लेखक नयनराज पाण्डेसँगको अन्तर्वार्ता

‘लेखकले बजारको सोचमा हस्तक्षेप गर्न लेख्ने हो, बजार मनोविज्ञान हेरेर आफू परिवर्तन हुने होइन’

नयनराज पाण्डे नेपाली आख्यान लेखनमा स्थापित नाम हो। उनी अहिलेको समयका सर्वाधिक रुचाइएका लेखक हुन्। कुनै मुद्दामा केन्द्रित भएर आममान्छेका कथा भन्न रुचाउने उनको लेखनीमा विशेषगरी मधेसका मुद्दाहरु सशक्त रुपमा आएको देखिन्छ।

यसअघि उनका ‘उलार’, ‘लू’, ‘घामकिरी’ र ‘सल्लिपिर’ उपन्यास तथा ‘चकलेट’, ‘निदाएँ जगदम्बा’, ‘खोरभित्र जोकर’ कथा संग्रह र संस्मरण ‘यार’ प्रकाशित छन्।

उनी भर्खरै नयाँ कथा संग्रह ‘जियरा’ लिएर पाठकसमक्ष आएका छन्। जियरामा मधेसको राजनीति, समाज, संस्कृति, समाजभित्रका विविध आयामहरु, उनीहरुको दुःख, पीडा र सामाजिक न्यायका लागि उनीहरुको संघर्षलाई समेटेको उनी बताउँछन्।

नयाँ कृति ‘जियरा’ र समकालिन नेपाली आख्यान लेखनको सेरोफेरोमा रहेर लेखक नयनराज पाण्डेसँग गरिएको अन्तर्वार्ताः

तपाईंको नयाँ कृति ‘जियरा’को बारेमा केही बताइदिनुहुन्छ?

नयनराज पाण्डेको नयाँ कृति आयो भनेपछि कतिपयलाई उपन्यास हो कि भन्ने पनि लाग्न सक्छ। यो उपन्यास होइन। कथा संग्रह हो। ‘जियरा’मा मैले पहिले लेखिरहेकाभन्दा लामा कथाहरु समावेश छन्। यसमा अलिकति नयाँ प्रयोग गरेको छु।

मलाई समीक्षकहरुले सामाजिक यथार्थवाद लेख्ने लेखकका रुपमा लिनुहुन्छ। सामाजिक यथार्थवाद भनिसकेपछि एउटा लिमिटेसन निर्माण गरिन्छ, जहाँ धेरै प्रयोगहरु सम्भव हुन्न भनिन्छ। तर, सामाजिक यथार्थवादको धरातल नछोडिकन पनि यसमा धेरै किसिमका कल्पनाशीलता, मिथ, फेन्टासीको प्रयोग गर्न सक्छौँ। त्यो अझै बढी शक्तिशाली हुन्छ।

त्यसले एउटा त कथालाई अझ रुचिकर बनाउँछ, जसले गर्दा सामान्य पाठकलाई पनि कथाले ‘कनेक्ट’ गर्छ। दोस्रो कुरा, कथामा फरक खालको स्टोरी टेलिङ रुचाउने पाठकलाई पनि– हैन, रियालिस्टिक कथामा पनि यो खालको स्टोरी टेलिङ गर्न सकिँदोरहेछ! भन्ने तरिकाले केही प्रयोग गर्न सकिन्छ कि भन्ने मलाई लामो समयदेखि लागिरहेको थियो। यो कथा संग्रहमा त्यही काम गरेको छु।

यसमा समेटिएका कथाका एउटै पात्रका पनि बहुरुपहरु छन्। एउटा पात्र एउटै समयमा अर्को पात्रको रुपमा पनि प्रस्तुत हुन्छ। एउटै कथामा धेरै प्लटहरु प्रयोग गरेको छु। मल्टिलेयर स्टोरी छन्। एउटा प्लटबाट अर्कोमा जाँदा अर्कै कथा हो कि भन्ने पनि लाग्छ। तर कथाको मध्यतिर वा अन्त्यतिर आउँदा ती प्लटहरु एकअर्कामा मर्ज हुन्छन्। यसरी मर्ज हुँदाखेरी कथाको बेग्लै खालको प्रभाव उत्पन्न हुन्छ कि भन्ने मेरो अनुमान हो।

