बालकृष्ण सिलवाल शर्मा

कैलाश मानसरोवर दर्शन, पोटाला– ल्हासा, सगरमाथा बेसक्याम्प आदिको दर्शन तथा भ्रमणको लागि हामी २३ जना सहभागीहरु पूर्वघोषित कार्यक्रम मुताबिक नै भदौ १८ गते सोमबार काठमाडौंबाट रसुवा हुँदै केरुङतर्फ प्रस्थान गर्‍यौँ। यात्राको सहजीकरणका लागि नेपालतर्फबाट सन्नी होलिडे ट्राभल्सले नोर्बु र छेवाङ भाइहरूलाई जिम्मा दिएको थियो। बिहान हामीहरू सबै तोकिएको समयमा नै “ला हिमालय होटल” लाजिम्पाटमा जम्मा भयौँ र छ बजेतिर काठमाडौं–टिमुरे रुटकै एउटा गाडीमा केरुङका लागि बाटो लाग्यौँ। सबैमा एक किसिमको उल्लास तथा कताकता त्रास मिसिएको मानसिकता थियो। गाडीभित्र घन्किएका मायापीरतिका गीत, बाहिरको चिसो हावा, हरियाली पहाडी शृंखला र ओशो सन्यासी यात्रीहरू भएपछि यात्रा झन् उल्लास र उमङ्गले भरिने नै भयो।

सबैका अनुहारमा मुस्कान, बाटोको कारण गाडीले जति थेचारे पनि खासै वास्ता नगरी बीचमा चियानास्ता खाएर हामी १ बजेतिर टिमुरे पुग्यौं। चीन र नेपाल बीचको समय झन्डै सवा २ घण्टा फरक हुने हुँदा र भन्सार कार्यालय ५ बजे नै बन्द हुने भएकाले हतारहतार खाना खाएर नेपालतिरको भन्सार प्रक्रिया पूरा गरी चाइना तिरको भन्सारको लाइनमा बस्यौं। भन्सारमा हाम्रो यात्रा अवधिभर सहजीकरण गर्ने तिब्बततर्फकि एकजना गाइड लाजिमो आइन् र हाम्रो भन्सारको सबै प्रक्रिया पूरा गर्न सहयोग गरिन्। लाजिमोको नाम हामीले पार्वती राखिदियौँ र यात्राभरि उनलाई पार्वती नै भनेर बोलायौं। चाइना तर्फको भन्सार चेकिङचाहिँ अलि कडै हुँदोरहेछ। झोला पर्सदेखि लिएर मोबाइल भित्रका फोटो इन्फर्मेसन सबै हेर्ने गरेको पाइयो। भन्सार पार गरेर चाइनातर्फ छिरेपछि लाजिमो र उनको टिमले लामोलामो सेतो रङको खादा ओडाएर सुखद यात्राको कामना गर्दै हाम्रो टिमलाई स्वागत गर्‍यो। त्यसपछि केरुङको लागि बाटो लागियो। पछाडि इन्जन भएको गाडी र फराकिलो चिल्लो सडक हुँदै अघि बढ्दै गर्दा अबको १२ दिनको यात्रा बाटो र गाडीको कारणले चाहिँ सुखद हुनेछ भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो। साँझ केरुङको होटलमा बास बसियो। उचाइ ३३०० मिटरभन्दा माथि भएपनि अल्टिच्युडका कारण कसैलाई केही भएन। हामीसँग आफ्नो कुक थिएन र अबका दिन चाइनिज खाना खान मानसिकरुपमा तयार थियौं। यद्यपि हामीसँग ड्राई फुड्स र अन्य गुलिया मिठा परिकार चाहिं प्रशस्ति नै थिए।

