देशले फेरि पनि हार्‍यो

फेरि पनि देशले हारेको छ ! घात–प्रतिघातको प्रश्न–प्रतिप्रश्न उठिरहेको छ ।

अहिलेसम्म असल देखिएका धेरैले जिते । धेरै नयाँ अनुहार आए । सबै नयाँ अनुहारलाई मतदाताले असल माने । नयाँ दल आयो । नयाँ दललाई पनि स्वागत गरियो । तर फेरि पनि घात भएको छ। कसले गरे सबैभन्दा ठूलो घात ? प्रश्नको उत्तर खोज्ने छु ।

यसअघि एकछिन् निवर्तमान निर्वाचन परिवेशमा विचरण गरौं ।

निर्वाचनको मतगणनासँगै घण्टीको आवाज सुनेर धेरै तर्सिए । धेरै झस्किए । तर्सिने र झस्किने पङ्तिमा ठूला दलका ठूला नेता र कार्यकर्ता नै बढी थिए । धेरै जनता पनि छक्क परे । त्यो शिलशिला यद्यपि छदैंछ ।

चुनाव चिन्ह घण्टी लिएर केही महिना अघिमात्र होमिएको हो राष्ट्रिय स्वतन्त्र पार्टी । यो पार्टीका नेता र शुभेच्छुकका लागि पनि प्रारम्भिक परिणाम अप्रत्यासित जस्तो भयो ।

अनुमान र अड्कलबाजी अनेक छन्, चलिरहेका छन् । त्योभन्दा बढी एकअर्काप्रति दोषारोपण र गालीगलौजको सिलसिला पनि चल्न थालेको छ । सामाजिक सञ्जालमा बाढी आएको छ, घण्टीको लहर कसरी आयो ?

यसको एक प्रमुख कारण थियो, बीसौं वर्षदेखि जनतामा गुम्सिएको आक्रोश । घण्टीमा गएर ठोक्कियो । मतमा अभिव्यक्त भयो ।

अर्को कारण थियो, सधैंको निराशलाग्दो नेतृत्व ! आजित युवा पिंढीले आफूजस्तै युवा अनुहार र जोस राजनीतिको मैदानमा दौडिएको देखे । त्यो निराशालाई आशामा बदल्ने मौका यही हो भन्ठाने। पुराना पार्टीका घोषणापत्रलाई ‘डस्टबिन’ मा हाले । भोट नयाँ पार्टी र युवापङ्तिलाई खन्याए ।

घण्टीलाई यो सफलता दिलाउन ठूला दलका ठूला नेता र छुद्र कार्यकताको योगदान पनि कम देखिँदैन ।

‘कोही बिमारी जाँच्नु पर्ने त्यो छोडेर यता आएछन् । कोही टेलिभिजनमा समाचार–समाचार भन्नु पर्ने त्यो छोडेर यता आएछन् । कोही के गर्नु पर्ने, कोही के गर्नु पर्ने, चिन्नु न जान्नु । नचिनेको मान्छे कता हिँड्या हो थाहा छैन । घण्टी बजा’छन् । बाटो सोध्या’छन् कता हो कता हो,’ केपी ओली तारन्तार होच्याइरहेका थिए।

‘के राजनीति मजाक हो ?’

आजसम्म मजाक नै गरिरहेका केपी ओलीले उमेरमा नातिनी सरहकी डा. तोसिमा कार्की र रास्वपाका अध्यक्ष रवि लामिछानेप्रति गरेको खिसिट्युरी आफैंमा लज्जास्पद थियो ।

यस्तो शैलीलाई बोलीचालीको भाषामा ‘बक्बकाउने’ भनिन्छ । ओली बक्कबकाइरहँदा ताली बजाउने र हुटिङ गरेर ओलीलाई उक्स्याउने प्रतिस्पर्धा पनि चलिरह्यो । कार्यकर्ता खुसी मनाइरहेका थिए । ओलीले सायद आफूलाई शौर्यवान ठानिरहे ।

तर शौर्यवान त्यो हो, जसले आफ्नो विचारको तेजले अरूको मस्तिष्कमा उज्यालो भर्छ । ‘ओली ब्राण्ड’ मस्तिष्कले कहिल्यै न बुझ्न सक्यो । न बुझाउन सक्यो ।

आफ्नै देशका शिक्षित युवालाई ‘चिन्नु न जान्नु’ भन्नु, ‘नचिनेको मान्छे’ भनेर होच्याउनु नै ओलीको राजनीतिक भाषण भयो ।

