आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रका विशेषताहरू

आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रका विशेषताहरू
+
-
देशसञ्चार AI सारांश
  • मोतीराम भट्टद्वारा लेखिएको भानुभक्तको जीवनचरित्रमा कतिपय घटना काल्पनिक रहेको र पछि त्यसका आधारमा भानुभक्तको आलोचना भएको थियो।
  • भानुभक्तसम्बन्धी विभिन्न विवाद समाधान गर्दै नरनाथ आचार्यले प्रमाणित र संशोधित नयाँ तथ्यहरू समावेश गरी सच्चा जीवनचरित्र तयार पारेका छन्।
  • भानुभक्तको व्यक्तित्व र कृतित्वलाई प्रमाणसहित उजागर गर्ने सच्चा जीवनचरित्रको तीन संस्करण प्रकाशित भइसकेका छन्, जसमा नवीन जानकारी प्रस्तुत गरिएका छन्।

पृष्ठभूमि

मोतीराम भट्ट (१९२३–१९५३) ले वि.सं. १९४८ मा पहिलो पटक आदिकविको जीवनचरित्र ‘कविभानुभक्त को जीवनचरित्र (कवि भानुभक्ताचार्य को जीवनचरित्र)’ भन्ने नाममा प्रकाशित गरेका थिए। उनले आफू २३/२४ वर्षको हुँदा काठमाण्डौँमा बसी विभिन्न व्यक्तिहरूसँग सोधखोज गरी भानुभक्तको जीवनी लेखेका हुन्।

काठमाण्डौँदेखि निक्कै पर तनहुँको चुँदीरम्घामा जन्मेका भानुभक्तको जीवनीसित जोडिएका सबै घटनाहरूको यथार्थ विवरण काठमाण्डौँमा बसेर प्राप्त गर्नु त्यति बेला सामान्यतया असम्भव नै थियो। त्यसैले मोतीराम भट्टले लेखेका भानुभक्तका जीवनचरित्रमा कतिपय घटना काल्पनिक, नमिल्दा र अयथार्थ रूपका समेत पर्न गएका थिए। पछिपछिका कतिपय लेखकले उनकै नमिल्दो लेखाइका आधारमा पनि भानुभक्तको आलोचना गर्न थाले।

काल¬¬क्रममा भानुभक्तका जीवनीका विविध पक्षहरू प्रकाशमा आउँदै पनि गए र मोतीरामले लेखेका कतिपय कुरामा संशोधन पनि हुँदै गयो । उनले लेखेको भानुको जन्मसंवत् १८६९ भानुभक्तकै पद्यका आधारमा संशोधित भयो। भानुको वास्तविक जन्ममिति १८७१।३।२९ भएको कुरा रङ्गनाथ शर्मा ज्ञवालीले उपलब्ध गराएका जन्मकुण्डलीसम्बद्ध पद्यका आधारमा भानुभक्तकी नातिनी विष्णुमायाबाट प्रकाशमा आयो (भानुभक्तमणिमाला, १९९८)। भानुभक्तको व्यक्तित्व र कृतित्वका विषयमा अरू पनि धेरै टीका¬टिप्पणी प्रकाशित हुँदै गए।

सच्चा जीवनचरित्र लेख्नुको मुख्य उद्देश्य

यस स्थितिमा भट्टजीले लेखेका केही कुरामा प्रमाण, युक्ति र अनुश्रुतिहरूका आधारमा संशोधन र परिष्कार गर्ने काम हाम्रा पूज्य पितामह कवि, समालोचक तथा जीवनीकार पण्डित कविराज नरनाथ शर्मा आचार्यले (१९६२–२०४५) गर्नुभएको छ। साथै भानुभक्तका जीवनका जनसमक्ष नआएका थप अनेक प्रसङ्गहरूलाई प्रकाशमा ल्याउने काम पनि उहाँले गर्नुभएको छ।