यात्राको दोस्रो दिन हाम्रो यात्राको नेतृत्व लाजिमाले गर्नेछन्। लाजिमो अर्थात् पार्वती छरिती ४५/५० वर्षकी महिला हुन्। यिनको माइती ज्ञात्से शहरमा र घर ल्हासा रहेछ। गतिलो हावा चल्यो भने उडाउँछ कि जस्तो पातलो शरीर भएकी यिनी नेपाली हिन्दी, अंग्रेजी टिबेटियन, चाइनिज सबै भाषा बोल्ने मात्र हैन, सबै भाषामा गीत पनि गाउन खप्पिस रहिछिन्। साँच्चिकै फरासिली यी महिला हाम्रो छोटो तिब्बत यात्रा कि अविस्मरणीय पात्र हुन्। लाजिमोको टिममा ठूलो गाडी चलाउने निमा ज्यान परेका भद्र व्यक्तित्व हुन् भने सानो गाडी चलाउने सोनाम मासुम युवा हुन्। लञ्च समयमा केरुङ र त्यसको रमणीय प्रकृतिभित्र हामी चुर्लुम्म डुब्यौँ। आज पनि लन्चमा नेपाली खाना नै खाइयो। हामीलाई थाहा थियो, अबको केही दिन हाम्रो पेट चाइनिज खानामा रमाउने छ भनेर। २ बजेतिर हामी केरुङबाट सागाको लागि हिँड्यौं। गाडी सुरु हुनासाथ निमाले गाडी कुदाउँदै पाठ सुरु गरे। ड्राइभरले आधा घण्टाभन्दा बढी निरन्तर पाठ गर्दै गाडी दौडाउनु हाम्रो लागि पक्कै अनौठो थियो नै। बाटोमा पर्ने एउटा ठूलो झरनामा फोटो तथा भिडियो खिचियो, रमाइलो गरियो र सागाको लागि बाटो लागियो। सागा छयालीस सय ४० मिटर उचाइमा ब्रह्मपुत्र नदीको तटमा अवस्थित सुन्दर शहर हो। केरुङबाट सागा पुग्नभन्दा अघि ५२०० मिटरको ला लुङ्गला पास पार गर्न पर्छ। ला लुङ्गला पासबाट गौरीशङ्कर र लाङटाङ हिमाल शृंखला नजिकै देखिन्छ। कम उचाइबाट माथिल्लो उचाइमा जाँदा शरीरमा आउने परिवर्तन र कष्ट आजको लागि चुनौतीपूर्ण रहने कुरामा हामी सबै मानसिक रुपमा तयार नै थियौं। मानसिक रूपमा सशक्त बन्न हामी बीचबीचमा भुटेका मकै, कागती, लस्सीका माडा, तितौरा खाने पानी प्रशस्त पिउने गर्थ्यौँ। गाडीभित्र समय सहज बनाउन गीत गायौ। ला लुङ्गला पास चढ्दै गर्दा त रेशम फिरिरी खूब गायौँ। सागा पुग्नुभन्दा अघि रुप विहिन डाँडा हुँदै डाँडाहरुको बीचमा केही साना साना चौर, त्यहाँका याक, चौंरी च्याङ्ग्रा हरुको चरण हेर्दै रमाउँदै अघि बढ्यौं।

बाटोमा केही समयका लागि गाडीबाट बाहिर निस्कँदा कसैलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, कसैलाई स्वास फेर्न गाह्रो भएजस्तो त कसैलाई वान्ता नै हुन सुरु भयो। केही साथीहरुलाई यो खास केही पनि होइनजस्तो लाग्यो। पुनः गाडी चढेर हामी साँझ सागा पुग्यौं। रातिको बसाइमा सबैले केही कठिनता अनुभव गरे तापनि कसैलाई कुनै त्यस्तो गाह्रो भएन। होटलका सबै कोठामा अक्सिजन र ह्युमिडिटी कम गर्ने यन्त्र थिए। मानसरोवर नपुगुन्जेल कसैलाई पनि नुहाउन अनुमति थिएन। नुहाउदा अल्टिच्युड चाँडो लाग्छ भनेर हामीलाई ओरिएन्टेसनमा भनिएको थियो। खासमा छोटो समयमा दौडाएर त्यत्रो उचाइमा लानु नहुने भन्ने कुरा अर्को कैलाश होलिडेको गाइडले भन्नुहुन्थ्यो। केरुङदेखि सागा ८–१० घण्टा लगाएर जानु पर्थ्यो रे। बीचमा रोक्दै रोक्दै बढी हाइट भएको ठाउँमा केहीबेर रोक्दै लगेको भए अझ राम्रो हुने उहाँको सुझाव थियो। छोटो समयमा दुरी पार गरे तापनि सौभाग्यवश सागा पुगुन्जेल हाम्रो यात्रा समूहका सबै साथीहरू सकुशल रह्यौं र अल्टिच्यूटको हिसाबले अब कसैलाई त्यति गाह्रो नहुने हामी सबैलाई महसुस भइसकेको थियो।