रास्वपाका नेता कार्यकर्ताको अस्वित्वलाई होच्याउने, गिज्याउने, गिल्याउने, दुत्कार्ने र घण्टीलाई अस्वीकार गर्ने घटिया क्रम राजनीतिको फोहोरी मैदानमा चलिरह्यो । त्यसमा सबैभन्दा अगाडि नेकपा एमालेका कार्यकर्ताका ‘राजनेता’ केपी ओली अर्थात खड्गप्रसाद ओली नै थिए । सधैं र सबैलाई जस्तै घण्टी चिन्हका नेताहरुलाई हेप्न र होच्याउन कहिल्यै बाँकी राखेनन्।

यो मामलामा ओलीको तुलनामा पुष्पकमल दाहाल प्रचण्ड निक्कै शालिन देखिए। उनले ओलीको आक्रमणको प्रतिरक्षामै धेरै समय खेर फाले । बाँकी समय ओलीप्रति आक्रमण गरेरै बिताए । समय पाएनन् ।

झन् शेरबहादुर देउवाको दोष के देखाउनु ? विचरा भनेर चित्त बुझाउनुबाहेक।

तर यी ‘शीर्षनेता’ले यो सोच्न सकेनन्, यी युवायुवती किन राजनीतिमा आए? यत्रो आँट कसरी गरे ? हामीसँग किन असन्तुष्ट भए? कमजोरी कहाँ भइरहेको छ ?

नसक्नुको कारण एउटै थियो,जनताको असन्तुष्टिलाई सधैँ दबाउने र उडाउने । ‘हाच्छिउँ’ गरेर कोरोना उडाएजस्तै !

अहिले पनि भनिदैंछ, ‘नयाँ दलले पाएको मत विश्वासको मत हैन ।’

तर मतदाताले जसलाई मत दिन्छ त्यही मत विश्वासको मत हुन्छ, यदि लोकतान्त्रिक पद्धतिमा गल्ती छैन भने ।

दल, दलका नेता र कार्यकर्ता पछि राजनीतिक विश्लेषक भनाउँदाको प्रहार पनि घण्टीले निक्कै सहनु पर्‍यो। उनीहरूको अस्तित्वलाई स्विकारे सानो हाेइन्छ भन्ने रोगको लक्षण विश्लेषकले देखाइरहे । हिनभावले हेर्ने उनीहरूका आँखा झन् ठूला भए । तर जतिजति प्रहार भयो, घण्टी भित्रभित्रै उतिउति घन्किन थाल्यो ।

घण्टीको आवाजले युवा मतदातालाई झन् झनै छुन थाल्यो ।

नयाँ दलका नयाँ अनुहारलाई स्थान दिँदा आफ्नो मिडिया सानो हुने रोगले ग्रसित ठूला मिडियाले पनि ‘फेसबुके पाटी’ भनेर नजरअन्दाज गरिरहे । त्यो विभेदलाई पनि उनीहरूले सामना गरे।सामाजिक सञ्जाल नै सबैभन्दा ठूलो मिडिया बनेको तथ्यलाई बुझेनन् ती मिडियाले । तर उनीहरूले बुझेका थिए ।

आत्मरतिमा रमाएका नेताको आक्रमण, विश्लेषकका हेयदृष्टि र मिडियाको हेपाइले देशका युवाकोआत्मविश्वास किञ्चित हल्लाउन सकेन, उल्टो बढायो । सरकारी ‘फण्डा’को डटेर सामना गरे, थाकेर पछि हटेनन् । सबैखाले खिसिट्युरी र वेवास्तालाई वेवास्ता गर्दै उनीहरू लागिरहे, परिवर्तनको ‘मिसन’बोकेर ।

अन्ततः घण्टीले घण्टको आवाज निकाल्यो । लोकतन्त्रमा नागरिक हस्तक्षेप (सिटिजन्स् इन्टरभेन्सन्) भयो ।

नयाँ दललाई सम्मानजनका मत दिलाउन पुराना र ठूला दलका ठूला नेताले ठूलो सहयोग गरे । नयाँ अनुहारले प्रतिनिधि सभामा प्रवेश पाए ।

अहिले पार्टीभित्र र बाहिर अनेकले अनेकलाई दुत्कार्ने, होच्याउने, दोषारोपण गर्ने होडबाजी चलेको छ । तीस वर्षदेखि उही देख्ने आँखा फेरि राष्ट्रिय–अन्तर्राष्ट्रिय तत्वलाई दोषी देख्दैछन् । गच्छे अनुसारको गाली गर्दैछन् । तर आफू, आफ्नो दल र नेताको अकर्मण्यता र मूर्खतालाई अझै देखेका छैनन् ।

शेरबाहादुर देउवाले पाँचौ पटक जित निकाले । डडेलधुराका जनतालाई भेडा भन्ने संख्या कम छैनन् । ओलीको जितको डङ्का बजिसकेको छ । सबैतिर चहारेर गोरखा पुगेका प्रचण्डको जित पक्का भइसकेको छ ।

