।
कम्पोष्ट मल बनाउनका लागि सुरुमा डिभिजन वन कार्यालय चितवन र विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ नेपाल)ले रु छ लाख ८१ हजार ६०० रूपैयाँ सहयोग गरेको थियो।
उक्त रकमबाट मिचाहा वनस्पति संकलन गर्ने, मल बनाउने र प्याकेजिङ गर्ने साथै टहरो निर्माण गरिएको छ। सुकेको वनस्पति मसिनो गरी काट्न चापकटर, मिनिट्रिलर र आवश्यक औजार पनि खरिद गरिएको छ।

उपभोक्तालाई मिचाहा वनस्पति काट्ने, संकलन गर्ने, मल उत्पादन गर्ने र प्याकेजिङ गर्ने तालिम दिइएको छ। डिभिजन वन कार्यालय चितवनले मिचाहा प्रजाति काट्ने खर्चका लागि चार लाख ८० हजार रुपैयाँ अनुदान दिएको थियो।
थाङखोला सामुदायिक वनका उपभोक्ताले १९ मंसिर २०८२ बाट मिचाहा प्रजातीबाट मल उत्पादन गर्ने कार्यको थालनी गरेका थिए।
चितवनमा केरा खेती गर्ने कतिपय किसानले मल खरिद गर्न थालिसकेका पनि छन्।


भर्खरै
लोकप्रिय