यात्राको तेस्रो दिन बिहानको ब्रेकफास्ट सकियो। आज सबैको मन फुरुङ्ग छ। सफा मौसम, घमाइलो दिन अनि जन्माष्टमीका दिन हामी मानसरोवर पुग्दै थियौं। दोस्रो कुरा सागाको अल्टिच्युट पचाइसकेपछि मानसरोवर पनि सोही उचाइमा भएकोले खासै स्वास्थ्यमा समस्या नआउला भनेर अनुमान गर्न सकिन्थ्यो। मनमा अलिकति पिरलो चाहिं के थियो भने आजको यात्रा लगभग ९ घण्टा र आजको खानपान र सुताइ त्यति सहज नहुने हामी सबैलाइ अवगत थियो। मानसरोवरमा हामीले आजको रात धर्मशालामा दुःख पूर्णरुपले कटाउनुपर्ने अवस्था थियो। हामीले बिहान ९ बजे यात्रा सुरु गर्यौं। चिल्लो बाटो, घमाइलो दिन, ओशो भजन तथा प्रवचन र बीचबीचमा जोक, हाँसी मजाकले वास्तवमा यात्रालाई जीवन्त तुल्याउन महत्वपूर्ण योगदान रह्यो। आजको खाना अलि ढिला हुने जानकारी लाजिमोले सबैलाई गराइसकेकी थिइन्। बाटोमा एउटा सहरबाट अर्को सहर पुग्न ३-४ घण्टाको यात्रा तय गर्नु पर्दो रहेछ। बाटोघाटो र बिजुली बत्तीको राम्रो व्यवस्था भए पनि उब्जनी योग्य जमीन नभएपछि मानववस्ती नहुनु स्वाभाविकै हो। त्यसमाथि बस्ती विकासमा चाइनाले कडा नीतिको अवलम्बन गरेको रहेछ। बीचबीचमा सानासाना छरिएका बस्तीहरु कमै पाइयो। केही चौंरीगोठ, भेडीगोठ बाहेक खासै त्यस्ता बस्तीहरू देखिएन। ट्वाइलेट र त्यसमा पनि सार्वजनिक ट्वाइलेटमा पानी प्रयोग नहुने यहाँको मूल समस्या रहेछ। त्यहाँका ट्वाइलेटमा जानुभन्दा खुला ठाउँमा बस्नु उपयुक्त मानिँदो रहेछ र त्यसै अनुसार लाजिमोले हामीलाई खुल्ला चौरमा नै जानालाई जोड दिन्थिन्। जाडोको कारण दिसा पिसाब नगनाउने तर सार्वजनिक ट्वाइलेट चाहिँ साह्रै गन्उने पाइयो। प्रायजसो लाजिमोले खाना खाने ठाउँ पुग्न भन्दा १५-२० मिनेट अघि खाली चौरमा हामीलाई दिसापिसाबको लागि गाडी रोक्ने गर्थिन्। हामी पनि नदी किनार वा चौरमा गाडीको एकापट्टि पुरुष र एकापट्टी महिला छिरोलिन्थ्यौं। हामीहरु मानसरोवरको इन्ट्री पोइन्टमा पुग्यौं। यहाँ भन्दा अघि हाम्रो गाडी जाँदैनथ्यो। मानसरोवर परिक्रमा तथा यमद्वारसम्मको यात्रा यहाँको स्थानीय विद्युतीय बसले गराउने रहेछ। हामी अर्को बसमा प्रवेश गर्यौं र मानसरोवरको यात्राको सुखद अनुभूति र आनन्द बटुल्दै अगाडि बढ्यौं। गाडीबाट पानीभित्र पानी हास, बाहिर चौरमा कस्तुरी मृग एवम् शुद्ध र अति रमणीय वातावरणमा