प्रकाशकीय

प्रश्न नै हाम्रो धर्म

नयाँ संविधान र दुई तिहाइ बहुमतले ल्याएको आशासँगै हामीले पनि सूचना र विचारको जगतमा पाइला टेकेका हौँ। संविधान सभाबाट नयाँ संविधान र निर्वाचनबाट लगभग दुई तिहाइको बलियो सरकारपछि मुलुक रामराज्य हुनेछ भन्ने सोच आज गलत सावित भएको छ। स्थायी सरकार र पाँच वर्षको कार्यकालको नारा संसद विघटनसँगै ओझेलमा परेको छ।

‘कामचलाउ’ प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई धोका दिएका छन् भन्ने जमात बढेको छ। कहिलेकाहिँ सफलताले व्यक्तिमा विचलन ल्याउँछ।

नाकाबन्दीले बनाएको छविलाई केपी ओलीले सम्हाल्न सकेनन्। केपी ओलीको सरकारले के दियो? विगत तीन वर्षमा देश र जनताले के गुमाए? प्रश्न उठिसकेका छन्। जनताको बहीखातामा हिसाबकिताब हुँदै छ।

के अब उनको दुःखद प्रस्थान हुनेछ सत्ताको राजनीतिबाट?

प्रजातन्त्रमा प्रतिपक्षको अस्तित्व अनिवार्य हुन्छ। संसद विपक्षी विहीन भएको अवस्थामा जन्मकालदेखि नै हामीले सशक्त विपक्षीको रुपमा आफूलाई उभ्यायौँ। सरकारलाई हामीले प्रश्न गर्‍यौँ। केपी ओली प्रधानमन्त्री पनि हुन्। प्रश्नहरुबाट उनी भाग्न सक्दैनन्।

हामीले उठाएका प्रश्नहरु आम जनताका आवाजहरु हुन् । जनताको आवाजको प्रतिनिधित्व नगर्नु सञ्चार क्षेत्रबाट हुने सबभन्दा ठूलो अपराध हो। वाइडवडी, ओम्नी, यति, प्रिन्टिङ प्रेस केही प्रतिनिधि विषयमात्र हुन्।

संसद विघटन अर्थात जनप्रतिनिधि संस्थाको अभावमा हाम्रो जिम्मेवारी झन् बढ्नेछ।

युवाहरुको बाहुल्य रहेको मुलुकमा नयाँ विचारले पर्याप्त ठाउँ पाएका छैनन्। मुलुकको भविष्य हाँक्ने उनीहरु हुन्। त्यसैले ‘प्रश्न’ गर्ने र समस्या समाधानको उपाय सुझाउने दायित्वबाट उनीहरु पछि हट्न मिल्दैन। अन्य छुटेका थुप्रै पक्षलाई हामी समेट्दै जाने कोशिश गर्नेछौँ।

राजनीति यहाँबाट अब कता लाग्ला? संसद विघटनपछि ओलीको राजनीतिसँगै समग्र प्रजातन्त्र र मुलुकको गन्तव्यलाई लिएर मुलुक चिन्तित छ। त्यो चिन्तासँग हामी निरपेक्ष रहन सक्दैनौँ। ओलीमात्र होइन, सार्वजनिक हैसियतमा रहेका सबै हाम्रो प्रश्नको घेरा रहिरहनेछन्।

मिडियाले मुलुकको एजेण्डा निर्धारण गर्ने की राजनीतिले? एउटा प्रश्न सधैँ उठ्ने गर्छ। प्रजातन्त्रमा मिडियाविहीन अवस्थाको कल्पना गर्न सकिन्न।

नेपालमा विदेशी चासो र चलखेल बढ्नु, छिमेकीले आफ्नो एजेण्डासहित वर्चश्व कायम गर्न खोज्नु अनि मुलुक कहिले राइट त, कहिले लेफ्टको कृतिम बहसमा छँदा हामी सबै पक्षका व्यथा र अभिव्यक्ति फिजाउन लागिरह्यौँ। सञ्चारले मेलमिलापसँगै द्वन्द्व व्यवस्थापन र शान्तिमा योगदान पुर्‍याउन सक्छ, विविध पक्षको अडानलाई एक अर्कासँग परिचय गराएर।

युवाहरुको बाहुल्य रहेको मुलुकमा नयाँ विचारले पर्याप्त ठाउँ पाएका छैनन्। मुलुकको भविष्य हाँक्ने उनीहरु हुन्। त्यसैले ‘प्रश्न’ गर्ने र समस्या समाधानको उपाय सुझाउने दायित्वबाट उनीहरु पछि हट्न मिल्दैन। अन्य छुटेका थुप्रै पक्षलाई हामी समेट्दै जाने कोशिश गर्नेछौँ।

सोसल मिडिया अहिले शसक्त छ। सोसल मिडियाको प्रभाव पनि दरिलो छ। यस्तो अवस्थामा पाठकको चाहनाअनुसारका विषय पस्कन सहज छैन। तर सही अवसरमा सही सन्दर्भ र सही ‘इश्यु’ उठाउँदै उदार व्यवसायिक समाचारगृहका रुपमा आफूलाई उभ्याउने हाम्रो प्रयास सधैँ जारी रहनेछ। निषेधको पत्रकारिताप्रति हाम्रो अनुमोदन कहिल्यै हुने छैन।

हामीलाई निरन्तर विज्ञापन दिएर सहयोग गर्नुहुने विज्ञापनदाताहरुलाई धन्यवाद भन्न चाहन्छौँ, निरन्तर सहयोगको अपेक्षासाथ। यस्तै हाम्रा समस्त पाठक, श्रोता एवं दर्शकहरुको सहयोग, सुझाव र भरपर्दो सूचना सामग्री प्रदान गरेर अनि आलोचनामार्फत सधैँ मार्ग निर्देशन दिन हामी अनुरोध गर्दछौँ।

पुस १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्