- सबिना काफ्लेले तस्बिरको आलोचनाका बीच सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै चरित्र हत्या गरिएको बताएकी छन्।
- उनले झोला सम्बन्धी घटनामा गलत सूचना नफैलाउन सञ्चारमाध्यमलाई सत्यता बुझ्न आग्रह गरेकी छन्।
- महिलाको चरित्र हत्या गर्ने नियोजित प्रयास भएको उनले दाबी गर्दै सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आग्रह गरिन्।
काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिरबारे स्पष्टीकरण दिँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भई चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि उनले स्पष्टीकरण दिएकी हुन्।
बुधबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले तस्बिरमा सुरक्षाकर्मीले बोकेको झोला उनैको भएको बताइन्। सामाजिक सञ्जालहरूमा उक्त झोला काफ्लेको भनी आलोचना भएको थियो। उनले समाचार लेख्नुअघि घटनाको सत्यता बुझ्न सञ्चारमाध्यमहरूलाई आग्रह समेत गरेकी छन्।
रास्वपाको महाधिवेशन बीचमै छोडेर प्रधानमन्त्री शाह, पत्नी काफ्ले र छोरी बुद्ध एअरको उडानबाट काठमाडौँ फर्किएका थिए। सोही क्रममा विमानस्थलमा खिचिएको तस्बिरमा प्रधानमन्त्री शाहले छोरी बोकेका छन् भने श्रीमती काफ्लेको हातमा मोबाइल देखिन्छ।
‘जुन सुरक्षाकर्मीले त्यो ब्याग बोक्नुभएको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो,’ उनले लेखेकी छन्, ‘तर यहाँ अनेक शंका र अनेक अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ।’
उनले महिलाको चरित्र हत्या गरेर चर्चामा आउने नियोजित मिडियाबाट यस किसिमको समाचार फैलाइएको आरोप समेत लगाएकी छन्।
भर्खरै
लोकप्रिय
