अन्तर्वार्ता

‘महिलाको कथा भएका कारण ‘योगमाया’माथि नाटक बनाएको हुँ’

योगमायाको जन्म भोजपुरको दिङ्लामा वि‍.स‌ं. १९१७ सालमा भएको थियो। नाबालक उमेरमै विधवा बनेकी उनले समाजिक सुधारका लागि समाजसँग विद्रोह गरिन्। तत्कालीन राणा शासकसँग विद्रोह गरिन्। तत्कालीन शासकले माग पूरा नगरेपछि उनले राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा आफ्ना कैयौँ समर्थकसहित अरुण नदीमा जलसमाधि लिइन्।

निलम कार्की निहारिकाले उनै योगमायाको जीवनमा आधारित उपन्यास ‘योगमाया’लेखेकी छन्। २०७४ सालको मदन पुरस्कार विजेता उक्त उपन्यासमाथि आधारित भएर यतिबेला राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा ‘योगमाया’ नाटक मञ्चन भइरहेको छ। टंक चाैलागाईँले निर्देशन गरेकाे नाटकमा अभिनेत्री मिथिला शर्मा योगमायाको भूमिकामा देखिएकी छन्। जेठ २४ देखि मञ्चन भएको नाटक असार १६ गतेसम्म चल्नेछ।

विज्ञापन

निर्देशक चौलागाईँले यसअघि माधवी र ययाति जस्ता नाटकको निर्देशन गरिसकेका छन्। लामो समयदेखि रंगमञ्चमा काम गर्दै आइरहेका चौलागाईँले नाटकसँँगसँगै आख्यानमा पनि कलम चलाउँदै आएका छन्।

योगमायाकै सेरोफेरोमा रहेर देश सञ्चारका लागि आरपी न्यौपानेले निर्देशक टंक चौलागाईँसँग कुराकानी गरेका छन्। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः

योगमाया उपन्यासमा आधारित भएर नाटक बनाउनु भएको छ, दर्शकको सहभागिता र प्रतिक्रिया कस्तो छ?

अहिलेसम्मको स्थिति हेर्दा दर्शकको सहभागिता उत्साहजनक छ। उपन्यास पढिसकेका र नपढेका दुवै खालका दर्शक नाटक हेर्न आइरहनुभएको छ। योगमाया पढिसकेका पाठकलाई नाटक कस्तो बन्यो होला भन्ने चासो देखिन्छ भने नपढेकालाई पनि नाटक हेर्दा कथा बुझन सजिलो हुन्छ भन्ने छ। नाटक हेरेका दर्शकहरु कन्भिन्स भएरै जानुभएको पाएको छु। राम्रो प्रतिक्रिया पाइरहेको छु।

तर उपन्यास पढिसकेका कतिपय दर्शकले नाटकमा पनि उपन्यासमा जस्तै परिवेश खोज्नु हुँदोरहेछ। नाटकमा सबै कुरा देखाउन सकिँदैन। विम्वहरुको प्रयोग गरेर पनि धेरै कुरा भन्नुपर्ने हुन्छ।

तपाईका यसअघिका नाटक माधवी र ययाति पनि पौराणिक/ऐतिहासिक कथामा आधारित थिए। यो संयोग मात्रै हो कि रुचि हो?

पौराणिक/ऐतिहासिक कथावस्तु मेरो रुचि भन्दा पनि संयोग हो। तर महिला केन्द्रित विषयमा काम गर्नु मेरो रुचि हो।

‘माधवी’ महिला कै विषयवस्तु भएका कारण छनौट गरेको हुँ। ‘ययाति’ मा पनि पुरुषको राज्यमा महिलाहरु कसरी जेलिएका छन् र पुरुषको सफलतामा महिलाहरुको कति धेरै योगदान हुन्छ भन्ने खालको कथा थियो।

