काठमाडौँ – यस वर्षको मिस नेपाल प्रतियोगिताका फाइनलिस्टहरूले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भियतनामी फेसन डिजाइनर नाह मोटद्वारा डिजाइन गरिएका विशेष पोशाकमा र्याम्पमा उत्रिने भएका छन्।
मिस कोस्मो, मिस युनिभर्स, मिस भियतनामलगायत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि पोशाक डिजाइन गर्दै आएका नाह मोटले पहिलो पटक मिस नेपालसँग सहकार्य गरेका हुन्।
देशसञ्चारसँगको विशेष कुराकानीमा डिजाइनर नाह मोटले नेपालप्रति आफू निकै प्रभावित भएको बताए। उनले नेपालको प्राकृतिक सौन्दर्य मात्र नभई यहाँको समृद्ध संस्कृति, परम्परा र नेपालीहरूको आत्मीय आतिथ्यले आफूलाई विशेष रूपमा छोएको उल्लेख गरे।

‘नेपाल साँच्चै सुन्दर देश रहेछ। यहाँको संस्कृति, मानिसहरूको आत्मीयता र आतिथ्यले हामीलाई निकै प्रभावित बनायो। यहाँ आउनु र मिस नेपालसँग सहकार्य गर्नु हाम्रो लागि विशेष अनुभव हो,’ उनले भने।
उनका अनुसार मिस नेपालका फाइनलिस्टका लागि पोशाक डिजाइन गर्ने अवसरलाई उनले निकै उत्साहका साथ स्वीकार गरेका छन्। नेपाली सौन्दर्य, आत्मविश्वास र आधुनिक फेसनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सकिने गरी डिजाइन तयार गरिएको उनको भनाइ छ।

नाह मोटले नेपाली संस्कृति र आधुनिक फेसनबीच सन्तुलन कायम गर्ने प्रयास गरिएको बताउँदै प्रत्येक डिजाइनले प्रतियोगीहरूको व्यक्तित्व झल्काउने विश्वास व्यक्त गरे। मिस नेपाल २०२६ का फाइनलिस्टहरू वास्तवमै निकै उत्सुक र क्षमतावान् रहेको उनले उल्लेख गरे।
मोटको मिस नेपालसँगको यो सहकार्यले नेपाली सौन्दर्य प्रतियोगितालाई अन्तर्राष्ट्रिय फेसन जगतसँग थप नजिक ल्याउने अपेक्षा गरिएको छ।
भर्खरै
लोकप्रिय