कुनै कथामा वर्तमान पनि छ। पौराणिक समय पनि छ। यो एक किसिमको रियालिटी र मिथहरुको कम्बिनेसन हो।

अर्को के भने, यसमा पूरै मधेसको पृष्ठभूमि छ। कथाहरुमा मधेसको राजनीति, समाज, संस्कृति, समाजभित्रका विविध आयामहरु, उनीहरुको दुःख, पीडा र सामाजिक न्यायका लागि उनीहरुको संघर्षलाई मूल स्वरको रुपमा प्रस्तुत गरिएको छ। त्यसलाई भन्ने स्टोरी टेलिङको टेक्निक चाहीँ फरक बनाएको छु। आफ्नो पूर्ववर्ती लेखनभन्दा फरक गर्न खोजेको छु यसमा।

तपाईंका सर्वाधिक रुचाइएका उपन्यास ‘उलार’ र ‘लू’ पनि तराईं–मधेसकै परिवेशमा लेखिएका छन्। ती कृति पढिसकेका पाठकका लागि ‘जियरा’मा नयाँ के छ?

‘उलार’ र ‘लू’मा भएका विषयहरु त ‘जियरा’मा पक्कै छैनन्।

‘उलार’मा मैले प्रेमकथाको माध्यमबाट २०४६ पछिको राजनीतिले पनि मधेसको जीवनस्तरलाई खासै सम्बोधन गरेन भन्ने हिसाबले लेखेको छु।

अनि ‘लू’मा सीमावर्ती गाउँका दैननदिन समस्यालाई लेखेको छु। र त्यसमार्फत मैले देशको राष्ट्रिय समस्या प्रकट गरेको छु। दुईटैमा फरक छ।

मेरा धेरै कथाहरुमा कतै न कतै राजनीति आइरहन्छ। ‘जियरा’मा मधेस आन्दोलनपछि उठेका धेरै मुद्दाहरु छन्। हामीले आख्यानहरुमा खासै उठाइरहेका छैनौँ। ती मुद्दाहरु यी कथामा उठेका छन्। नागरिकताका समस्या, समावेशीताका कुराहरु छन्। महिलाका मुद्दा पनि छन्। महिलाहरु मेरा कथामा कमजोर पात्र बनेर आएका छैनन्। आफ्नो बलियो पहिचानसहित आएका छन् या पहिचान खोजिरहेका छन्।

लेख्दै गर्दा मलाई के लाग्यो भने– अहिले पत्रकारिताले पनि धेरै कुराहरुलाई उजागर गरिसकेको छ। हामी जुन दुःखका कुरा लेख्छौँ, त्यहाँभन्दा बढी दुःख त पत्रिकाहरुका फिचरमा आइरहेको छ।

त्यसकारण पाठकको दिमागमा त्यो दुःखलाई अझ गहिरो गरी स्थापति गर्नुछ भने त्यसलाई भन्ने तरिका फरक गर्नुपर्छ, केही सन्दर्भहरु प्रयोग गनुपर्छ, ऐतिहासिक सन्दर्भहरु आयो भने पनि पाठकको दिमागमा अलि फरक किसिमले कथाको छाप पर्छ भन्ने लागेर यसमा मिथहरु प्रयोग भएका छन्। लोककथाहरु प्रयोग भएका छन्। मधेसकै उखानटुक्का र भाषिकालाई मैले प्रशस्त प्रयोग गरेको छु।

‘जियरा’मा मधेस आन्दोलनपछि उठेका धेरै मुद्दाहरु छन्। हामीले आख्यानहरुमा खासै उठाइरहेका छैनौँ। ती मुद्दाहरु यी कथामा उठेका छन्। नागरिकताका समस्या, समावेशीताका कुराहरु छन्। महिलाका मुद्दा पनि छन्। महिलाहरु मेरा कथामा कमजोर पात्र बनेर आएका छैनन्। आफ्नो बलियो पहिचानसहित आएका छन् या पहिचान खोजिरहेका छन्।

