प्रहरी रक्षक हुन् कि राक्षस?

काँकडभिट्टाका सशस्त्र प्रहरीको निचतम व्यवहार

कतिखेर नेपाल टेकुँजस्तो भएको छ । प्यास लागेको छ तर पानी पनि नेपालमै पिउँछु भनेर दौडिएँ ।

‘एई ….उता जा, उता…! हट् … भाग … !’

साह्रै निचो भावको एउटा कर्कस बोली कानमा ठोक्कियो । टाउको फर्काए, तीनजना सशस्त्र प्रहरी भुइँमा बसेका थिए । ती मध्ये एउटा मोबाइलमा थिए तर कुरा गरिरहेका थिएनन् ।

अर्का पलेटी मारेर मतिर चोर औँला ठड्याउँदै थिए । बाँकी एउटा मतिर हेर्र्दै हाँस्दै थिए । शायद आफ्नो साथीले एउटा नागरिकमाथि गरेको दुर्व्यवहारलाई बहादुरी मानेर मेरो उपहास गर्दै थिए।

ती ड्युटीमा थिए तर ड्युटी गरिरहेका थिएनन् । राक्षसी चरित्र देखाएर समय बिताइरहेका थिए ।

हाम्रा प्रहरीको दूर्गति !

आफन्तलाई भेटेर म सिलिगुडीबाट फर्कँदै छु । साथमा ८४ टेक्न लागेकी मेरी आमा हुनुहुन्छ । श्रीमती र परिवारजन पनि छन् । मेचीपारीको पानीटंकी (भारत) को भीड । रिक्सावालाका तानातान र ठेलमठेल । त्यहाँको झिजोे छिचोल्नु भनेको एउटा युद्ध जित्नु जस्तै हुन्छ । त्यसमाथि टन्टलापुर घाम । खपी नसक्नु गर्मी ।

हप्–हप् र उकुस मुकुस् । कतिखेर सीमापार गरेर आफ्नै मातृभूमिमा स्वास फेरुँ जस्तो भएको छ । सीमापार गरेँ । झोला बोकेर अटोरिक्साबाट निस्किएँ ।

२०७५ चैत्र १५ गते बिहीबार । दिनको १ बजेर चार मिनेट गएको छ । दक्षिणपट्टि रहेको यात्रु प्रवेशकक्षको छायामा एउटा पाइलो मात्र के टेकेको छु, सीमा सुरक्षाका लागि भुइँमा बसेका ती प्रहरीले सम्पूर्ण मर्यादा नाघेर दुर्वाच्य बोले ।

त्यसपछिको सम्वाद यस्तो भयो, ‘हेलो सर तपाइँहरुले पब्लिकसँग बोल्ने तरिका यही हो ?’ मैले सोधेँ ।

‘यही हो ।’ उनले उसैगरी उस्तै रुखो जवाफ दिए, जसरी बोलेका थिए ।

‘तपाईँहरुले मर्यादित भाषा बोल्न कहिल्यै जान्नु भएन?’ फेरि प्रश्न गरेँ ।

‘ए ! यो को हो, हामीलाई मर्यादा सिकाउने ?’ उबाट उस्तै जवाफ आयो । अर्को उसैगरि हास्यो जसरी पहिले हासेको थियो ।

‘पब्लिकसँग राम्रो भाषामा बोल्न सिक्नुस् ।’ मैले पनि स्वर अलिकति उँचो गरेँ । ‘केही छैन, तपाईँ जानुस् ।’ अर्काले मलाई धकेल्न थाले ।

‘मलाई नछोइ कुरा गर्नुस् । तपाईँहरु व्यवसायिक बन्नुस् । पब्लिकसँग कुरा गर्दा प्रहरीको मर्यादाभित्र रहेर कुरा गर्नुस् । नत्र म तपाईँहरुको बारेमा कम्प्लेन गर्छु ।’ मैले थपेँ ।

‘गरे हुन्छ, केही नापिदैन । अहिल्यै गरे हुन्छ । तँजस्ता…… !’ पाखुरामा हवल्दारको बिल्ला भिरेका प्रहरीले प्रहरी मर्यादालाई झन् कुल्चदै मेरो पछि पछि आए ।
म सीमामा सामान स्क्यान गर्ने क्षेत्रमा प्रवेश गरेँ । ती हवल्दार पछि लाग्दै आए ।

भन्सारमा उभिएका अन्य प्रहरीलाई आदेश दिँदै फेरि भने, ‘यसको झोला खोस् । चेक गर । भन्सार काट । नछोड ।’ प्रहरीको मानमर्यादालाई कुल्चेर गुण्डा शैलीमा आदेश दिए । सबै छक्क परे । मुखामुख गरे ।

म गर्मी, पसिना र तिर्खाले आलसतालस छु । आफ्नो देशमा सुरक्षा र सहयोग हुन्छ भन्ने सोचेर भारतको पानीटंकीमा पानी समेत नपिई आएको व्यक्तिमाथि शसस्त्र प्रहरीले गरेको व्यवहारले दुःखीमात्र हैन निरास बनायो । निक्कै बेर हतास बनायो ।

ममाथि त यति ज्यादती हुन्छ भने अरु अन्य नागरिकमाथि यिनले के गर्लान् जस्तो लाग्यो । आफ्नै देशका प्रहरीको दुर्व्यवहारप्रति आफैलाई लज्जाबोध भयो । प्रहरी संस्कारलाई धिक्कार भनेँ।

मेरो हातमा प्लास्टिकको एउटा झोला र व्याकप्याक थियो । दुवै स्क्यान गरियो । ती हवल्दारले चिच्याउँदै झोला खोल भने । हेर भने । स्क्यान गरेको झोला खोलेर एक एक पत्र हेरियो । केही फेला परेन । व्याकप्याकमा थोत्रा लुगा थिए । मानसिक यातना दिइयो ।

मसँग आएका मेरा आफन्तमाथि पनि खनिए ती हवल्दार । मानौ उनका लागि ती पनि ठूला अपराधी हुन् । जसरी ती प्रहरीले ममाथि दूव्र्यवहार गरे मेरो परिवार प्रति पनि त्यस्तै गरे । देशको प्रहरीको यो दुरावस्था देखेर साह्रै दुःख लाग्यो ।

प्रहरीको यो अवैध ज्यादती विरुद्ध बोल्नु भन्दा त्यहाँबाट निस्कनु ठीक थियो । हामी निस्कियौँ । त्यहाँ एक जनपथ प्रहरी पनि थिए । सबै घटनाको साक्षी बनेका ती प्रहरी भने अरुभन्दा फरक थिए । मेरा सामुन्ने प्रहरी मर्यादाको मानका बने उनी–सरी सर दुःख नमान्नुस् । यस्तै छ ।

मनमनै उनलाई नमन गरेँ तर आफ्नै देशमा आफ्नै देशका सुरक्षाकर्मीबाट एउटा नागरिकले यसरी ह्युमुलेट हुनु पर्दा साह्रै दुःख सहि नसक्नु भयो । त्यो घटनाले मलाई निक्कै बेर स्तब्ध बनायो । प्रहरी प्रशासनको राक्षसी पीडा कतिले भोगको छन् जस्तो लाग्यो ।

त्यसदिनको सिसिटिभी हेरे थाहा हुन्छ, कुन हदको निचतम् ज्यादती गरे ती हवल्दारले । कसैलाई कुनै कारबाही होला भन्ने अपेक्षा त राख्दिन तर भविष्यमा सुध्रेला भन्ने अपेक्षा अझै राख्छु ।

चैत्र १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्