विचरण गर्दै हामीले मानसरोवरको जल प्रसादको रूपमा आआफ्ना बोतलमा पानी भर्यौं। मानसरोवर र राक्षस तालको एउटै पोइन्टबाट दर्शन गर्यौं। धेरैभन्दा धेरै फोटो भिडियोहरु खिच्यौँ, नाच्यौं, गायौं र खुब रमाइलो गर्यौ। बेलुका सोही गाडीबाट बासस्थान पुग्यौँ। वासस्थान मानसरोवरको धर्मशाला हो र यहाँको ट्वाइलेटको प्वालमा मान्छे छिर्ने भ्वाङ्ग नै रहेछ। सोलार बिजुली भएकोले यसको ठेगान हुँदैन कतिखेर बत्ती जान्छ भनेर। यहाँ ५–६ जना मिलेर सुत्ने कोठा रहेछन् र हामी त्यसरी नै आफूलाई व्यवस्थापन गर्यौं। यो पटक इन्डियाबाट मानिसहरुको त्यस्तो ठूलो घुइँचो नभएकाले गर्दा खेरी हामीले सहजै कोठाहरू पायौं। त्यहाँ अन्य समूहहरू पनि थिए। त्यसमध्ये एउटा सद्गुरुको समूह थियो। त्यस्तै गरेर नेपालको विभिन्न भागबाट गएका अन्य मानिसहरुको पनि छुट्टाछुट्टै समूहहरु थियो र उहाँहरुले पनि त्यसै गरेर आजको रात कटाउने काम गर्नुभयो। सबैको ट्वाइलेट साझा थियो र ट्वाइलेटको अवस्था अति नै नराम्रो थियो। अझ बिजुली नहुने हो भने त ट्वाइलेटको भ्वांगमा मान्छे छिर्ने सम्भावना हुन्थ्यो। बेलुकी काठमाडौंबाटै ल्याएको सातु, कडाखालको नान, मह तातो पानी खाएर सुत्यौँ। एकजना मित्रको त कडा नानले दाँत नै भाँचियो भन्ने सुनियो र उहाँ ल्हासा पुगुन्जेल मास्क लगाएर हिँड्नु भयो र अर्को दाँत हाल्नु भएको कथा अझ रोचक थियो। आजको रात सबैलाई कष्टकर हुनु स्वभाविक नै थियो। केही साथीहरुलाई गाह्रो पनि भयो र साँगा हुँदै केरुङ र नेपाल फर्किने योजनाहरू पनि बने। हल्लीखल्ली र अनिँदोबीच रात जसोतसो कट्यो। प्राय ट्वाइलेटको बारेमा सबैको आ आफ्नै अनुमान र अनुभव रह्यो। उज्यालो भएपछि पूजापाठ, ध्यान आदि गर्ने कुराले सबैलाई रोमाञ्चित तुल्याइरहेको थियो।

यात्राको चौथो दिन आज हामीले मानसरोवरमा आफ्नो तरिकाले पूजापाठ तथा आराधना गर्‍यौँ। चिसोले गर्दा नुहाइधुवाइ गर्ने अवस्था थिएन। मानसरोवरमा डुबुल्की मार्न त झन् टाढाको कुरा थियो। चिया नास्ता खाएर हाम्रो समूह पनि मानसरोवर तटमा निस्क्यो। पूजा गर्ने समूहमा हामी दक्षिणपट्टी सबैभन्दा मुन्तिर थियौँ। हामीभन्दा माथि सद्गुरुको समूह ध्यानमा थियो भने त्यो भन्दा माथि नमस्ते ट्राभल्सको एउटा समूह थियो। सबै आआफ्नो तरिकाले पूजा आराधनातर्फ लागियो भने स्वामी आनन्द मैत्रेय हाम्रो पछिल्तिर उभिएर ध्यानस्थ हुनुहुन्थ्यो। यहाँ साकार भक्ति र निराकार साधना दुवैको उपस्थिति थियो भन्दा फरक नहोला। पूजा गरिरहँदा टाढाटाढा बादलका धब्बा थिए, आकाश खुलै थियो, पूजाको २० मिनेटमा मसिनो असिनाको वर्षा भयो। शितल हावाले स्पर्श गर्दै लहरहरूमा