- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन्, विशेषतः खाडी क्षेत्रमा जहाजहरूलाई निशाना बनाएपछि।
- ट्रम्पले इरानमा शासन परिवर्तन भएको दाबी गर्दै वर्तमान नेतृत्वलाई ‘पागल’ भन्दै आलोचना गरे।
- उनले भने कि आफ्नो नयाँ आणविक सम्झौता सन् २०१५ को ओबामा प्रशासनको सम्झौताभन्दा अझ प्रभावकारी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति फेरि कडा सैन्य आक्रमण गर्न सक्ने बताएका छन्। तेहरानले आफ्ना खाडी क्षेत्रका सहयोगीहरूसँग मिलेर ‘स्ट्रेट अफ हर्मुज’मा जहाजहरूलाई निशाना बनाएपछि अमेरिका पुनः आक्रमणको तयारी गरेको हो।
टर्कीको अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले हिजो राति उनीहरूलाई निकै कडा प्रहार गर्यौंभ। सम्भवतः आज राति पनि फेरि कडा प्रहार गर्नेछौं। म उनीहरूलाई सानो चेतावनी दिन चाहन्छु। आज राति हामी कठोर आक्रमण गर्नेछौं, तर अन्ततः अवस्था कसरी अघि बढ्छ, त्यो हेर्न बाँकी छ।’
ट्रम्पले आफूले इरानमा शासन परिवर्तन (रेजिम चेन्ज) गराएको दाबी दोहोर्याएका थिए। यसअघि उनले तेहरानको नयाँ नेतृत्व पहिलेभन्दा व्यवहारिक रहेको बताएका थिए, तर अहिले फेरि उनीहरूलाई ‘पागल’ भन्दै आलोचना गरे।
त्यसक्रममा उनले इरानलाई संकेत गर्दै भ्रमपूर्ण रूपमा ‘जापानको इस्लामिक गणतन्त्र’ ले युद्धका क्रममा अमेरिकी विमानवाहक युद्धपोततर्फ १११ वटा मिसाइल प्रहार गरेको, तर ती सबैलाई अमेरिकाले खसालेको दाबीसमेत गरे।
ट्रम्पले आफूले इरानसँग गरेको नयाँ सम्झौता सन् २०१५ मा तत्कालीन राष्ट्रपति बराक ओबामाको प्रशासनले गरेको आणविक सम्झौताभन्दा धेरै प्रभावकारी भएको पनि बताए।
उनले भने, ‘हाम्रो सम्झौताले इरानलाई आणविक हतियार बनाउनबाट पूर्ण रूपमा रोक्छ। ओबामाको सम्झौताले भने आणविक हतियारतर्फ जाने बाटो खोलेको थियो।’
ट्रम्पले केही घण्टाअघि मात्रै उनले अमेरिका-इरानबीचको युद्धविराम समाप्त भइसकेको बताएका थिए। मंगलबार राति अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो।
त्यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ। अमेरिकाले गरेको पछिल्लो आक्रमण हर्मुजमा तीनवटा तेल ट्यांकरमाथि भएको आक्रमणपछि भएको हो। यद्यपि, इरानले ती घटनाको प्रत्यक्ष जिम्मेवारी भने स्वीकार गरेको छैन।
भर्खरै
लोकप्रिय
