- काठमाडौंको माइतीघर मण्डलामा दृष्टिविहीनहरूको दस दिनदेखि प्रदर्शन चलिरहेको र सरकार अनिच्छुक रहेको छ।
- गीता तामाङ र भिमबहादुर बोहराले फुटपाथमा व्यापार गर्न नपाएर प्रदर्शन गरिरहेका छन्।
- उनीहरू प्रमुऽख दलका कार्यालय पुगेर आफ्नो माग सम्बोधन गर्न आग्रह गरिरहेका छन्।
काठमाडौँ– माइतीघर मण्डलामा भिमबहादुर बोहरा बोलिरहेको समयमा अर्को छेउमा छाता ओढी बसेकी गीता तामाङले केही कुरा थपिन् र भनिन्– ‘मलाई त प्रहरीले के-के भनेको हो।’
‘एकैछिनको कुरा गर्छौँ तपाईंसँग हस्’, हामीले भन्यौँ। किनकी हामीले बोहरासँग कुरा गरिरहेका थियौँ।
‘उहाँहरू पत्रकार हो’, बोहराले हाम्रोबारे जनाउ दिए।
‘ए! म त तपाईं (बोहरा) बोलेको लागेर बोलेको नि’, एकछिन पछि बोल्ने भन्दै उनी चुप रहिन्।
काठमाडौँको माइतीघरमण्डलामा बोहरा-तामाङलगायत दृष्टिविहीनको १० दिनयताको दैनिकी यस्तै कुरा साट्दैमा बितेको छ। साथीभाइसँग, सञ्चारकर्मीसँग आफ्नो बेदना फुकाउँदैमा समय कटिरहेको छ।
उनीहरूलाई यसरी माइतीघरमण्डलामा समय कटाउन मन होइन। बाध्यता हो।
जीवन चलाउने सहारा बनेको फुटपाथबाट खेदिएपछि अहिले उनीहरू माइतीघर मण्डलामा प्रदर्शन गर्दै आइरहेका छन्। प्रदर्शन गर्न थालेको बुधबार १० दिन पुग्यो। तर सरकारले उनीहरूसँग सम्वाद गर्नसमेत इच्छा देखाएको छैन।
सरकार अनइच्छुक देखिएपछि बुधबार उनीहरूले प्रमुख पार्टीका कार्यालयमा पुगेर आफ्ना माग सम्बोधन गरिदिन आग्रह गरेका छन्।
सत्तारुढ दल रास्वपा, कांग्रेस, एमाले र नेकपाको पार्टी कार्यालयमा पुगेर आफ्ना माग सुनुवाइ नभएको र सुनुवाइ गरिदिन माग गरे।
तामाङ कांग्रेस पार्टी कार्यालय पुगेर दिउँसो साढे १ बजे माइतीघर मण्डला फर्किएकी थिइन्।
चर्को घाममा छाता ओढेर धर्ना बसेकी उनलाई हामीले सोध्यौँ– तपाईंलाई प्रहरीले के-के गरे?
केही समयअघि एक दिन उनी सडक पेटीमा बसेर गीत गाउँदै थिइन्।
प्रहरी आए। यहाँ गाउँन पाइँदैन, उठ्नुस् भन्दै उर्दी गरे। प्रहरीले त्यतिमात्र भनेन। ‘तपाईंहरूले गर्दा हाम्रो देशको इज्जत गयो’ पनि भने।
प्रहरीको यही बोलीले उनको मन बिझाएको रहेछ। त्यसबेला कस्तो भयो भन्ने उनी अहिले शब्दमा व्याख्या गर्न सक्दिनन्। यति प्रश्न भने गर्छिन्– ‘हामीले के गरेर यो देशको इज्जत गयो?’
