युद्ध विरामका लागि अमेरिका र इरानको प्रत्यक्ष वार्ता जारी

युद्ध विरामका लागि अमेरिका र इरानको प्रत्यक्ष वार्ता जारी
+
-
देशसञ्चार AI सारांश
  • अमेरिका र इरानले ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमतिपछि स्विट्जरल्यान्डमा गम्भीर वार्ता गरिरहेका छन्।
  • वार्तामा तीन मुख्य विषयहरूमा ध्यान दिइएको छ: होर्मुज जलडमरूमध्य पुनःसञ्चालन, लेबनानमा युद्धविराम कार्यान्वयन, र आणविक सम्झौता।
  • अमेरिका र इरानबीचको प्रारम्भिक सहमतिले इरानको जलडमरूमध्य खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने विषय समेटेको छ।

अमेरिका र इरानबीच स्थायी युद्ध विरामका लागि स्विट्जरल्यान्डमा वार्ता जारी छ। वार्तामा संलग्न एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार युद्ध अन्त्यका लागि अन्तिम सम्झौतामा पुग्ने प्रयासमा दुवै टोलीबिच गम्भीर वार्ता भइरहेको हो।

आइतबार सुरु भएको अमेरिका-इरान वार्ता गत साता ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमतिपछि अघि बढेको हो। आइतबार राति अमेरिकी कूटनीतिज्ञले वार्तामा मुख्य रूपमा तीन विषयमा छलफल भइरहेको बताइएको छ।

मुख्य रुपमा ‘स्ट्रेट अफ हर्मुज’ पुनःसञ्चालनबारे इरानबाट आएका मिश्रित सन्देश स्पष्ट पार्ने, दक्षिणी लेबनानमा युद्धविराम कार्यान्वयन गर्ने तथा आणविक सम्झौताका केही पक्षहरूमा सहमति खोज्नेलगायत रहेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलसँग जारी भिडन्तका क्रममा हिजबुल्लाहलाई रोक्न नसके इरानमाथि पुनःआक्रमण गर्ने चेतावनी दिएका थिए। इरानले भने उक्त चेतावनीलाई अस्वीकार गर्दै आफू युद्धका लागि तयार रहेको जनाएको थियो।

स्विट्जरल्यान्डको लुसर्न शहरमा भइरहेको वार्तामा सहभागी अमेरिकी र इरानी प्रतिनिधिमण्डलले आजको छलफललाई आगामी प्राविधिक वार्ताको आधार बनाउने अमेरिकी अधिकारीले बताएका छन्।

गत साता भएको प्रारम्भिक सहमतिअनुसार ६० दिनभित्र अन्तिम सम्झौता गर्ने, लेबनानसहित सबै मोर्चामा युद्ध रोक्ने तथा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने प्रतिबद्धता गरिएको थियो।

तर त्यसयता दक्षिणी लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबीचको भिडन्त फेरि चर्किएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ नागरिकको मृत्यु भएको छ।

यसै तनावका बीच अमेरिकाले शुक्रबार इजरायल र हेजबुल्लाहबीच नयाँ युद्धविराम घोषणा गरेको थियो। यद्यपि निरन्तर आक्रमण र झडपका कारण इरानले शनिबार हर्मुज बन्द गरेको घोषणा गर्यो । तर जहाजहरूको आवागमन भने जारी रहेको तथ्यांकले देखाएको छ।

वार्ता सुरु हुनुअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले लेबनानमा आफ्ना समर्थित समूहहरूलाई तुरुन्त रोक्नुपर्ने चेतावनी दिएका थिए। अन्यथा इरानमाथि पुनः कडा आक्रमण गरिने उनको भनाइ थियो।

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले त्यसको जवाफ दिँदै भने, ‘यदि उनीहरूको धम्की प्रभावकारी हुन्थ्यो भने आज उनीहरू यस्तो कठिन अवस्थामा हुने थिएनन्। उनीहरू जति बोले पनि कदम चाल्ने हामी नै हौँ।’

आइतबार लेबनानमा हिंसा केही कम भएको बताइए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उत्तरी इजरायलको सुरक्षाका लागि आवश्यक परेसम्म इजरायली सेना दक्षिणी लेबनानमा रहने बताएका छन्।

हिजबुल्लाहका नेता नइम कासेमले भने दक्षिणी लेबनानमा इजरायली सैन्य उपस्थितिलाई अस्वीकार गर्दै आफ्नो समूहले आत्मरक्षा गर्ने बताएका छन्।

स्विट्जरल्यान्डको ब्युर्गेनस्टकमा वार्ता सुरु हुनुअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति ट्रम्पले वार्ताकारहरूलाई ‘नयाँ अध्याय सुरु गर्न’ निर्देशन दिएको बताएका थिए।

उनले इरानले क्षेत्रीय अस्थिरताको स्रोत बन्ने नीति र दीर्घकालीन आणविक हतियारको महत्वाकांक्षा त्यागेमा अमेरिका इरानसँगको सम्बन्धमा आधारभूत परिवर्तन गर्न तयार रहेको पनि बताए। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ।

वार्तामा अमेरिकी पक्षबाट जेडी भान्ससँगै जारेड कुशनर र विशेष दूत स्टिभ विटकफ सहभागी छन् भने इरानी टोलीमा विदेशमन्त्री अब्बास अराघची पनि रहेका छन्।

स्विट्जरल्यान्डमा पाकिस्तानका प्रधानमन्त्री तथा सेनाप्रमुख र कतारका प्रधानमन्त्री पनि उपस्थित छन्। पाकिस्तानले युद्धभर मध्यस्थकर्ताको भूमिका खेलेको छ भने कतारले पनि वार्तालाई सहजीकरण गर्दै आएको छ।

यसअघि भएको प्रारम्भिक सम्झौताअनुसार इरानले विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने हर्मुज खोल्ने सहमति जनाएको थियो। अमेरिका पनि इरानी बन्दरगाहतर्फ जाने जहाजमाथिको सैन्य नाकाबन्दी हटाउन सहमत भएको थियो।

सम्झौतामा इरानको पुनर्निर्माणका लागि ३०० अर्ब डलरको योजना तथा अमेरिकाद्वारा सबै प्रकारका प्रतिबन्ध हटाउने विषय पनि समावेश गरिएको छ।

तर इरानको आणविक कार्यक्रमसम्बन्धी अन्तिम सहमति भने अझै हुन बाँकी छ। ट्रम्पको पहिलो कार्यकालमा अमेरिका अघिल्लो आणविक सम्झौताबाट बाहिरिएको थियो र इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाइएको थियो।

समुद्री निगरानी वेबसाइटको तथ्यांकअनुसार इरानले जलडमरूमध्य बन्द गरेको दाबी गरे पनि केही जहाजहरू अझै त्यस मार्ग हुँदै आवतजावत गरिरहेका छन्। यद्यपि केही जहाजहरूले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेका हुनसक्ने भएकाले सम्पूर्ण गतिविधि तथ्यांकमा नदेखिएको हुन सक्छ।

लेबनानमा मार्च २ यता ४ हजार ५७ जनाको मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली अधिकारीहरूका अनुसार लेबनानमा ३४ इजरायली सैनिक तथा उत्तरी इजरायलमा चार सर्वसाधारणको पनि मृत्यु भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…