आम पाठकमाझ तपाईको छवि जीवन्त रुपमा मधेसका कथा भन्ने लेखकका रुपमा छ। ‘सल्लिपिर’मा मधेसबाट हिमाल चढ्नु भएको थियो। ‘जियरा’मा फेरि मधेसै झर्नुभएको छ। आफ्नो ‘कम्फर्ट जोन’ भएकोले मधेसमै फर्किनुभएको हो?

हो, मधेस मेरो कम्फर्ट जोन हो। त्यसलाई मैले ढाट्न मिल्दैन। तर कम्फर्ट जोन भनेर त्यसमै अल्झिएर बस्न मन लाग्ने चाहीँ होइन। त्यहीँ बस्न मन नलागेरै मैले ‘सल्लिपिर’मा अलिकति फरक किसिमले पनि जानुपर्‍यो भनेर हिमालको कथा लेखेको हुँ।

हामीकहाँ भोगेकै कुरा लेख्ने, देखेकै कुरा लेख्ने। त्यो विश्वसनीय हुन्छ भन्ने एउटा सुत्र बनेको छ। त्यो सुत्रमै हामी अल्झिरहेका छौँ।

विश्वमा हेर्ने हो भने अनुसन्धान गरेर धेरै कुराहरु लेखिएका छन्। स्पेसका विषयमा उपन्यास बनेका छन्। सिनेमाहरु बनेका छन्। त्यो त कल्पनाशिलता हो नि त। यथार्थ मात्रै लेख्छु, यथार्थ नै बनाउँछु भनेको भए त त्यो बन्दैनथ्यो।

मलाई पाठकले यसैमा रुचाएका छन्, प्रशंसा गर्छन् भनेर लेखक आत्मरतिमा रमाएर बस्नुपर्छ भन्ने मलाई लाग्दैन। म चाहीँ त्यो किसिमका सोचहरुलाई अलिअलि भत्काउने कोशिस गर्छुँ।

तपाईंले भनेको ठीक हो। म फेरि मधेस फर्किएको छु। एउटा कुरा सत्य के हो भने म कुनै न कुनै मुद्दामा लेख्न रुचाउँछु।

मधेसको समस्या वर्षौदेखि छ। अहिले पनि समाधान भइरहेको छैन। ती कुराहरुलाई अब पनि सम्बोधन गरिएन भने यसले पछि अझ नराम्रो स्थिति निर्माण गर्छ कि? व्यक्तिभित्र जुन आगो बलेको छ, सल्किएर त्यसले भयाभव रुप लिन धेरै बेर लाग्दैन। समयमै सम्बोधन हुनुपर्छ भन्ने मलाई कताकता लागिरहन्छ। त्यही विचारमा टेकेर मैले यी कथाको सिर्जना गरेको हुँ।

अर्कोकुरा, फेन्टासी मेरो कम्फर्ट जोन होइन नि! तर म के चाहन्छु भने लेखकले आफ्नो प्रयोग गर्नसक्ने सीमासम्म, पाठकलाई कन्भिन्स गर्नसक्ने स्थितिसम्म प्रयोग गर्न छोड्नु हुँदैन। ‘उलार’देखि मेरो लेखनको चर्चा हुन थालेको हो। विशेषगरी उपन्यासको। मैले पहिले पनि कथामा धरै प्रयोग गरेको छु।

‘जियरा’मा मिथहरु, लोककथाहरु सबै छन्। यसमा म कम्फर्ट जोनमा पनि म बसेको छु, प्रयोगको सीमामा पनि पसेको छ।

बजार मनोविज्ञानले लेखकको विषयवस्तु छनोटमा फरक पार्छ?

