सरकार! यो समय डराउने होइन, समस्यासँग जुध्ने हो

भोलिबाट सञ्चालन हुने एसईई परीक्षालगायत सम्पूर्ण शैक्षिक संस्थानहरु सरकारले बन्द गरेको छ। केका लागि? सरकारले कोरोना भाइरसको महामारीबाट हुने मृत्युको संख्या कम गर्ने उद्देश्यले शैक्षिक संस्थाहरु बन्द गर्दैछ कि बालबालिकाले यो कोरोना भाइरस शिक्षण संस्थाबाट आआफ्नो घरघरमा लैजान सक्छन् भन्ने डरले? नेपालमा हालसम्म एउटा अपवादबाहेक कोरोना भाइरसका कुनै केस नदेखिँदा ७० लाख विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप बन्द गर्नु कत्तिको सान्दर्भिक छ?

संकटको समयमा शिक्षण संस्थाहरुसँग पनि उचित छलफल गर्नुको सट्टा सरकारले एसईई रोक्ने, त्रिविका परीक्षा स्थगित गर्ने र शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय एकतर्फी गरेर समस्यासँग जुध्न होइन, भाग्न चाहेको संकेत दिएको छ। सम्बन्धित निकायहरुसँग उचित र पर्याप्त छलफल नगरी ७० लाख विद्यार्थीहरुलाई प्रभाव पार्ने निर्णय सरकारले एकतर्फी रुपमा गर्दा समस्यासँग जुध्न होइन, समस्या बढाउन सहयोग नपुर्‍याउला भन्न सकिँदैन।

उता कोरोना भाइरसको उत्पत्ति विन्दु चीनमा शैक्षिक संस्थानहरु खुल्न थालेका छन्। चीन सरकारले मार्च अन्त्यसम्म सबै प्राथमिक विद्यालयहरु खोल्ने लक्ष्य राखेको छ। वुहानलगायत संक्रमण धेरै फैलिएका स्थानहरुमा जनजीवन सामान्यतर्फ उन्मुख भइसकेको छ।

चीनको वुहान जहाँबाट यो भाइरसको सुरुआत भयो त्यहाँको रिपोर्ट हेर्दा मर्ने मानिसहरु ८० प्रतिशत ६० वर्ष वा सोभन्दा माथिका छन्। २० वर्षभन्दा मुनिका बालबालिकाको मृत्युदर १००० मा १ भन्दा पनि कम छ । २० वर्षभन्दा मुनिका बालबालिकाहरुमा यसको लक्षण नदेखिने र विरामी पनि पर्ने सम्भावना न्यून रहेकोले उनीहरुले यो भाइरस अरुमा सार्न सक्छन् भन्ने सम्भावना एकदमै कम रहन्छ। यदि बालबालिकालाई कोरोना भाइरस लागेर मृत्यु हुने सम्भावना एकदमै न्यून छ अनि उनीहरुले स्कुलबाट घर लगेर सार्ने सम्भावना कम देखिन्छ। यो अवस्थामा शैक्षिक संस्थाहरु किन बन्द गर्ने? कति दिन बन्द गर्ने? ६ महिना वा वर्ष दिन? के नेपाल एक शैक्षिक सत्र पूरै बन्द गर्न सक्ने अवस्थामा छ? अनि ६ महिना वा वर्ष दिन पछि यो भाइरस शून्यमा पक्कै पुग्दैन। पहिला पनि इबोला वा अन्य यस्ता महामारीहरु आए तर शून्य भएर गएनन्। यसको उत्तम समाधान भनेको भ्याक्सिनेसन नै हो र अमेरिकामा यस रोगको भ्याक्सिन मानवमा परीक्षण भइरहेको अवस्थामा यसरी आत्तिएर शैक्षिक संस्थानहरु बन्द गरिनु कति जायज छ?

यस अवस्थामा कोरोनाबाट कसरी शैक्षिक संस्थानहरुमा सावधानी अपनाउन सकिन्छ भन्ने ठूलै चुनौती देखिन्छ। स्कुलमा हेल्थ डेस्क राख्ने, ज्वरो नाप्ने, यदि बिरामी देखिएमा घरमै बस्न प्रेरित गर्ने, स्कुलमा आइसोलेसन रुम बनाउने जस्ता कार्यहरु गर्न सकिन्छ। यस अवस्थामा बच्चाहरु आफ्नो समकालीन वा बच्चाहरुसँगै बस्दा बढी सुरक्षित रहन्छन् न कि आफ्ना अभिभावकहरु जो कामको सिलसिलामा विभिन्न ठाउँमा गएर घर आउँछन्। के सरकारले स्कुलसँगै सम्पूर्ण अफिसहरु पनि बन्द गर्न सम्भव छ?

बरु एउटा कक्षामा २५ देखि ३० जनामात्र विद्यार्थी राख्ने व्यवस्था मिलाउने। जाँचमा पनि एउटा डेस्कमा एकजनामात्र राख्ने। विद्यार्थीहरु ओसार्ने बसमा विद्यार्थी चढाउनुअघि निर्मलीकरण गर्ने। कक्षाकोठाहरु पनि निर्मलीकरण गर्ने। मास्क र स्यानिटाइजर कक्षाकोठा र स्कुलमा राख्ने व्यवस्था गर्ने। यी सुरक्षाका उपायहरु अपनाएर भए पनि शैक्षिक संस्थानहरु बन्द नगर्ने हो कि? 