उनी एकल नारी हुन्। श्रीमान्को एक वर्षअघि मृत्यु भयो। दुई छोरी छन्। ठूली छोरी कक्षा ८ र सानी कक्षा २ मा पढ्छन्।
घरको आर्थिक जिम्मेवारी तामाङको काँधमा छ।
तेह्रथुमको आठराई गाउँपालिका ५ स्थायी घर भएकी उनी विस २०६४ सालदेखि काठमाडौँमा बस्दै आएकी छन्।
काठमाडौँमा उनले ०७८ सालदेखि करिब डेढ वर्ष फुटपाथमा कस्मेटिक सामान बेचिन्। ०७९ सालमा काठमाडौँको मेयरमा वालेन्द्र शाहले जिते। त्यसपछि उनको फुटपाथको व्यापार खोसियो।
श्रीमान् दृष्टिविहीन थिएनन्। तर उनको मजदुरी गर्दा दुर्घटनामा परेपछि मृत्यु भयो। अनि तामाङको सबै खोसियो।
फेरि सडकमा आउनुपर्यो।
सडकमा उनले गीत गाएर दैनिकी धानेकी थिइन्। तर नगरप्रहरी, नेपाल प्रहरीले धरपकड गर्न थालेपछि उनको गाउँने पेशा पनि बन्धकमा परेको छ।
उनी अन्य साथीहरूजस्तो आजसम्म पक्राउ त परेकी छैनन्। धम्कि भने कयौँपटक खेप्नु परेको छ। ‘२०८० सालदेखि गीत गाउँन थालेको पछिल्लो समय नगरप्रहरी, प्रहरीले गाउन पनि दिँदैनन्’, उनले दुखेसो पोखिन् ‘धम्की दिन्छन्। हाम्रो सामान खोसिदिन्छन्।’
उनको हातमा अन्य सिप नभएको पनि होइन।
ब्याचलर पास गरेकी छन्। बेसिक कम्प्युटर सिप सिकेकी छन्। दृष्टिविहीनका लागि साबुन, धुप बनाउने सिप उनमा छ। तर रोजगार कतै पाउन सकेकी छैनन्।
‘हामीलाई रोजगारी पनि नदिने। गरिरहेको पेशबाट पनि खेद्ने सरकारले गर्यो’, उनले भनिन् ‘हामीलाई सरकारले अन्याय गर्यो।’
उनको अपेक्षा सिपअनुसारको रोजगार गर्ने रहेको छ।
सुर्खेत भेरीगंगा नगरपालिका १० का भिमबहादुर बोहरा काठमाडौँमा बस्न थालेको झण्ड १५ वर्ष भयो। ३८ वर्षीय उनको रोजिरोटी जोहो गर्ने आधार सडक थियो।
काठमाडौँ आएदेखि उनले सुनधारा, न्यूरोडलगायत क्षेत्रमा सडक छेउमा बसेर कस्मेटिक सामान बेच्थे। महानगरमा वालेन्द्र शाह (हालका प्रधानमन्त्री) आएपछि त्यो बेच्न दिइएन।
त्यसपछि उनले गीत गाउन थाले। त्यो पनि पछिल्लो समय रोकिदिएपछि अब दैनिकी कसरी चलाउने भन्ने उनलाई चिन्ता थपिएको छ। ‘हाम्रो दैनिकी गाह्रो भएको त धेरै भइसक्यो। काम नै गर्न दिँदैन’, उनले भने ‘अब कसरी जीवन चलाउने भन्ने पीर थपिएको छ।’
सडकलाई जीवन चलाउने आधार बनाएका उनलाई नगरप्रहरीले ३६ पटकसम्म पक्राउ गरेको छ, सडक व्यापार गर्दा। ‘हामीलाई पक्राउ गरेर नगरप्रहरीले दिनभर थुन्छ। रात पर्यो भने छाड्छ’, उनले भने।
सरकारले व्यवस्थापन नगरी सडकबाट खेदेकोमा उनी चिन्ता व्यक्त गर्छन्। ‘अब हामी के काम गरेर बाँच्ने?’ उनको सरकारलाई प्रश्न छ।
सडक पेढीमा व्यापार गर्न नदिने हो भने सिप हुनेलाई रोजगारी, नहुनेलाई महिनामा २०-२५ हजार जीवन निर्वाह भत्ता दिनुपर्ने उनको माग छ। यसरी व्यवस्थापन गर्न नसके पहिलेजसरी काम गर्न दिनुपर्ने उनले बताए।
सरकारले दृष्टिविहीनका लागि महिनामा २ हजार १ सय रुपैयाँ भत्ता दिने गरेको छ। त्यो रकम निकै नै कम भएको उनको भनाइ छ। ‘हामीलाई निर्वाह भत्ता पनि कम दिने। काम गर्दा अमानवीय व्यवहार गर्ने गरिएको छ’, उनले भने ‘त्यसैले हामीलाई स्वतन्त्र तरिकाले काम गरेर खान दिनुपर्छ।’
रोजगारी नगरेपछि घरबाटसमेत अपेहेलित हुनुपर्ने भन्दै उनले सरकारलाई रोजगारी दिन माग गरे।
उनको परिवारमा ६ जनाको रहेको छ। उक्त परिवारको जिम्मेवारी आफ्नै काँधमा रहेको बोहराले बताए।
बोहरा र तामाङ प्रतिनिधि हुन्। काठमाडौँ लगभग दुई हजार भन्दा बढीको संख्यामा दृष्टिविहीनहरू रहेको अनुमान गरिन्छ।
उक्त संख्यामध्ये आधाजति सडकमा आश्रित संख्या रहेको अनुमान गर्छिन्, दृष्टिविहीनहरूका लागि काम गर्दै आइरहेकी लक्ष्मी चन्द।
सडकमा आश्रितहरू अहिले सरकारले उठिबास बनाएपछि आन्दोलन भएका छन्।
माइतीघरमण्डलामा कि पहिलेजसरी निर्वाधरुपमा रोजगारी गर्न दिनुपर्ने कि सरकारले व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।
हाल दिनमा मात्र धर्ना दिइरहेका उनीहरूले आगामी दिनमा सरकारले आफ्नो माग पूरा नगरे रात दिन धर्ना दिने योजनामा रहेका छन्।
भर्खरै
लोकप्रिय