भानुभक्तका छोरा रमानाथ आचार्यबाट भानुभक्तका साइला बाबु पद्मनाभका पनाति यज्ञनिधि आचार्यलाई भानुका जीवनीसम्बद्ध धेरै तथ्य ज्ञात भएका रहेछन् र अप्रकाशित कतिपय फुटकर कविता सुन्न पाएकाले ती कण्ठ पनि रहेछन्। आफ्ना चारपुस्ते दाजु उनै यज्ञनिधिबाट भानुका जीवनीसम्बद्ध तथ्य र कतिपय फुटकर कविता पनि हाम्रा पितामहलाई प्राप्त भएकाले त्यसको समेत आधार लिई भानुभक्तको सच्चा जीवनचरित्र उहाँले लेख्नुभएको रहेछ।

(यस जीवनचरित्रका लेखकको व्यक्तित्व र कृतित्व यसअगिका लेखमा स्पष्ट पारिसकिएको छ–कवि, समालोचक तथा जीवनीकार पण्डित कविराज नरनाथ आचार्य, देशसञ्चार, २०८२।१२।१९)।

सच्चा जीवनचरित्रको प्रथम संस्करण

उहाँले लेख्नुभएको ‘आदिकवि (कविसम्राट्) भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ को प्रथम संस्करण वि.सं. २०१७ मा मुद्रण सम्पन्न भै यदुनाथ खनाल, जुननाथशर्मा पण्डित, माधवप्रसाद घिमिरे इत्यादि विभिन्न महानुभावहरूको सम्मति प्राप्त गरी वि.सं. २०१८ का प्रारम्भमा जनसमक्ष प्रस्तुत भएको थियो।

यो ग्रन्थ प्रकाशन भएपछि यस ग्रन्थका विषयमा धेरैले टिकाटिप्पणी गरेका छन्। प्रसिद्ध भाषाशास्त्री बालकृष्ण पोखरेलले आफ्नो पुस्तक ‘पाँच सय वर्ष’मा (प्रथम संस्करण २०२०, पञ्चम संस्करण, २०६२, पृ.३५३–३५४) यस्तो लेखेका छन्– “भानुभक्तको बारेमा लेखिएका ग्रन्थहरूको सङ्ख्या धेरै छ, तर तिनीहरूमा प्रमुखचाहिँ यी चार हुन्—

१. कवि भानुभक्तको जीवनचरित्र (मोतीराम, सं. १९४८),
२. कवि भानुभक्त (ब्रह्मशमशेर, सं. १९९७ ) (१९९५?),
३. भानुभक्त स्मारक ग्रन्थ (सूर्यविक्रम सम्पादित, सं. १९९७),
४. सच्चा जीवनचरित्र (नरनाथ आचार्य, सं. २०१७)।

यी चार ग्रन्थमा सबैको मत एकै छैन तापनि नरनाथ आचार्यज्यू भानुभक्तकै कुलमा जन्मिएका व्यक्ति भएकाले राय बाझेको ठाउँमा नरनाथज्यूलाई नै हामीले प्रामाणिक मान्नुपर्छ। यदुनाथ खनालज्यूले भनेझैँ जीवनी साहित्यको कलात्मक पक्ष र वैज्ञानिक दृष्टिकोणमा मोतीरामले लेखेको जीवनी नै श्रेष्ठ ठहरिएला। तर साथै के कुरो पनि हामीले बिर्सनु हुन्न भने रगतको साहिनुले गर्दा नरनाथज्यूले भानुभक्तबारे धेरै कुराहरू जान्न पाउनुभएकाले उहाँले लेखेको जीवनी तथ्यसङ्ग्रहमा श्रेष्ठ हुन पुगेको छ।”

यसै गरी कालिम्पोङका महानन्द पौड्याल (हाम्रो संकेत, त्रैमासिक पत्रिका, कालिम्पोङ, सन् १९७०), दार्जिलिङका नरा गुरुङ (भानुभक्तका कृति अध्ययनहरू, नेपाली साहित्य परिषद्, दार्जिलिङ, वि.सं. २०२६) आदिले पनि यस जीवनचरित्रलाई प्रामाणिक र विश्वसनीय मानेर आआफ्नो मत व्यक्त गरेका छन्। साथै पारसमणि प्रधानले पनि भानुभक्त-स्मारक ग्रन्थको (संशोधित र परिवर्धित संस्करण, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, २०२६) ‘आदिकवि भानुभक्त आचार्य’ भन्ने लेखमा यस सच्चा जीवन-चरित्रलाई आधार लिई धेरै विषयको विवेचना गरेको देखिन्छ।