ठोकिएको आभास हुन्थ्यो। बिस्तारै सरोवरमा लहर उठ्दै जान्थ्यो, घाम अनौठो ढंगले चम्किदै जान्थ्यो, जीवन धन्य भएको अनुभूति हुँदै जान्थ्यो। यो शरीर पाएकोमा र यो पवित्र भूमिमा पाइला टेक्न पाएकोमा संघ मित्रहरुसँगको यो उपस्थिति, भगवानको त्यो दिव्यताको अनुभूति गर्न पाएकोमा हामी सबैले आफ्नो पितामाता, भाइबन्धु र ईश्वरप्रति धन्यवाद व्यक्त गर्यौं। अहोभाव व्यक्त गर्यौं। अन्तरभावबाट सद्गुरू ओशोलाई धन्यवाद दियौं, नाच्यौँ, गायौं रमायौं र गाडी चढेर दारचेनका लागि बाटो लाग्यौँ। यात्रामा कैलाशको दर्शन भयो। कसैले दरबार, कसैले मयुर, हात्ती, सिंह, त्रिशूल, डमरु, साढे आदिको आकृति हिमालमा देखिएको कुरा गरे। दिउँसो खाना खाएर केही समय आराम गरेपछि ४ बजे हामी यमद्वार प्रस्थान गर्यौं। घमाइलो दिन भएकाले कैलाशको निकटबाट दर्शन पायौं। यमद्वारमा पनि सबै जनाले आ आफ्नो तरिकाले पूजा आराधना गर्‍यौँ, हामीमा तीव्ररुपमा ठोकिएको हावा कैलास तर्फ बहन्थ्यो। सबैजनाले अस्तित्वप्रति अहोभाव एवं सद्गुरु ओशो प्रति आभार व्यक्त गयौँ, नाच्यौँ, फोटो खिच्यौं, रमायौं र पुनः होटलमा फर्कियौं।

यात्राको पाँचौ दिन सागासम्मको लागि ७ घण्टाको थियो। हाम्रा केही बिरामी साथीहरुमा मिरा सिलवाल, देवका आचार्य, गरिमा बञ्जरा, सिता तिमल्सिनाको सागामा पुनः स्वास्थ्य परीक्षण गरी लासा तर्फको गन्तव्यमा सामेल हुने वा सिधै केरुङ हुँदै नेपाल फर्कने भन्ने निर्णय गर्नु थियो। मीरा र सीताजीको स्वास्थ्य परिक्षण गरी औषधी शुरु गरेर ल्हासा जान सक्ने तथा देवका र गरिमाको खास समस्या नबढेकोले सबैजना ल्हासातर्फका लागि मानसिक रूपमा तयार भयौं। वास्तवमा हल्का टाउको दुख्नु, खान मन नलाग्न, हल्का ज्वरो महसूस हुनु, राती निद्रा नलाग्नु आदि सबैमा कुनै न कुनै हिसाबले देखिनु स्वभाविक थियो। अब हामी पूर्वतर्फ लाग्ने र कम उचाइतर्फ जाने एवं सहरी क्षेत्रतर्फको यात्रा गरिने भएकोले खासै समस्या नहुने कुराको अनुमान गर्न सक्थ्यौं। खाना खाएर होटलमा आराम गर्यौं र भोलिको पुन ७ घण्टाको सिगात्सेसम्मको यात्राका लागि तयार भयौं।

यात्राको छैटौं दिन सिगात्सेसम्मको यात्रा हो। हिजो हामी कैलासबाट सागा र आज साँगाबाट सिगात्से जानु भनेको दार्चुलाबाट काठमाडौँ र काठमाडौँबाट सिक्किमसम्म जानु जस्तै हो अथवा दार्चुलाको उत्तरमा कैलाश र सिक्किमको उत्तरमा सिगात्से पर्छ। सागाबाट सिगात्से ५६० किलोमिटर छ र यो ३८०० मिटरको उचाइमा छ। यो ल्हासापछि तिब्बतको दोस्रो ठूलो शहरको रूपमा मानिन्छ। हामी यहाँ १ रात बस्ने र भोलिपल्ट ग्यात्से जाने योजना थियो। सिगात्से भनेकै तिब्बती भाषामा