लेखक पनि एउटा मान्छे हो। ऊ पनि मानवीय स्वभाव र कमजोरीसहितको प्राणी हो। ती कमजोरीहरु मभित्र पनि छन्। लोभ, माया, मोह सबै छन् मभित्र। मेरो किताब बेस्ट सेलर होस्, पैसा कमाओस्, समाजमा नाम होस्, भन्ने कल्पना हरेक लेखकले गर्छ।

तर मेरो सर्त के छ भने लेखकले बजारको धारणा परिवर्तन गर्नलाई लेख्ने हो। बजारको सोचमा हस्तक्षेप गर्नका लागि लेख्ने हो। बजारको मनोविज्ञान अनुसार लेखक परिवर्तन हुने होइन। लेखकलाई बजारले हस्तक्षेप गर्नुहुन्न।

बजारको मनोविज्ञान अनुसार लेख्ने भए म ‘उलार’ र ‘लू’ जस्तै लेखेर बसिरहन्थेँ। तर म त्यो चाहन्नँ। प्रेमका कथाहरु बढी बिक्री होलान् तर म प्रेममा मात्रै सीमित भएर बस्न चाहन्नँ।

मेरो हकमा सोध्नुहुन्छ भने, म पपुलर फिक्सन राइटिङको बाटोमा हिँड्न रुचाउँदिन। मलाई प्रकाशकले यो विषयमा लेख्नुस् भनेर आजसम्म भनेका पनि छैनन्। मुद्दा नभइकन म लेख्दिनँ। त्यहाँ समाज आओस्, व्यक्तिको दुःख आओस्, त्यहाँको अर्थतन्त्र आओस्, त्यहाँको राजनीति आओस्, मनोविज्ञान आओस्। म त्यो चाहन्छु।

मलाई थाहा छ, यस्ता कुराहरु एकदमै हटकेक चाहीँ हुँदैनन्। बजारले वा पाठकले मबाट पपुलर फिक्सनको अपेक्षा पनि राख्दैन। केही न केही गम्भीर कुरा नै आश गर्छन्। गम्भीरताको नाममा फेरि पीडा मात्रै पस्किने सोच बजारको हो भने त्यो सोचलाई म हस्तक्षेप नै गर्न चाहन्छु। त्यसैले बजारबाट गाइडेड होइन कि बजारको धारणालाई मैले चेन्ज गर्ने हो। लेखकले गर्ने पनि त्यही हो।

लेखन त्यतिकै खेर त जाँदैन। सिटामोलले जस्तो आजको भोलि नै असर गरिहाल्छ भन्ने पनि होइन। असरै नगर्ने पनि होइन। साहित्यले समाजमा केही न केही असर त पारेको हुन्छ। त्यो तत्काल देखिँदैन, बेग्लै कुरा हो। शिक्षा, साहित्य, हामीले पढिरहेका वाङ्मयहरुबाटै निर्माण भएको त हो नि हाम्रो सभ्यता।

साहित्यलाई बुझ्ने मान्छे पनि छन्। बजारको घेरोको लागि लेख्नु हुँदैन। मैले के लेख्ने भन्ने कुरामा लेखक स्पष्ट हुनपर्छ। आफू स्पष्ट भएको कुरामा पाठकहरुलाई कन्भिन्स गर्ने प्रयास गर्नुपर्छ। पाठकले, बजारले वा प्रकाशकले भनेर, विषय दिएर, त्यो संवेदनालाई भजाउनको लागि कमसेकम म चाहीँ लेख्दिनँ।

मैले कस्तो कालखण्डमा लेख्न सुरु गरेको हुँ भने त्योबेला किताब हजार कपी पनि बिक्री नहुने अवस्था थियो। पाँच सय कपी छापिन्थ्यो। बढीमा एक हजार। त्यो अवस्था मैले आफैले भोगेके हुँ। मेरा कृति पनि एक हजार कपी छापिएका हुन्। त्यो अवस्थाबाट अहिले पाँच हजार, दश हजार, बीस हजार, चालिस हजारसम्मको चर्चा हुन्छ नि त।

आख्यान लेखनका लागि विषयवस्तुसँगै लेखनशिल्प र कथावाचनको महत्व कति छ? तपाईंका लागि सबैभन्दा बढी कुन कुराले अर्थ राख्छ?

