पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्छ : बिमला राई

फाइल तस्बिर

काठमाडाैँ- राष्ट्रियसभा सदस्य डा. बिमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छिन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी हुन्।

उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताइन्। उनले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरू जनताको शासक नभई सेवक भएको बताइन्।

राईले भनिन्, ‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अंगहरू जनताका सेवक हुन्, शासक होइनन्। दुई दिन अगाडिमात्रै हो, एकजना मन्त्रीले एउटाकार्यालयमा भिसा लिन जाँदाखेरी एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ। उहाँले यसमा सार्वजनिक रूपमा माफी माग्नुपर्छ। राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ तर सार्वजनिक रूपमा माफी माग्नुपर्छ। किनभने हामी सेवक हौँ। शासक होइनौँ। यो कुरालाई स्थापित गर्नुपर्छ। यो एकजना गार्ड र एकजना मन्त्रीको मात्रै कुरा होइन। यसमा सरकारले तुरुन्तै ध्यान पुर्‍याओस्। र, यो खालको घटना फेरि नदोहोरियोस्
भनेर पनि म सरकारप्रति माग गर्न चाहन्छु। र मन्त्रीले सार्वजनिक रूपमा माफी मागुन् भनेर पनि माफी माग गर्न चाहन्छु।’

भदौ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्