
फ्रान्समा ओलम्पिक खेलको ओपनिङ समारोह सुरु हुन केही घण्टाअघि फ्रान्सको तीव्र गतिको रेलवे नेटवर्कमा हमला भएको छ। कयौं रेल्वे लाइनमा तोड्फोड गर्दै तारहरु जलाइएका छन्। रेल्वे लाइनमा कसले र किन आक्रमण गरेको भन्ने जानकारी अहिलेसम्म गराइएको छैन।
फ्रान्सको नेशनल रेल्वे कम्पनी (एसएनसीएफ) का अनुसार आक्रमण भएको आधाघण्टाभित्र पेरिसदेखि आउने र जाने कयौं ट्रेनहरु रद्द गरिएका छन्। भने सयौं ट्रेन ९० मिनेटसम्म ढिला चले। आक्रमणका कारण आज करिब २ लाख ५० हजार यात्रुहरु प्रभावित भएका छन्। जबकि यो पुरै हफ्ताभरीमा करिब ८ लाख यात्रुहरुलाई असर गर्न सक्ने जनाइएको छ।
प्रधानमन्त्री गेब्रियल अट्टलले ओलम्पिकमा बाधा पुर्याउने उदेश्यले आक्रमण गरिएको बताएका छन्। पेरिसमा आज राति ११ः१५ बाट उद्घाटन समारोह सुरु हुँदै छ। प्रतियोगिता २६ जुलाईदेखि ११ अगस्टसम्म सञ्चालन हुँदै छ। यो महाकुम्भमा २ सय ६ देशका १० हजार ५ सय खेलाडीले भाग लिँदै छन् जहाँ नेपालका पनि ७ खेलाडी सहभागि हुँदै छन्।
पेरिस प्रशासनले ट्रेन नेटवर्कमा भएका आक्रमणको अनुसन्धान सुरु गरेको छ। फ्रान्समा अपराध रोक्ने एजेन्टसी जुनाल्कोका अनुसार ट्रेन नेटवर्कमा आक्रमण गर्नेहरुलाई २० वर्ष जेल सजाय र ३ लाख युरो जरीवानासम्म हुनसक्ने छ।
केही समयअघि युरो एयरपोर्टसमेत बन्द गरेको थियो। आक्रमणकारीहरुले बमको हल्ला फिजाएपछि बन्द गरेको एयरपोर्ट अहिले भने खुल्ला गरिएको छ। फ्लाइटहरु विस्तारै सुरु भएका छन्। युरो एयरपोर्ट एकमात्र यस्तो एयरपोर्ट हो, जहाँ फ्रान्स र स्विडेनले संयुक्त रुपमा एयरपोर्ट सञ्चालन गर्छन्।
ओलम्पिकमा सुरुवातदेखि अहिलेसम्म ३ पटक आतंकवादी आक्रमण भएको छ। पहिलो पटक सन् १९०० मा भएको थियो। त्यसपछि १९७२ को म्युनिख ओलम्पिकमा दोस्रो आक्रमण हुँदा १९९६ मा एटलान्टा ओलम्पिकमा पनि आक्रमण भएको थियो।
आतंकवादीहरुले विश्वभर प्रभावपार्ने खेललाई आफ्नो प्रचारको र प्रभावको विस्तार गर्ने उद्देश्यले आक्रमण गर्ने गरेका छन्। सानो आक्रमणले पनि ठूला समाञ्चारहरु बन्ने भएकाले आतंकवादीहरुले समेत यो ठूलो खेलकुद इभेन्टलाई आफ्नो निशाना बनाउने गरेका छन्।