- अमेरिकाले इरानको रणनीतिक महत्वको बन्दरगाह क्षेत्रमा गरेको हवाई आक्रमणले पुलहरू लक्ष्यविहीन पार्दै निगरानी टावर ढालेको छ।
- ट्रम्पले इरानी पूर्वाधारलाई आक्रमण गर्दै त्यसको नियन्त्रण कमजोर पार्न दवाब बढाउने चेतावनी दिएका छन्।
- इरानी क्षेप्यास्त्र आक्रमणले कतारलाई प्रभावित पार्दै सुरक्षा उपायहरूको लागि सर्वसाधारणलाई सचेत गराएको छ।
अमेरिकाले शुक्रबार बिहान इरानमाथिको हवाई आक्रमण थप विस्तार गर्दै रणनीतिक महत्वको बन्दरगाह क्षेत्रका थप पुलहरूमा आक्रमण गरेको छ। साथै अमेरिकाले एउटा निगरानी टावर पनि ढालेको छ। इरानले भने अमेरिकाले सिभिलियन क्षेत्रलाई निसाना बनाएको भन्दै कडा जवाफ दिने बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाब बढाउन पूर्वाधारलाई नै निशाना बनाउने चेतावनी दिएपछि यस्तो आक्रमण भएको हो। यसको उद्देश्य तेहरानलाई ‘स्ट्रेट अफ हर्मुज’ आफ्नो नियन्त्रण खुकुलो बनाउन बाध्य पार्नु रहेको बताइएको छ।
यसैबीच, इरानले पनि मध्यपूर्वका अमेरिकाका सहयोगी मुलुकहरू, विशेषगरी युद्ध अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको कतारमाथि नयाँ क्षेप्यास्त्र आक्रमण गरेको छ।
गत महिना भएको अस्थायी युद्धविराम भंग भइसकेको छ। त्यसयता अमेरिका र इरानबीच हर्मुजको नियन्त्रणलाई लिएर लगातार आक्रमण र प्रत्याक्रमण चलिरहेको छ। इरानी अधिकारीहरूका अनुसार अमेरिकी आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। शुक्रबारका नयाँ आक्रमणमा पनि थप मानवीय क्षति भएको जनाइएको छ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि तेहरानले हर्मुज आवतजावत प्रभावकारी रूपमा बन्द गरेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएको थियो र वार्तामा इरानको प्रभाव बढेको थियो।
अमेरिकी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले युद्ध आफूहरूको पक्षमा अघि बढिरहेको दाबी गरेका छन्। उनले भने ‘हामी इरानमा पनि ठूलो सफलता हासिल गरिरहेका छौँ, र त्यसको परिणाम तपाईंहरूले धेरै चाँडै देख्नुहुने छ।’
इरानमा पुल र बन्दरगाहको टावर निशानामा
अमेरिकी हवाई आक्रमणले शुक्रबार बिहान इरानको दक्षिणी होर्मोजगान प्रान्तका पुलहरूमा प्रहार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ। आक्रमण हर्मुज किनारमा रहेको बन्दर खामिर सहरमा केन्द्रित थियो।
सडक र रेलमार्गका पुलहरूमा गरिएको आक्रमणको उद्देश्य इरानको मुख्य बन्दरगाह बन्दर अब्बासलाई तेहरानतर्फ जाने मुख्य स्थलमार्गबाट अलग पार्नु रहेको देखिएको छ।
अन्य वैकल्पिक मार्ग खुला रहे पनि अमेरिकी आक्रमण अझ विस्तार भएमा सैन्य सामग्रीको ढुवानी मात्र होइन, इरानका करिब ९ करोड नागरिकका लागि आवश्यक वस्तुको आपूर्ति पनि प्रभावित हुन सक्ने आकलन गरिएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार शुक्रबार बिहानसम्म चलेको आक्रमणमा दर्जनौँ लक्ष्यमा प्रहार गरिएको थियो। यो लगातार छैटौँ रातको अमेरिकी हवाई अभियान थियो।