तपाईंले के विषय छान्नुहुन्छ? कस्तो विषयमा लेख्न रुचाउनुहुन्छ? त्यो विषयले आफूसँगै शिल्प र स्टोरी टेलिङका पद्धतिहरु लिएर आउँछ। कतिपय कुराहरुमा हामी कहाँ फेल खान्छौँ भने विषयवस्तुले एउटा खालको टेक्निक खोजिरहेको छ, हामी अर्कोखालको टेक्निक दिइरहेका छौँ भने त्यो मेल खाँदैन। पाठकलाई रुचिकर पनि नलाग्न सक्छ।

विषयले मलाई यसरी अभिव्यक्त गर् भनेर भनिरहेको हुन्छ। पात्र छ भने पात्रले पनि मेरो परिचयलाई यसरी दे, मेरो लवजलाई यसरी स्थापित गर् भनेर आग्रह गरिरहेको हुन्छ। त्यो आग्रहलाई लेखकले बुझ्नु पर्‍यो।

यो चाहिँ वर्षौदेखि लेख्दादेख्दै निर्माण हुने सीप हो। एउटा अभ्यास हो। अभ्यासले गर्दा परिवेशले के खोजिरहेको छ, मेरो कथानकले कस्तोखालको शिल्प खोजिरहेको छ, मेरो पात्रले कसरी अभिव्यक्त हुन खोजिरहेको छ भन्ने कुरा लामो समय लेखिरहेपछि लेखकले आफूभित्रको पात्रसितको सम्वाद गर्ने शैली, कथानकसित अभिव्यक्त गर्ने शैली विस्तारै बुझिसकेको हुन्छ।

महत्वपूर्ण कुरा विषयवस्तु नै हो। भन्न त विषय केही होइन, स्टोरी टेलिङ महत्वपूर्ण हो पनि भन्ने गरिन्छ। स्टोरी टेलिङ दामी छ, तर पढिसकेपछि पाठकलाई मैले के पढेँ? भन्ने लाग्छ भने त्यो त अर्थ भएन नि त। पढुल्जेल त मजा आयो। तर पढिसकेपछि के पढेँ भनेर ऊ आफै सोच्न सक्दैन भने त भएन।

विषयवस्तु अनिवार्य हो मेरा लागि। त्यो विषयलाई मैले कसरी अभिव्यक्त गर्छु, त्यो अर्को कुरा हो। त्यसको प्रभाव चाहीँ मैले विषयबस्तुलाई कसरी अभिव्यक्त गर्छु भन्ने कुराले निर्धारण गर्छ।

पछिल्लो समय पुस्तकको व्यापार ओरालो लागेको छ भनिन्छ। सँगैसँगैे गुणस्तरमाथि पनि प्रश्न छ। एउटा पाठकको आँखाबाट हेर्दा तपाईंलाई के लाग्छ?

पक्कै पनि हो। यसमा पाठकलाई छल्नु पर्ने केही छैन। गुणस्तर बढ्दै गएको भए त बजार पनि बिस्तार हुँदै जान्थ्यो नि त।

मैले कस्तो कालखण्डमा लेख्न सुरु गरेको हुँ भने त्योबेला किताब हजार कपी पनि बिक्री नहुने अवस्था थियो। पाँच सय कपी छापिन्थ्यो। बढीमा एक हजार। त्यो अवस्था मैले आफैले भोगेके हुँ। मेरा कृति पनि एक हजार कपी छापिएका हुन्। त्यो अवस्थाबाट अहिले पाँच हजार, दश हजार, बीस हजार, चालिस हजारसम्मको चर्चा हुन्छ नि त।

अहिलेको समस्या के हो भने लेखकमा आत्मरति पनि विकास भयो। कतिपय लेखकहरुले मेरो उपन्याय यति बिक्यो भनेर गलत डाटा पनि दिनुभयो। दोस्रो कुरा, किताब राम्रो बिक्री भयो भने मैले जे लेखेपनि बिक्री हुन्छ भन्ने धारणा पनि आयो कि लेखकमा? त्यसपछि अर्को कृतिमा त्यो मेहनत, श्रम, सिर्जनात्मकता पो कम गर्‍यो कि उसले?