उब्जनी योग्य जमीन हो। यहाँ हरियाली छ। यो ठाउँ जौ उत्पादनको लागि विश्वकै उर्वर भूमि मानिन्छ। यहाँको जौ संसारभरि प्रसिद्ध छ। एघारौँ शताब्दीका धेरै बुद्ध मन्दिरहरु यहाँ छन्। जातजाति र संस्कृतिको धनी सिगात्से वास्तवमा तिब्बतको आकर्षणको केन्द्र हो। लामो यात्रा र थकानका कारण आज हामी नेपाली रेस्टुरेन्टमा आथ्त्यि स्वीकार गरी नेपाली खाना खाएर होटल गयौं र विश्राम लियौं।

यात्राको सातौँ दिन आज बिहान हामीले तिब्बतको प्रसिद्ध मोनास्ट्री तासी लुनपो मोनास्ट्री दर्शन गर्यौं। यो गुम्बा पहिलो दलाई लामाले १४४० मा स्थापना गरेका हुन्। यहाँ जम्पा बुद्धको मूर्ति पनि छ। जम्पा बुद्ध तिबेतियन बुद्धि जन्मा मैत्रीय बुद्ध अथवा भविष्यमा जन्मने बुद्धको रूपमा मानिन्छ। तासी लुनपो तिब्बतका ४ वटा ठुला गुम्बाहरु मध्ये एक हो। एकातिर शहर र शहर को अन्त्यमा पहाडी काखमा अवस्थित यो गुम्बा अति राम्रो छ। ६०००० स्क्वायर मिटरमा फैलिएको यो गुम्बामा प्रवेश गरेपछि हल्का उचाइ चढ्नुपर्ने हुन्छ। तर यहाँको वातावरण, आध्यात्मिक ऊर्जा अनि घन्किए र सुनिने अनहदनादले ध्यान गर्ने जोकोहीलाई पनि ध्यानस्थ अवस्थामा लैजान्छ। हाम्रो टोली गुम्बा प्रवेश गर्नासाथ लगभग मौन देखिन्थ्यो। स्वामी आनन्द मैत्रेयको पछिपछि यो अनुशासित समूहले दर्शन गरियो। एक ठाउँमा पुगेपछि अडिएर अध्यान गयौं। सिगात्सेको तासी गुम्बा दर्शन भ्रमणको क्रममा मैले भने – दलाई लामाले तिब्बत छोडेपछि चीनले तिब्बतको विकासलाई प्राथमिकता दिएतापनि आध्यात्मिकताको जग भने खलबलिएको रहेछ। आध्यात्मिक क्षेत्रमा भने खास विकास हुन सकेनछ। प्रत्युत्तरमा स्वामी मैत्री याले भन्नुभयो – कुनै पनि कुराको नकरात्मक र सकारात्मक दुबै पक्षहरु हुन्छन्। वास्तवमा दलाई लामाले तिब्बत छोडेपछि बौद्ध धर्म संसारमा मौलाएको छ। मानिसहरूले ध्यानलाई जीवनको महत्वपूर्ण पक्षको रुपमा अङ्गिकार गर्दै गएका छन् र अहिलेको संसारमा धेरै मानिसहरुले यसबाट लाभ उठाइरहेका छन्। वास्तवमा तिब्बतको भौतिक विकाससँगै बौद्ध धर्म र आध्यात्मिकताको उही गतिमा विकास भएको छ। तिब्बतका एकताका च्याउसरी बुद्ध पुरुषहरू जन्माउने गुम्बा मन्दिरहरू अहिले पनि उति नै ऊर्जावान र जीवन्त छन्। यो सबैका लागि सकारात्मक पक्ष हो। उहाँले भन्नुभएको कुरा मलाई ठीकै जस्तो लाग्यो।

