- थारु महिलाहरूले बनाएको ढकिया बजेट बोक्न प्रयोग गरिएर सांस्कृतिक पहिचान र स्थानीय उत्पादनको प्रवद्र्धन गरियो।
- गढवा, राप्ती र राजपुर गाउँपालिकाहरूले कृषि, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरे।
- संघीय र प्रदेश सरकारको अनुदानसहित आन्तरिक राजस्वलाई आधार मानी बजेट सार्वजनिक गरिएको छ।
दाङ – थारु समुदायमा ढकिया हातले बुनिन्छ। स्थानीय कच्चा सामाग्रीको प्रयोग गरेर सिप भएका थारु महिलाहरुले ढकियालाई आकार दिने गर्दछन्। यो ढकियालाई स्थानीय सरकारको बजेट बोक्ने साधन बनाइएको छ।
बजारमा बनेका झोला त्यागेर ढकियामा बजेट बोकिएको छ। राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी ढकियामा बजेट बोकेर सभा सम्म पुगेकी हुन। यस वर्षको बजेट प्रस्तुतिको विशेष आकर्षण भने थारु समुदायको सांस्कृतिक पहिचान र स्थानीय उत्पादनको प्रवद्र्धन रह्यो।

बजेट पुस्तिका बोक्नका लागि सामान्य झोलाको सट्टा थारु समुदायमा प्रचलित परम्परागत ढकियाको प्रयोग गरिएको थियो। यसले प्लास्टिक झोला वा औपचारिक ब्रीफकेसको सट्टा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै सांस्कृतिक पहिचान र घरेलु उद्यमशीलतालाई समेत प्रवद्र्धन गरेको देखिएको छ।
यहाँका गढवा, राप्ती र राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्।
गढवा गाउँपालिकाले ८२ करोड ६४ हजार रुपैयाँ, राप्ती गाउँपालिकाले ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ र राजपुर गाउँपालिकाले ६१ करोड १ लाख ९० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

तीनै स्थानीय तहले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र सामाजिक विकासलाई प्रमुख प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेका हुन्। संघीय तथा प्रदेश सरकारको अनुदान, आन्तरिक राजस्व र अन्य स्रोतलाई आधार बनाएर बजेट निर्माण गरिएको छ।

गढवा गाउँपालिकाले कृषि भण्डारण, शीत भण्डार, पशुपालन, सिँचाइ र युवा उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। राप्ती गाउँपालिकाले शिक्षा, स्वास्थ्य, डिजिटल सेवा, रोजगारी सिर्जना, सुशासन र वातावरण संरक्षणलाई केन्द्रमा राखेको छ। त्यसैगरी राजपुर गाउँपालिकाले कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, पूर्वाधार विकास, सामाजिक समावेशीकरण र स्थानीय रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिएको छ।

भर्खरै
लोकप्रिय