त्यस सँगसँगै छिटो–छिटो किताब छाप्ने। बजारमा छिटो जाने। प्रकाशकले पनि बजारले पत्याएको लेखकलाई चाँडै बजारमा पठाउन खोज्ने। प्रकाशक त व्यापारी हो नि त। उसले त्यो पाटो पनि हेर्छ। त्यो दबाबलाई पनि थेग्न सकेनन् कि कतिपयले? के थाहा मैले पनि सकिनँ कि? जुन मेहनत सिर्जनामा गर्नुपर्ने थियो, त्यो गरेनौँ कि?

अर्को कुरा, बजारमा के भ्रम सिर्जना भयो भने उपन्यास बिक्री हुन्छ भनेपछि जसले पनि उपन्यास लेख्न थाले। कतिपय आफ्नो मूल विधा नै परिवर्तन गरेर उपन्यास लेखनमा होमिनुभयो। यसरी हठात् आउँदाखेरी बजारले नपत्याएको पनि हुनसक्छ। आख्यान रचनामा हुनुपर्ने कला, रोचकता जसरी सहज ढंगबाट आउनुपर्थ्यो, त्यसरी आएन कि? त्यसले पनि पाठकलाई रुचिकर नलागेको हुनसक्छ।

राम्रो पक्ष के हो भने आख्यानहरुमा विषयवस्तु विविध किसिमले आएको छ। तर त्यो विषयवस्तु विश्वसनीय रुपमा आयो कि आएन भन्ने कुराले बजारको समस्या निर्माण भएको हो। उपन्यास मात्र पनि विकल्प होइन। मुख्यकुरा लेखकले मैले के लेख्ने? मैले के दिने समाजलाई? पाठकलाई म के पढाउन चाहन्छु भन्ने कुरामा ध्यान दिने हो।

यसैबीच मलाई के लाग्यो भने– दुनियाँ उपन्यासतिर लगिराछन्, म फेरि कथामै केन्द्रित हुन्छु भनेर दुई चार वर्षदेखि कथा मात्र लेखिरहेको छु। मेरो दिमागमा उपन्यासको ह्याङ छैन।

एक्कासी आउँदा कतिपयलाई बजारले नपत्याएको हुनसक्छ भन्नुभयो। तर बजारले पत्याएका, स्थापित भइसकेका लेखकले पनि ‘बेस्ट सेलर’ बन्ने होडमा शब्द थुपारेर किताब बजारमा पठाउन थाले भन्ने आरोप छ नि?

त्यो पनि हुन सक्छ। लेखकले आफ्नो सीमा निर्धारण गर्न सक्नुपर्छ। मैले लेख्नुपर्ने कुरा के हो भन्ने कुराको प्राथकिता तय गर्नुपर्छ। त्यो भएन भने बजारको लहलहैमा लाग्ने स्थिति हुन्छ। बजारको हावासँगै लेखक बहन थाल्छ। लेखन त हावाको विपरित हुनुपर्ने हो भन्ने मलाई लाग्छ।

समस्या के पनि हो भने, कुनै उपन्यास हिट भयो भने त्यस्तै शैलीका उपन्यास/कथा लेख्ने प्रयास भइरहेको पनि देखिन्छ। त्यस्तो अवस्थामा पाठकले पत्याउँदैनन्। म अर्कोजस्तो बन्छु भनेर हुँदैन। आफैजस्तो बनेर आउनुपर्छ।