सच्चा जीवनचरित्रको द्वितीय संस्करण

यस ग्रन्थको परिष्कृत र परिवर्धित द्वितीय संस्करण वि.सं. २०३६ मा प्रकाशित भएको थियो। यस संस्करणमा कतिपय नयाँ तथ्यहरू थप गरिनुका साथै केही थप विषयहरूको विवेचना गरिएका लेख पनि समाविष्ट गरिएका छन्। द्वितीय संस्करण प्रकाशित भएपछि यस ग्रन्थका विषयमा धेरैले टिकाटिप्पणी गरेको देखिन्छ। जस्तै–
मोतीरामकृत कवि भानुभक्तको जीवनचरित्रको (२०३८) प्रकाशकीयमा साझा प्रकाशनले यस्तो लेखेको देखिन्छ– “पं. नरनाथ शर्माको (आचार्यको) ‘भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ निस्केपछि कतिपय काल्पनिक अथवा अनुमानित कुराहरू खण्डित भई सन्देह निवारण गर्न त्यसले आधार दिएको छ।”

नेपाली साहित्यका प्रसिद्ध समालोचक वासुदेव त्रिपाठीद्वारा विस्तृत रूपमा गरिएको समीक्षाले (भानुसन्दर्भ र नरेन्द्रराज प्रसाईकृत भानुजीवनीः समीक्षात्मक अभिमत, नइ प्रकाशन, काठमाण्डौँ, २०७२, पृ.९३, ९५) यस जीवनचरित्रको वस्तुनिष्ठ मूल्याङ्कन गरेको देखिन्छ–

“नरनाथ आचार्यकृत ‘कविसम्राट् आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ (वि.सं.२०१७–१८) चम्पूमय जीवनीग्रन्थ थियो र त्यसले मोतीरामको ‘कवि भानुभक्तको जीवनचरित्र’ (१९४८) पछि विशेषतः रङ्गनाथ शर्मा (१९९८), बाबुराम आचार्य (२००३) आदिबाट कतिपय थप जानकारी र भिन्न मत पनि प्रस्तुत हुन आएको सन्दर्भमा नरनाथीय पाराको र स्वाभिमतसहितको परिपूरक अर्को भानुजीवनी ग्रन्थको महत्त्व प्राप्त गरेको हो नै!

यसको ‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ नाम दिइएको र ग्रन्थकार नरनाथका शिवराज आचार्य, साम्बराज आचार्य र जयराज आचार्यजस्ता विद्वान् सुपुत्रहरू सम्पादकसमेत रहेको र ग्रन्थगत सामग्रीको विषयानुरूप परिच्छेदविधान र शीर्षकोपशीर्षकले युक्त हुन पुगेको पर्याप्त नव विषयवस्तुगत अन्तर्व्यवस्थापन तथा सामग्रीगत परिवर्द्धनसमेत भएको अनि ग्रन्थभाषामा पनि शिवराजको स्वमत (जिम्दो नेपाली भाषाको सन्दर्भ) अलि प्रभावी रहेको दोस्रो संस्करण (वि.सं.२०३६) चाहिँ वास्तवमा आफ्नो ढङ्गको एक पर्याप्त परिश्रमसाध्य र बहुखोजीपूर्ण एवम् थप विमर्श र खण्डनमण्डनको तार्किकीले युक्त भानुभक्तीय तत्कालीन एक आकरग्रन्थ जस्तै हुन पुगेको छ।”

“… तर भानुजीवनचरित्रका आधारभूत खोजका र अङ्कनका १९४८–२०१८ सालका बीचका झण्डै ७० वर्षका यात्रामा मोतीरामका उल्लेख्य प्रथम परिपूरक जीवनीकार नरनाथ नै हुँदै हुन्।”