सामाजिक सञ्जाल असन्तुष्टि र तिक्कता पोख्ने थलोमात्र हैन, मान्छेलाई होच्याउने ‘प्ल्याटफर्म’ पनि भएको छ ।

‘नो नट्अगेन’को ह्यासट्यागमा परेका ओली, शेरबहादुर र प्रचण्डप्रति कटाक्ष र आवेग बढ्दो छ । सामाजिक सञ्जालमा यी नेतालाई पनि देशका लागि ‘घातक’ ठहर्‍याइएको छ ।

देशले जित्ने हो भने यी तिनले पनि हार्नुपर्छ भन्ने मनसायको मत सायद सबैभन्दा बढी थियो । अहिले पनि छ । यिनलाई रोक्न सके देशमात्र हैन, दल पनि दीर्घ दासत्वबाट मुक्त हुने थियो भन्ने मत पनि उत्तिकै बलियो थियो । यद्यपि छ ।

तर यी तीनैले जितिसकेका छन् । किन रोकिएनन् यी?

असहमति अनेक हुन सक्छन् । असहमति पोख्न कारण र तर्क चाहिँदैन । नेपाली राजनीतिक पाठशालामा यस्तै सिकाइन्छ । जे सिकेको छ मान्छेले त्यही गर्छ । मेरा विचारमा अनेकका अनेक असहमति हुन सक्छन् ।

यी रोकिन्थे तर दोष मतदाताको हैन । दोषी अरू नै छन् ।

आजित युवा पिंढीले आफूजस्तै युवा अनुहार र जोस राजनीतिको मैदानमा दौडिएको देखे । त्यो निराशालाई आशामा बदल्ने मौका यही हो भन्ठाने। पुराना पार्टीका घोषणापत्रलाई ‘डस्टबिन’ मा हाले । भोट नयाँ पार्टी र युवापङ्तिलाई खन्याए ।

ओलीबाट सुरू गरौं,

विचारभन्दा माथि देश राख्नेहरू भएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निजी स्वार्थभन्दा माथि देश राखेको भएओली रोकिने सम्भावना थियो  । ओलीलाई जिताए आफ्नो जित निश्चित हुने लिङ्देनको भित्री मन कसले कति बुझे ? लिङ्देन–ओलीको ‘म्याचफिक्सिङ्’लाई भुईँतहका मतदाताले कसरी बुझुन्?

दोस्रामा प्रचण्ड,

संसारको जुनसुकै क्षेत्रबाट पनिअसफल हुने देखेपछि प्रचण्ड गोरखा पुगे । बाबुराम भट्टराईले इमान नबेचेको भए प्रचण्डको विषाक्त राजनीतिमा पूर्णविरामलाग्ने थियो ।

प्रचण्डलाई हिजोसम्म ‘घातक’ भन्दै आएका बाबुरामका लागि नै अन्ततःयो चुवान सबैभन्दा घातक भयो । बेवारिसे बाबुरामको निहुरेको शिर अब उठ्छ उठ्दैन, समयले देखाउला ।

विचारशील नेता भनेर चिनिएका बाबुरामको अप्राकृतिक साँठगाँठले प्रचण्डलाई फेरि एकपटक जितायो । सत्तारोहण–अवरोहणको फोहोरी खेलमा सामेल हुने बाटो गोरखाले खुलायो । बाबुरामभन्दा अर्को नेता नचिनेका गोरखाका सोझा जनताले उनको यो जालझेल कसरी बुझुन् ?

तेस्रोमा शेरबहादुर,

अथाह आँट, डरलाग्दो साहस र बलियो विश्वास बोकेर डडेल्धुरा पुगेका सागर ढकाललाई विद्रोही कांग्रेस कर्ण मल्लले मनसा–वाचा–कर्मणा सहयोग गरेको भए देउवाको अविजित यात्रामा पर्खाल लाग्ने थियो, सधैंका लागि ।

मल्लले आफू जित्ने सपनामात्र देखे तर देउवालाई रोक्ने उपाय सोच्न सकेनन् । महाभारतमा कर्णले दुर्योधनलाई सहयोग गरेजस्तै डडेल्धुरामाअर्का कर्णले परोक्षत: देउवालाई सहयोग गरे । देउवा पछि पहिलो पटक एउटा ठिटो, सागरको अनुहार देखेका डडेलधुराका जनता दोषी छैनन् ।

शत्रुता र मित्रता! राजनीतिमा शत्रुता र मित्रताको मापन स्वार्थको तराजूमा गरिन्छ । सबैभन्दा बढी व्यक्तिगत, त्यसपछि गुटगत र त्यसपछि मात्र पार्टीगत । देश सधैं गौण !

सधैं त्यही स्वार्थले जितिरह्यो, देश सधैं हारिरह्यो । यसपालि पनि हार्‍यो।

twitter @Shivaprakash_NP

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्