त्यस कारण म के हुँ? मेरो सीमा के हो? त्यो चिन्नु पर्‍यो। त्यसैले पनि लेखकले आफ्नो क्षमता बुझिरहनुपर्छ। मैले के लेख्ने भन्ने कुरामा सधैँ क्लियर हुनुपर्छ। अरुले के लेखे भन्नेतर्फ लाग्नु हुन्न। आफूलाई चिन्नतर्फ लाग्ने हो, बजार चिन्नतिर लाग्नु भएन। त्यो समस्याले गर्दा पछिल्लो अवस्था आएको हो।

तर एउटा सुखद् पक्ष के हो भने विभिन्न भेराइटीका विषयहरु आइरहकेका छन्। सबै विषय सबैलाई रुचिकर नहुन सक्छ। त्यो विषयलाई व्यक्त गर्ने शैली रुचिकर भएन भने पाठकले रिजेक्ट गर्नुभयो होला, त्यो आफ्नो ठाउँमा छ।

तर यो कहिल्यै नसकिने बहस हो। म भर्खर भर्खर नेपाली साहित्यमा आउँदा पनि थियो यस्तो बहस २०४४/०४५ सालतिर।

कतिपय कुरा तुरुन्तै जजमेन्ट गर्न नसकिने पनि हुँदोरैछ। कतिपय हाम्रा आग्रह, पूर्वाग्रहहरुले गर्दा। एउटा कालखण्डमा पुगियो भने त्यो सबै चिजबाट मुक्त भएर हेर्न सकिन्छ। २० वर्षपछि आजको समयलाई फर्केर हेर्दा ०६० र ०७० को दशकमा त गजब आख्यान आएका थिए भन्ने पनि लाग्न सक्छ। राम्रो भएछ कि नराम्रो भनेर अहिलेको समयलाई हेर्न अलिकति पर पुग्नुपर्ने रहेछ।

कुनै आख्यान सार्वजनिक भयो भने सामाजिक सञ्जालहरुमा, साहित्यक बहस, छलफलहरुमा लेखकले छानेको विषयबस्तुमाथि चर्चा परिचर्चा हुन्छ। तर उसको लेखनशिल्प, सिर्जनशिलतामाथि खासै बहस भएको देखिँदैन। के लेख्नु भनेको विषयबस्तु मात्रै हो र?

यो विषयमा हामीकहाँ बहसै भएको छैन। हाम्रो समस्या भनेको समालोचनाको समस्या हो। कुनैबेला नेपालको समालोचना एकदमै बलियो थियो। त्यतिबेला बासुदेव त्रिपाठी, तारानाथ शर्मा, कृष्णचन्द्रसिंह प्रधानजस्ता व्यक्तिहरु हुनुहन्थ्यो समालोचनामा। उहाँहरु रचनाको शक्तिलाई पहिचान गर्नुहुन्थ्यो र त्यसलाई स्थापित गरिदिनुहुन्थ्यो।

अहिले हामी कहाँ के भइरहेको छ भने सोसल मिडिया छ। पाठकहरु हुनुहुन्छ। सोसल मिडियामा आउने कमेन्टहरुलाई हामीले समालोचना भन्न सकिँदैन। अहिले समालोचना मौन छ। राम्रो कृति कुन हो, नराम्रो कुन हो भनेर छुट्टिरहेको छैन। त्यसमा प्राज्ञिक किसिमले बहस भइरहेको छैन। त्यो प्राज्ञिक बहसमा नआउञ्जेलसम्म साहित्यको गति पनि देखिँदैन। हामी कुन स्थानमा छौँ भन्ने देखिँदैन।

पत्रिकामा आउने सानातिना समीक्षालाई हामी समालोचना भनेर बसिरहेका छौँ। लेखक पनि आत्मरतिमा रमाएर बसिरहेको अवस्था छ। समीक्षाले हुँदैन, समालोचना हुनुपर्छ साहित्यको।