मोतीराम भट्टले भानुभक्तका सबै रचनाहरू प्रकाशित गर्ने प्रयत्न गरे पनि धेरै नै फुटकर पद्यहरू (कविताहरू) छुट्न गएका थिए। भानुभक्तका अहिलेसम्म प्राप्त फुटकर पद्यहरूमध्ये २२.५ (साढे बाइस ओटा) पद्य मोतीराम भट्टले, १० पद्य आदिकविकी नातिनी विष्णुमाया(अधिकारी)ले, २ पद्य ब्रह्मसम्सेरले, २ पद्य बाबुराम आचार्यले, १ पद्य तारानाथ शर्माले र १ पद्य हरिहर भट्टराईले खोजी सर्वप्रथम प्रकाशित गरेका थिए। ती पद्यहरूमध्येमा पनि कतिपय पद्यमा (तीनओटा पद्यमा) आवश्यक परिष्कार गर्ने काम र थप १८.५ (साढे अट्ठार ओटा) नयाँ पद्य खोजी सर्वप्रथम प्रकाशित गरी जनसमक्ष ल्याउने कामसमेत सच्चा जीवनचरित्रका लेखकले गर्नुभएको छ। साझा प्रकाशनले यसै सच्चा जीवनचरित्रलाई आधार मानी भानुभक्तका सबै फुटकर पद्यहरू लिएर भानुभक्तीय रामायणका पुस्तकमा (२०३९ देखि) समावेश गर्दैआएको छ।

सच्चा जीवनचरित्रका विशेषता

मोतीरामले भानुभक्तका जीवनका घटनासँग सम्बद्ध पद्यहरूका आधारमा जीवनचरित्र लेखेका हुन्। कतिपय घटनासँग सम्बद्ध पद्य पाइने तर घटनाको यथार्थ विवरण नपाइने स्थिति हुँदा कल्पना गरेर पनि लेखेको देखिन्छ। साथै कतिपय पद्य उनले त्यति बेला नपाएकाले ती पद्यसित सम्बद्ध घटना उनका जीवनीमा आउन सकेका थिएनन्।

यस स्थितिमा नयाँ पद्यका र परम्परागत तथ्यका आधारमा मोतीरामले लेख्न नपाएका विषयहरू यस सच्चा जीवनचरित्रमा लेखकले थप गर्नुका साथै उनले लेखेका नमिल्दा कुराहरूको प्रमाण र युक्तिउपपत्तिका आधारमा संशोधन र परिष्कार पनि गर्नुभएको छ।

तारानाथ शर्माले त मोतीरामकृत भानुजीवनीमा उद्धृत भानुका कवितालाई नै मोतीरामका कविता भनेका छन्। उनको यस्तो लेखाइबाट उनको समालोचकीय व्यक्तित्व कमजोर रहेछ भन्ने स्पष्ट हुन्छ। यस विषयमा सच्चा जीवनचरित्रको तृतीय संस्करणमा यसरी विवेचना गरिएको छ (पृ. २६४, टि.)– “उनले भानुभक्तका र मोतीरामका कविता छुट्ट्याउन नसकेको देखिन्छ।

उनी लेख्छन्– २०२७ सालमै मैले ‘नेपाली साहित्यको इतिहास’मा यसतर्फ विद्वान् अन्वेषकहरूको ध्यान तान्दै लेखेको थिएँः ‘आदर्श ऐतिहासिक पुरुष खोजेर राष्ट्रिय साहित्य र भाषाको मर्यादित परम्परा देखाउने उद्देश्यले गर्दा नै मोतीराम भट्ट भानुभक्तको फूलबुट्टाले भरिएको जीवनचरित्र लेख्न पुगेका थिए। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने पार्नलाई नै उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका थिए।

ती फुटकर सिलोकहरूमध्ये धेरैजसो मोतीराम भट्ट आफैँले रचेका थिए’ (भानुभक्त सव्य कि अपसव्य?, कान्तिपुर, २०६१।४।९)। यसबाट ताना सर्माले भानुभक्तलाई अप्रतिभाशाली र असहज कवि तथा मोतीरामलाई प्रतिभाशाली र सहज कवि ठान्नुका साथै भानुभक्तका श्लोकलाई पनि मोतीरामका श्लोक भन्ने ठानेको पनि देखिन्छ। भानुका जीवनीमा भानुका भनी मोतीरामले उल्लेख गरेका सबै श्लोक भानुभक्तकै हुन्।

