- स्नायुरोग विशेषज्ञ डा. वसन्त पन्तले नेसनल कलेजमा मन र दिमागको सम्बन्धबारे विद्यार्थीहरूसँग विचार साझा गरे।
- डा. पन्तले ध्यानले दिमागका नशाहरूबीच अन्तर्सम्बन्ध बढाएर खुसी रहन सहयोग पुग्ने बारे छलफल गरेका थिए।
- नेसनल कलेजका सहप्राचार्य छत्र कार्कीले डा. पन्तलाई मायाको चिनो र सम्मान अर्पण गरेका थिए।
काठमाडौँ- स्नायुरोग विशेषज्ञ डा. वसन्त पन्तले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नेसनल कलेजमा शुक्रबार मन र दिमागको सम्बन्धबारे विद्यार्थीहरूसँग चर्चा गरेका छन्।
पछिल्लो समयमा नेपालमै मनोवैज्ञानिक डिस्अर्डरको शल्यक्रिया समेत गरिरहेका डा. पन्तले दिमागका स्नायुहरू अन्तर्सम्बन्धित हुने उल्लेख गर्दै खुसी हुने क्षमतासँग यसको सम्बन्धबारे चर्चा गरेका थिए।
नेपालमा केहीअघि डा. पन्तले डिप्रेसनको शल्यक्रिया गरेका थिए भने उनले ओसिडीको शल्यक्रियासमेत गरेका छन्। नेपाल मनोवैज्ञानिक डिस्अर्डरको उपचारमा विश्वमै केन्द्र हुनसक्ने उल्लेख गर्दै डा. पन्तले यसका लागि आफूले पछिल्लो पुस्ताका चिकित्सकहरूलाई तयार गराएको जानकारी गराएका थिए।
डा. पन्तले ध्यानले दिमागका नशाहरूबीच अन्तर्सम्बन्ध बढाउने र यसलाई मानिसलाई खुसी रहन सहयोग गर्ने पनि विद्यार्थीमाझ साझा गरेका थिए।
स्नायुरोग विशेषज्ञ डा. पन्तले विद्यार्थीमाझ न्युरोप्लास्टिसिटी तथा सकारात्मक सोचका फाइदाहरूबारे पनि जानकारी गराएका थिए। डा. पन्त माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालका प्रमुख हुन्।
कार्यक्रममा नेसनल कलेजका सहप्राचार्य छत्र कार्कीले डा. पन्तलाई कलेजका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए भने लेखा निर्देशक नवीन झाले उनलाई खादा पहिर्याएर सम्मान गरेका थिए।
नेसनल कलेजकी मनोविज्ञान प्रथम वर्षकी विद्यार्थी रिदिमा पोखरेलले कार्यक्रम सञ्चालन गर्दै डा. पन्तको व्यक्तित्वबारे प्रकाश पारेकी थिइन्। कार्यक्रमको समापन गर्दै नेसनल कलेजकै विद्यार्थी आर्य निरौलाले डा. पन्तको गहन र विचारोत्तजक परिचर्चाले विद्यार्थीहरूलाई महत्त्वपूर्ण ज्ञान प्राप्त भएको भन्दै उनलाई धन्यवाद दिएका थिए।


भर्खरै
लोकप्रिय