शिक्षण सिकाइ आफैँभित्रबाट आफसेआफ आउने कुरा होइन, घरमा कहिलेकाहिँ अभिभावकले १ घण्टा बालबालिकालाई पढाउनु बेग्लै कुरा हो तर ६ महिना वा वर्षदिनसम्म असम्भव देखिन्छ। शैक्षिक संस्था बन्द गरी बालबालिका ६ महिना वा वर्ष दिन घरमै बस्नुपर्ने भएको खण्डमा अभिभावक र बालबालिकाले यसलाई कसरी व्यवस्थापन गर्लान्? अफिस जाने-आउने अभिभावकहरुले घरमा बालबालिकालाई मात्रै लामो समय छोडेर जाँदा उनीहरुको खाना, खाजा अनि दैनिक तालिका कसरी बनाउलान्? यो एउटा ठूलो चुनौती देखिएको छ। बालबालिकाले घरमा बसेर टिभी हेर्ने, इन्टरनेटमा गेम, मोबाइल चलाउने गर्दा उनीहरुको शैक्षिक अवस्था कहाँ पुग्ला? केही दिन घरमा आइसोलेसनमा बसेपछि उनीहरु र अभिभावकबीच उमेर अन्तरले गर्दा धेरै कुराहरु नमिल्दा घरमा तनाव हुने देखिन्छ। अनी उनीहरु आफ्नो उमेर समूहका साथीहरुसँग खेल्न, गफ गर्न नपाउने अनि घरमा पनि अभिभावकहरुले समय नदिने, दिएको समयमा पनि खाली ‘पढ’ मात्रै भनिरहँदा आइसोलेसनमा रहेका बालबालिकाहरुको मनोविज्ञानमा कस्तो असर पर्ला?

हामी अभिभावकहरुलाई घरमा बालबालिकाहरुसँग कसरी डिल गर्ने भन्ने पनि थाहा नहुन सक्छ, साथै घरमा पर्याप्त शैक्षिक सामग्री, किताबहरु वा उनीहरुलाई व्यस्त गराउने अन्य केही सामग्रीहरु पनि नहुन सक्छ। यस अवस्थामा बालबालिकालाई घरमै आइसोलेसनमा राख्न झन् कठिन हुने देखिन्छ। नेपालमा अभिभावकहरुको हकमा घरैबाट काम गर्ने अफिसहरु धेरै कम छन्। अनि बालबालिकालाई कसरी व्यस्त राख्ने, उनीहरुको दैनिक रुटिन कसरी बनाउने जस्ता कुराहरु नजान्दा अभिावकहरु बालबालकासँग चिढिने, रिसाउने हुँदा अभिभावकहरुले रचनात्मक गतिविधिहरु आफ्नो बच्चालाई दिन नसक्दा स्थिति झन् भयावह हुन सक्छ। हालसम्म स्कुल नजाने भन्नेबित्तिकै त्यसलाई छुट्टी ठानिरहेका बालबालिकाहरुले त्यही रुपमा यो आइसोलेसनलाई पनि लिएको हुन सक्छ। यसले बालबालिकासँगै अभिभावकको जीवनमा पनि तनाव सिर्जना गर्नेछ। बालबालिकाहरु स्कुल नजानु परेपछि घरमा छुट्टीको माहोल र मुडमा भएको बेलामा अभिभावकले उनीहरुलाई ‘पढ’भन्दा त्यसले बच्चाहरु चिढिने सम्भावना धेरै हुन्छ।

हालसम्म कोरोना भाइरसलाई मौसमले कस्तो असर गर्छ भन्ने पनि यकिन भैसकेको छैन। तर धेरैको भनाइअनुसार गर्मी महिनामा यसले कम असर गर्छ भन्ने  बहस चलिरहेको छ र हालसम्म यो भाइरस देखा परेका ठाउँहरु धेरैजसो जाडो भएकाले गर्मीमा यसको असर कम हुँदै जाने भन्ने तर्कहरु पनि आइरहेका छन्। त्यस अवस्थामा नेपालमा तापक्रम बढ्दै गइरहेको अवस्थामा यसको असर विस्तारै कम हुँदै जाने सम्भावना पनि छ। यस अवस्थामा सम्पूर्ण शैक्षिक क्यालेण्डर बन्द गर्नु कत्तिको उचित हुन्छ? सरकारले एसईई, कक्षा ११, १२ लगायत अन्य परीक्षाहरु सक्दो छिटो गराएर शैक्षिक क्यालेन्डर नबिगारेकै राम्रो हो कि?

बरु एउटा कक्षामा २५ देखि ३० जनामात्र विद्यार्थी राख्ने व्यवस्था मिलाउने। जाँचमा पनि एउटा डेस्कमा एकजनामात्र राख्ने। विद्यार्थीहरु ओसार्ने बसमा विद्यार्थी चढाउनुअघि निर्मलीकरण गर्ने। कक्षाकोठाहरु पनि निर्मलीकरण गर्ने। मास्क र स्यानिटाइजर कक्षाकोठा र स्कुलमा राख्ने व्यवस्था गर्ने। यी सुरक्षाका उपायहरु अपनाएर भए पनि शैक्षिक संस्थानहरु बन्द नगर्ने हो कि?

यो समय डराउने नभई समस्यासँग कसरी जुध्ने भन्ने हो। सरकारले विद्यार्थीहरुलाई पनि यही सिकाउनु समाजको भविष्यका लागि उत्तम उपाय हुनेछ।

चैत्र ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्