योगमाया पनि महिलाकै विषयवस्तु भएका कारण छानेको हुँ। आजभन्दा करिब एक सय वर्ष अघि नै उहाँले समाजका लागि त्यत्रो योगदान गर्नु भएको रहेछ तर उहाँका बारेमा कतै पनि सुनिएन।

महिलाहरु समाजमा यति पछाडि परेका छन् कि न त उनीहरुको आवाज सुनिन्छ न त कामको कदर हुन्छ। त्यसकारण महिला केन्द्रित विषयवस्तु छानिएको हो। ऐतिहासिक पात्रमा रुचि भएर होइन।

कथामाथि नाटक बनाउनु र सिंगो उपन्यासमाथि नै नाटक बनाउनुमा के फरक हुन्छ?

कथामा थोरै पात्र र सानो फ्रेममा काम गर्न सकिन्छ। सानो कुरा लिएर त्यसलाई बढाउने ठाउँ हुन्छ। तर उपन्यासमा त्यो सुविधा हुँदैन। जतिसक्दो घटाउनु पर्ने हुन्छ। उपन्यासमा पात्र, परिवेश र घटनाहरु धेरै हुन्छन्।

मैले योगमायामाथि नाटक गर्ने भनेर डाइलग बोल्ने पात्रहरु छान्दा सुरुमा ८५ जना पुगेका थिए। ८५ जना कलाकारका लागि डायलग निकालेर मञ्चमा काम गर्न गाह्रो हुन्छ।

त्यसलाई घटाउँदा–घटाउँदा ३०/३२ जना पात्रहरुमा आईपुग्यौँ। अहिले योगमायामा २८ जना कलाकार छाैँ। केहीले दोहोरो भूमिका निभाउनु भएको छ। त्यसैले २८ जना कलाकारले त्यो सबै गर्न सकिएको हो। नाटक सुरु गर्दा तीन घण्टाको थियो। काट्दा काट्दा डेढ घण्टामा आएको छ। त्यसकारण पनि कथामा जस्तो उपन्यासमा काम गर्न सजिलो छैन।

एउटा निर्देशकलाई नाटक मञ्चन हुनुभन्दा अगाडि असफलताको डर कत्तिको रहन्छ?

भयङ्कर ठूलो डर हुन्छ। सबैभन्दा ठूलो कुरा दर्शक हेर्नका लागि आईदिनु पर्‍यो। जुनसुकै विषयवस्तुमा नाटक बनाए पनि दर्शकलाई कतिखेर सकिएला भन्ने भयो भने ठूलो तनाव हुन्छ। हामीलाई सबैभन्दा ठूलो चुनौति त्यहि हो।

नाटक बनाउँदा कहिलेकाहिँ विषयवस्तु एकदमै राम्रो छ भने अभिनय र नाटकको प्रस्तुति ठिकै भएपनि नाटक मञ्चन गुर्नुपर्ने हुन्छ। यदि विषयवस्तु, अभिनय र प्रस्तुति सबै राम्रो भयो भने चाहिँ गज्जव हुन्छ तर गज्जव बनाउन चुनौति हुन्छ।

अरुको सिर्जनामाथि न्याय गर्न सक्नु सजिलो काम होइन। त्यसमाथि मदन पुरस्कार विजेता उपन्यासमाथि नाटक बनाउँदा न्याय गर्न सक्दिँन कि भन्ने डर भएन?

सुरुमा एकदमै डर लागेको थियो। मदन पुरस्कार पाइसकेको उपन्यास आफै‌मा यत्रो ठूलो छ, काम गर्न सकिन्छ कि सकिदैन भन्ने थियो। उपन्यासबाट नाटकका लागि संवादहरु निकाल्न थालेपछि विस्तारै डर कम भयो। उपन्यासको साइज ठूलो भए पनि नाटकका लागि चाहिने कुरा छुट्याउन सजिलै थियो। जब काम गर्न थालियो त्यसपछि सकिन्छ होला भन्ने भयो।

आफै दर्शक बनेर नाटक हेर्दा उपन्यास माथि न्याय गरेँ जस्तो लाग्छ?