उक्त लेखाइ केवल अविवेकी अभिव्यक्ति मात्र हो। उनले भानुभक्तको सहज कविव्यक्तित्वको कत्तिपनि आकलन गर्न नसकेको देखिन्छ। मोतीराम भट्टले त “मैले बनाये का २ अघारी भानुभक्त का अघिल्ला २ पाउसित राख्दा हीरा सित कांच् जोरे को झैं होला” (कविभानुभक्त को जीवनचरित्र, १९४८, पृ. ४६ टि.) भनेका छन्। भानुभक्तको र मोतीरामको तुलना गर्दै समालोचक वासुदेव त्रिपाठीले भानुभक्तका जस्ता पद्य लेख्न सक्ने क्षमता मोतीरामको थिएन भनेका छन्– “दुई सुन्दर पद्यरचना (भर्‌जन्म इत्यादि पद्य) भने युवाकवि मोतीरामका बुताभित्रका नदेखिई भानुभक्तीय नै ठहर्छन्” (नरेन्द्रराज प्रसाईकृत भानुसन्दर्भ र भानुजीवनीः समीक्षात्मक अभिमत, २०७२, पृ.५४)।” तथापि नरेन्द्रराज प्रसाईले भने तारानाथ शर्माकै कुरालाई यथार्थ ठानेको देखिन्छ।

भानुभक्तका रचनालाई लिएर विभिन्न व्यक्तिले गरेका आलोचनाको प्रत्युत्तर दिने काम पनि सच्चा जीवनचरित्रका रचयिताले गर्नुभएको छ। भानुभक्तको आदिकवित्व, वधूशिक्षामा नारीप्रतिको दृष्टिकोण, गजाधर सोतीका घरमा बासको प्रसङ्ग इत्यादि विषयमा विभिन्न लेखकहरूले उठाएका प्रश्नहरूको युक्तिसङ्गत रूपमा राम्ररी समालोचना उहाँले गर्नुभएको छ, उत्तर दिनुभएको छ।

सच्चा जीवनचरित्रको तृतीय संस्करण

लामो समयको अन्तरालपछि गत वर्ष भानुभक्तको जीवनीसम्बद्ध यस ग्रन्थको तेस्रो संस्करण प्रकाशित गरिएको छ (२०८२, बुक हिल प्रकाशन)। दोस्रो संस्करणमाथि पछिपछिका लेखकहरूबाट लगाइएका मिथ्या आक्षेप र देखाइएका दोषहरूको खण्डन प्रमाण र युक्तिउपपत्तिका आधारमा यस संस्करणमा हामीले गरिएको छ। साथै भानुभक्तमा र उनका काव्यकृतिमा मिथ्या दोष लगाउनेहरूलाई थप प्रत्युत्तर पनि यहाँ दिइएको छ।

परिशिष्टका सामग्रीमध्ये यस संस्करणमा थप गरिएका ‘आदिकवि भानुभक्त आचार्यका जीवनचरित्रहरूको पर्यालोचन’, ‘भानु-घाँसी-प्रसङ्गका विविध पक्षहरूको विवेचना’, ‘गजाधर सोतीका घरमा भानुभक्तको बासको प्रसङ्ग’, ‘वधूशिक्षा र गृहविज्ञान’, ‘भानुभक्तको जन्ममितिको विवादको निर्णय’ र ‘सच्चा जीवनचरित्रका लेखकले मोतीरामप्रति अन्याय गरेको वा दोष लगाएको भन्ने कुराको खण्डन’ भन्ने लेखहरू यस लेखकबाट लेखिएका छन्। साथै प्रमोदवर्धन कौण्डिन्न्यायनको ‘आदिकवि भानुभक्त आचार्यको जीवनचरित्रका विविध पक्षको विवेचना’ भन्ने शीर्षकको विस्तृत लेख पनि यहाँ प्रकाशित छ। उक्त लेखहरूमा विविध विषयमा नयाँ जानकारी, अद्यावधिक विवेचना र निष्कर्षहरू दिइएका छन्।