विषयवस्तु त महत्वपूर्ण भइहाल्यो, शिल्प र शैलीले त्यसलाई उजिल्याउने हो। जसले गर्दा पाठकको दिमागमा लामो समयसम्म रहिरहन्छ। पाठकको दिमागमा रहने विषयवस्तु मात्रै हो। शिल्पले पाठकलाई आकर्षित गर्छ। विषयबस्तुलाई २० औँ वर्षसम्म दिमागमा राखिदिन्छ। कालान्तरमा शिल्प बिर्सिन्छ तर विषयवस्तु रहन्छ। त्यो अमिट भएर किन रह्यो भने शिल्पले दिमागमा राखिदियो।

चाहिने विषयवस्तु नै हो। अहिले विषय विषयवस्तु त आएका छन् तर शिल्पले दीर्घकालिन रुपमा पाठकको दिमागमा त्यो रहला कि नरहला भन्ने चिन्ता हो।

पात्रको अनुभूति कति महत्वपूर्ण हुन्छ लेखकका लागि? नेपाली आख्यानमा पात्रको अनुभूति कत्तिको आइरहेको छ जस्तो लाग्छ तपाईंलाई?

सिंगो आख्यानमा हुनपर्ने नै पात्रको अनुभूति हो। समस्या कहाँ हुन्छ भने– लेखकले जब आफ्नो अनुभूति प्रकट गर्न चाहन्छ। जब पात्र कम र लेखक बढी बोल्न थाल्छ समस्या त्यहाँ हुन्छ।

त्यसकारण लेखन भनेको साधना किन हो भने यी सबै कुराहरु रातारात बुझिँदैन। यसका लागि साधना चाहिन्छ। लेख्ने अभ्यास चाहिन्छ। पात्रलाई अभिव्यक्त गर्ने शैली निर्माण हुनुपर्‍यो पहिला। त्यसपछि तपाईंले कुनै पात्र क्रियट गर्नुभयो भने उसले आफ्नो कथा बताउँदै जान्छ।

हामीकहाँ कतिपय कुरा पढ्दाखेरी मलाई पनि हुन्छ– त्यहाँ पात्रले होइन, लेखकले आफ्नो धारण राखिरहेको छ। हामी लेखक के गर्छौँ भने पात्रलाई विचरा बनाएर सुरुमै स्थापित गर्न खोज्छौँ। ऊ कसरी विचरा हो त्यो देखाउँदैनौँ। खाली शब्दमा विचरा लेखेर आफ्ना कुराहरु राख्छौँ।

कुनै रचनाले छोएन भने बुझ्नुपर्ने कुरै त्यही हो– त्यसमा पात्रले आफ्ना कुराहरु राम्ररी अभिव्यक्त गर्न सकेन। लेखक हाबी भयो। जुन कुरा घटनाक्रमबाट, परिवेश चित्रणबाट अभिव्यक्त हुनुपर्ने हो, त्यसलाई न्यारेसनबाट स्थापित गर्न खोज्यो लेखकले भन्ने बुझ्नुपर्छ।

हामीलाई आज कुनै कथाहरु याद छन् भने त्यो पात्रहरुको गतिविधिहरुको कारणले याद भएको हो। पात्रहरुले कसरी आफ्नो कथा भने त्यो कारणले याद भएको हो। कतिपय कुराहरु तत्कालिन समयमा विशिष्ट चर्चा भएर आउँछन्। तर कालान्तरमा किन ओझेलमा पर्छन् भने त्यहाँ लेखकले बोल्यो, एउटा मुद्दा उठायो तर त्यो विषयवस्तुलाई पात्रले बोकेर हिँडेको देखिँदैन।

आख्यानमा त्यस्ता कुराहरु कति कालजयी भएर रहन्छन् भन्ने कुरा कस्ता पात्रहरु उठाइएको छ र ती पात्रले आफ्ना अनुभूतिलाई कसरी व्यक्ति गरिरहेका छन् भन्ने नै हो। मेरो प्रयास जहिले पनि कथामा पात्र नै मुखरित भएर आओस् भन्ने हुन्छ। पात्रको अनूभूति र संवेदनालाई व्यक्त गर्न सकिएन भने त्यो प्रभावशाली हुँदैन।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्