यसैक्रममा ओमानको खाडीस्थित इरानको चाबहार बन्दरगाहमा रहेको एउटा निगरानी टावर पनि ढलेको इरानी सरकारी समाचार संस्था आईआरएनए ले जनाएको छ। यो बन्दरगाह भूपरिवेष्ठित अफगानिस्तानका लागि महत्वपूर्ण व्यापारिक नाका मानिन्छ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले उक्त निगरानी टावर ढलेको तस्बिर सार्वजनिक गर्दै हर्मुजमा अमेरिकाको नियन्त्रण स्थापित गर्ने प्रयासको हिस्सा भएको बताएका छन्। भारतको सहयोगमा सञ्चालन हुँदै आएको चाबहार बन्दरगाह यसअघि पनि अमेरिकी आक्रमणको निशानामा पर्दै आएको छ।
इरानी सरकारी सञ्चारमाध्यमले उक्त बन्दरगाहमा तेस्रो पटक आक्रमण भएको स्वीकार गरे पनि सुरुमा टावर ढलेको पुष्टि गरेका थिएनन्।
इरानका अनुसार उक्त टावर बन्दरगाहमा हुने व्यावसायिक जहाजहरूको आवागमन निगरानीका लागि प्रयोग गरिन्थ्यो। तर इरानको अर्धसैनिक रिभोलुसनरी गार्डले पनि देशभरका विभिन्न बन्दरगाहमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ।
इरानको प्रत्याक्रमण: कतार फेरि निशानामा
शुक्रबार इरानले प्रहार गरेका क्षेप्यास्त्रहरूका कारण कतारले दुई पटक सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। आकाशमा विस्फोटको आवाज सुनिएको थियो भने हवाई प्रतिरक्षा प्रणालीले धेरै क्षेप्यास्त्र अवरोध गरेको थियो। कतारको गृह मन्त्रालयका अनुसार खसेका भग्नावशेष लागेर एक बालक घाइते भएका छन्।
कतार र पाकिस्तानले युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयास गरिरहेका छन्। तर हर्मुज माथिको इरानको नियन्त्रणका विषयमा वार्ता ठप्प बनेको छ।
इरानले शुक्रबार बिहान बहराइन र कुवेतलाई पनि निशाना बनाएको थियो। जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका तीन वटा क्षेप्यास्त्र आकाशमै खसालेको जनाएको छ। इराकको स्वायत्त कुर्द क्षेत्रका इर्बिल र सुलैमानीयाह सहरमा पनि शुक्रबार बिहान विस्फोटको आवाज सुनिएको थियो। हवाई प्रतिरक्षा प्रणालीले आउने आक्रमण रोक्ने प्रयास गरेको जनाइएको छ। क्षतिको विवरण भने तत्काल सार्वजनिक भएको छैन।
पछिल्ला दिनहरूमा राष्ट्रपति ट्रम्पले इरानका विद्युत् केन्द्र, पुल र अन्य पूर्वाधारमा आक्रमण गरेर तेहरानलाई होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रण कमजोर बनाउन बाध्य पार्ने चेतावनी दोहोर्यारएका छन्।
विश्वभर कारोबार हुने करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गरेको छ। अमेरिकाले इरानी बन्दरगाहमाथि पुनः नौसैनिक नाकाबन्दी पनि लगाएको छ, जसले इरानी कच्चा तेलको निर्यात रोक्ने लक्ष्य राखेको छ।
समुद्री तथ्यांक कम्पनी ल्वोइड्स लिस्ट इन्टेलिजेन्स का अनुसार महिनाको सुरुमै होर्मुज हुँदै हुने साप्ताहिक कार्गो ढुवानी करिब एक चौथाइले घटेको थियो। त्यसयता भएका आक्रमण–प्रत्याक्रमणले अवस्था अझ जटिल बनेको छ।
जोखिम बढेपछि केही तेल बोकेका जहाजहरूले आफ्नो स्थान देखाउने प्रणाली बन्द गरेर यात्रा गरिरहेका छन् भने धेरै जहाज सुरक्षित स्थानमै रोकिएका छन्। पाइपलाइनमार्फत केही ऊर्जा आपूर्ति भइरहेको भए पनि त्यसले समुद्री ढुवानीमा आएको गिरावट पूर्ति गर्न सकेको छैन।
भर्खरै
लोकप्रिय
