अ
+
अ
अ
-
देशसञ्चार AI सारांश
- नायिका प्रियंका कार्कीले विवादित मास्टर्नी गीतले शिक्षकशिक्षिकाहरूलाई परेको चोटप्रति माफी माग्दै त्यस्तो गीत हटाइएको बताएकी छन्।
- उक्त गीत प्रचार मात्रका लागि तयार पारिएको र चलचित्रको आधिकारिक गीत नभएको जानकारी दिइएको छ।
- उनले कुनै पेसा वा सम्मानमा ठेस पुर्याउने मनसाय नभएको भन्दै माफी माग्दै भविष्यमा सुधारको प्रतिवद्धता जनाएकी छन्।
काठमाडौँ- नायिका प्रियंका कार्कीेले विवादित मास्टर्नी गीतले शिक्षकशिक्षिकाहरूमा पर्न गएको चोटप्रति माफी माग्दै उक्त गीत युट्युबलगायत सबै सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएकी छन्।
उनले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवाद, प्रतिक्रिया र चासोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई, विशुद्ध प्रचारप्रसारको उद्देश्यले आपसी समन्वयमा तयार पारिएको तथा उक्त गीत चलचित्रको कथावस्तुमा कतै पनि समावेश नगरिएको पनि बताएकी छन्।
उनले उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित ‘शिक्षक-शिक्षिका’ पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई आफूले अत्यन्तै गम्भीरतापूर्वक लिएको पनि उल्लेख गरेकी छन्। कला र मनोरञ्जन पस्कने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि कुनै पनि प्रकारको नकारात्मक असर परोस् भन्ने मनसाय नरहेको पनि उनले उल्लेख गरेकी छन्।
‘तर उक्त प्रस्तुतिले अन्जानमै भावनामा पर्न गएको चोटप्रति व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
उनले कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने कल्पनासम्म आफूले नगरेको र भविष्यमा पनि नगर्ने बताएकी छन्। ‘अहिले सिर्जना भएको यस परिस्थितिलाई मैले गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएकी छु। सम्पूर्ण आदरणीय गुरु-गुरुआमा, नेपाल शिक्षक महासंघ तथा यस घटनाबाट आहत हुनुभएका सम्पूर्ण दर्शकहरूप्रति उच्च सम्मानसहित नतमस्तक भई माफी चाहन्छु,’ उनले भनेकी छन्।
उक्त गीत ‘दुर्गेश थापा’ युट्युब च्यानलबाट आधिकारिक रूपमा सधैँका लागि हटाइसकेको उल्लेख गर्दै सम्पूर्ण सामाजिक सञ्जालका प्लेटफर्महरूबाट समेत उक्त गीतका अंशहरू पूर्ण रूपमा हटाइसकिएको उनले जानकारी गराएकी छन्।
उक्त गीतले मर्यादित पेशाको अपमान भएको भन्दै समाजका विभिन्न तप्काहरुबाट यसको विरोध भएको थियो।
भर्खरै
लोकप्रिय