भानुभक्तका कृतिहरूको सुसम्पादनमा र जीवनचरित्रको लेखनमा प्रेरणा

हाम्रा पितामहले ‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ लेखन र प्रकाशन गर्दा (प्र.सं. २०१७, द्वि.सं. २०३६) तथा हाम्रा पिताजीले रामायणका मुद्रित-अमुद्रित विभिन्न पाठहरूको परिश्रमपूर्वक छानबिन गरेर रामायणको ‘सम्भावित शुद्ध पाठ’को (भानुदर्शन, २०३१–२०३५) तथा ‘भानुभक्तकृत भाषारामायण’को (पाठसमीक्षात्मक संस्करण, रत्न पुस्तक भण्डार, २०६७; लोकानुकूल सुलभ संस्करण, शाङ्ग्रिला प्रकाशन, २०७३) सम्पादन-प्रकाशन गर्दा पनि अरू कतैबाट व्यक्तिगत वा सार्वजनिक आर्थिक सुविधा नलिई आफ्नै इच्छा र भावनाका बलले गर्नुभएको थियो। हामीले पनि त्यसै गरी यो जीवनचरित्रको सम्पादन-प्रकाशन (२०८२) गर्ने काम गरिएको हो। अरूहरूले चाहिँ सरकारी आर्थिक सहयोग लिएर भानुभक्तसम्बद्ध काम गरेको देखिएको छ।

उपसंहार

परम्परागत तथ्यहरूका आधारमा आवश्यक विविध पक्षमा धेरै अनुसन्धानसमेत गरेर आदिकवि कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवनचरित्र वि.सं. २०१७ मा प्रकाशित गरिएको थियो। यस ग्रन्थमा (प्रथम संस्करण २०१७, द्वितीय संस्करण २०३६, तृतीय संस्करण २०८२) धेरै विशेषता छन्। यस जीवनचरित्रले भानुका कुलकुटुम्बको, शैक्षिक पृष्ठभूमिको र शिक्षादीक्षाको स्पष्ट परिचय दिएको छ। यसले घाँसी, गजाधर सोती आदिसँग सम्बद्ध भानुका जीवनका जेलिएका घटनालाई मोतीरामले देखाएभन्दा भिन्न रूपमा परम्पराप्राप्त र तर्कसङ्गत रूपमा अगाडि ल्याउनुका साथै भानुको व्यक्तित्वका विविध पक्षलाई विस्तृत रूपमा जनसमक्ष ल्याएको छ।

साथै यसले भानुको निधनतिथि १९२५ आश्विनशुक्लपञ्चमी हो भनेर सर्वप्रथम स्पष्ट उल्लेख गरी यससम्बन्धी भ्रम हटाउन सहयोग पनि गरेको छ। यसको द्वितीय र तृतीय संस्करणमा भानुका कृतिहरूको प्रथम प्रकाशनहरूको विवरण पनि दिइएको छ। भानुले बनाएका तर अरूले प्रकाशित नगरेका १८.५ (साठे अट्ठार) ओटा फुटकर पद्यहरूको खोजी र प्रकाशनमा यस जीवनचरित्रका रचयिताको ठुलो योगदान छ। भानुले लेखेका धेरै लिखतका प्रतिलिपि पनि सर्वप्रथम यहाँ प्रकाशित भएका हुन्। यसमा ब्रह्मसम्सेर, बाबुराम आचार्य, रामकृष्ण शर्मा, बालकृष्ण सम इत्यादि समालोचकहरूले भानुका कृतिमा गरेका आलोचनाको पनि समीक्षा गरिएको छ। यस समीक्षाले जीवनीकारलाई कुशल समालोचकका रूपमा पनि चिनाएको छ।

‘भर्‌जन्म घाँसतिर’ इत्यादि दुई पद्य मोतीरामले बनाएका हुन् भन्ने कतिपय समालोचकका भनाइको मिहीन रूपले विवेचना गरेर उक्त पद्य भानुभक्तकै हुन् भन्ने कुरा पनि यहाँ स्थापित गरिएको छ। यस जीवनचरित्रपछि भानुभक्तका जीवनीका विषयमा विशेष नवीन कुरा प्रकाशमा आउन सकेको देखिँदैन।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…