- मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिनामा ७ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको तथ्यांक छ।
- चालु तर्फ ४३.०२ प्रतिशत र पुँजीगत तर्फ २०.९६ प्रतिशत गरी कुल बजेटको २८.३० प्रतिशत खर्च भएको हो।
- अर्थमन्त्रालयले सबैभन्दा धेरै ५३.७१ प्रतिशत बजेट खर्च गरेको छ तथा खेलकुद मन्त्रालयले ९.९३ प्रतिशत मात्र खर्च गरेको छ।
जनकपुरधाम – मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना सुरु भएयता ७ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ। आर्थिक वर्ष २०८२।८३ को जेष्ठ मसान्तसम्म २१.२४ प्रतिशत बजेट खर्च भएकोमा असार १८ गते बिहान ११ बजेर २५ मिनेटसम्मको तथ्यांक अनुसार २८.३० प्रतिशत अर्थात १३ अर्ब २९ करोड ६६ लाख ६८ हजार १६४ रुपैयाँ खर्च भएको छ।
प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेस प्रदेशका सूचना अधिकारी निरेन्द्रलाल कर्णका अनुसार चालु तर्फ ४३.०२ प्रतिशत अर्थात ६ अर्ब ७२ करोड ८८ लाख ३ हजार ९९९ रुपैयाँ र पुँजीगत तर्फ २०.९६ प्रतिशत अर्थात ६ अर्ब ५६ करोड ७८ लाख ६४ हजार १६५ रुपैयाँ खर्च भएको हो।
चालु आवको जेष्ठ मसान्तसम्ममा चालु तर्फ ३६.२२ प्रतिशत र पुँजीगत तर्फ १३.७६ प्रतिशत गरी कुल २१.२४ प्रतिशत बजेट खर्च भएको थियो।
प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार अर्थमन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ भने खेलकुद तथा समाज कल्याण मन्त्रालयले सबैभन्दा कम बजेट खर्च गरेको छ। अर्थले आजसम्मको तथ्यांक अनुसार ५३.७१ प्रतिशत खर्च गरेको छ भने खेलकुद तथा समाज कल्याण मन्त्रालयले ९.९३ प्रतिशत खर्च गरेको हो।
यस्तै, वन तथा वातावरण मन्त्रालयले ४६.३८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयले ३८.९७ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६.२९ प्रतिशत बजेट खर्च गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३१.२१ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल विनियोजित बजेटको २८.७९ प्रतिशत, गृह सञ्चार तथा कानुन मन्त्रालयले २८.५६ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको तथ्यांक छ।
यसैगरी, शिक्षा तथा संस्कृति मन्त्रालयले २६.४७ प्रतिशत, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयले १९.६० प्रतिशत बजेट खर्च गरेको छ भने उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले ११.०२ प्रतिशत बजेट खर्च गरेको हो।
सूचना अधिकारी कर्णका अनुसार असार २५ गतेसम्म प्रदेश सरकारको विभिन्न योजनाहरुको भुक्तानी हुन्छ।
भर्खरै
लोकप्रिय