अहिले हेर्दा उपन्यासमाथि न्याय गरेको छु जस्तो लाग्छ। नाटकको सिलसिलामा उपन्यासमा नभएका केही कुरा थप्नुपर्छ कि भन्ने लागेको थियो। यस विषयमा लेखकसँग पनि सल्लाह भएको थियो। गाउँमा आउन वित्तिकै योगमायाले किन विद्रोह गरिन्? त्यहाँ त्यस्तो के थियो? भन्ने कुरा उपन्यासमा छैन भन्ने मलाई लागेको थियो। हामीले नाटक एउटा घटनाबाट सुरु गरेका छौँ। जुन घटना उपन्यास छैन।

यस हिसाबले हेर्दा उपन्यासमाथि न्याय गरेको छु भन्ने लाग्छ। उपन्यासमा विवरणहरु धेरै छन्, जुन नाटकमा चाहिँदैन। नाटकमा एउटै संवाद वा सामान्य सेटिङले पनि त्यो कुरा बुझाइदिन्छ। आफै दर्शक बनेर हेर्दा नाटक उपन्यास भन्दा कमजोर बनेको छ जस्तो लाग्दैन।

‘माधवी’ पछि नयनराज पाण्डेको उपन्यास ‘उलार’माथि नाटक बनाउने भन्नु भएको थियो। त्यसपछि तपाईका दुई वटा नाटक आइसकेँ। उलारको काम किन रोकियो?

उलारलाई नाटकमा रुपान्तरण गरिसकेको छु, तर त्यसमाथि काम गर्न मलाई अझ जोखिम लाग्यो। उलारमा भाषा र कल्चरमाथि काम गर्नुपर्छ होला भन्ने लागेको छ। तर त्यसका लागि टीम बनाउन सकेको छैन। जसका लागि अवधी वा भोजपुरी कल्चर समाउनु पर्छ नत्र नाटकमाथि न्याय हुँदैन भन्ने लागरे काम रोकिएको हो। ढिलो चाँडोको कुरा हो उलारमाथि नाटक बन्छ।

योगमायापछिको योजना के छ?

तत्काल त्यस्तो कुनै योजना छैन। सायद एकवर्ष अगाडी अर्को नाटक आउँदैन। तर आगामी नाटक पौराणिक र ऐतिहासिक विषयवस्तुमाथि भने गर्दिन। टंक चौलागाईँले ऐतिहासिक/पौराणिक कथा मात्रै छान्छ भन्ने छाप मेटाउनु पर्नेछ। अलि केही उट्पट्याङ गर्नुपर्छ कि भन्ने लागेको छ तर विषयवस्तु सोचिसकेको छैन।

रंगमञ्चसँगै आख्यानमा पनि कलम चलाइरहनु भएको छ। लेखनमा पनि रुचि हो?

नाटक मेरो पेशा हो, काम नै यहि भयो। लेखन रुचि हो। रंगमञ्च र लेखन दुवैमा संँगसँगै काम गरिरहेको छु। दुवै विधामा ठूलो फरक छैन। म आफै लेख्ने नभएको भए सायद योगमायाप्रति मेरो रुचि हुँदैनथ्यो होला। दुवै कुरा एकापसमा अन्तरसम्बन्धित छन् र सँगसँगै जान्छन् मेरो विचारमा।

नयाँ पुस्तकको पनि तयारी गर्दै हुनुहुन्छ हो?

अहिले एउटा आख्यानमा काम गरिरहेको छु। पुस्तक प्रेसमा गइसकेको थियो तर आफैलाई डर लागेर त्यसलाई रोकेको छु। त्यसमाथि केही काम गर्दैछु। सायद यहि वर्षभित्र आउँछ होला।

असार ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्