मैत्रेय मन्दिरको अगाडि आनन्द मैत्रेयजीले एकजना टिमको सदस्यलाई सन्यास प्रदान गर्नुभयो। ओशोको माला लगाउनु वा ओशो सन्यासी बन्नु भनेको धर्म परिवर्तन गर्नु हैन। ध्यानको लागि अथवा अन्तर यात्राको लागि ओशोसँग जोडिनु हो। जीवन उत्सवमय बनाएर जिउने बाटो पहिल्याउनु हो। त्यसकारण धेरै मानिसहरु ओशो सन्यासी बन्ने गर्छन्। घरमा बसेर वा बजारमै रहेर साक्षी भावले जीवन यात्रालाई निरन्तरता दिन्छन्। यो सुवर्ण अवसरको खोजीमा मीरा पनि थिइन्। उनी भन्छिन्— यसपालिको कैलाश मानसरोवर तथा तिब्बतका धेरै बुद्ध मन्दिरको दर्शन यात्राको क्रममा सन्यासीहरुको यो शालिन सङ्गतमा म पनि सौभाग्यले पर्न पाएँ। यात्राको क्रममा हामी सिगात्सेको तासी गुम्बा अन्तर्गत मैत्रेय मन्दिरअघि पुग्यौं। माला भाउजुले माला झिकेर दिनुभयो। आनन्द मैत्रेयले सूक्ष्म रूपमा उपस्थित बुद्ध पुरुषहरू साँची राखेर साथै त्यहाँ उपस्थित बालकृष्ण दाजु. लगायतका अन्य सबैलाई साक्षी राखेर मलाई सन्यास माला प्रदान गर्नुभयो।

आजको हाम्रो गन्तव्य ग्यात्से शहर हो। यो शहर सिगात्सेबाट ९० किलोमिटर पूर्वपट्टी पर्छ। तिब्बतको शहरमध्ये यो तेस्रो ठूलो सहरको रुपमा मानिन्छ। यहाँको मुख्य आकर्षण भनेको कुमबुम स्तुपा, ग्यात्से जोङ किल्ला जहाँ ब्रिटिससँग युद्ध भएको थियो। यसलाई हिरो शहर पनि भनिन्छ। ब्रिटिससँगको युद्धमा १९ सय ४ मा जम्मा ५०० सेनाले ब्रिटिससँग महिनौं लडे। यो सहर चिनियाँ सांस्कृतिक क्रान्तिले धेरै प्रभावित भएको सहर पनि हो। ग्यात्से काउन्टी अन्तर्गत पाँल्चो मोनास्ट्री घुम्ने क्रममा थियौं। आनन्द मैत्रेय, कृष्ण स्वामीजी मलगायत अन्य सन्यासीहरु मोनास्ट्रीमा रहेका पुराना ग्रन्थ, पूजा पद्धति र गुम्बा भित्रको एनजीर्, शान्ति तथा अनहदको गुञ्जनमा समाहित भइसकेका थियौँ। हामीभित्रको शान्तिको तलाउमा आनन्द मैत्रेयले एउटा प्रश्नको सानो ढुंगा फ्याँक्नुभयो।

बुद्धको हालको प्रयोगमा र ओशोले प्रदान गर्नुभएको ध्यानको मार्गमा के तात्विक फरक पाउनुभयो भनेर। धेरै साथीहरुले भन्नुभयो ओशोका सन्यासीहरु जोर्बा दी बुद्ध हुन्। उनीहरुलाइ गुम्बा बसेर ध्यान गर्न आवश्यक छैन। उनीहरु बजारमा, परिवारमा बसेर पनि ध्यान गर्न सक्छन्। मैत्रेय स्वामीजीले त्यतिमात्र होइन भन्नु भयो। मैले भने ओशोको विधामा कर्मकाण्ड र तन्त्रमन्त्र जप कर्म छैनन्। हाँस्दै खेल्दै रमाउँदै ध्यानमा प्रवेश गर्न सकिन्छ। मैत्रेय स्वामीजीले भन्नुभयो— हो आजको युगमा यही नै सहज मार्ग हुन सक्छ। उहाँले यसो भनिरहँदा मेरो मनमा एउटा सहज जिज्ञासा उब्जियो र मैले तत्कालै उहाँलाई सोधिहाले — बुद्धपछि बुद्धकै मार्गमा धेरै बुद्ध पुरुषहरू जन्मिए। तिब्बत पनि त्यस्ता बुद्ध पुरुषहरू जन्माउने एउटा पबित्र भुमि हो। तर ओशोपछि कति बुद्ध पुरुषहरू जन्मिएका छन्, के बुद्ध पुरुषहरू जन्मन समय पर्खन पर्छ। शायद यो प्रश्नले स्वामी आनन्द मैत्रीलाई गहिरोसँग छोएको हुनुपर्छ। उहाँले बाटोमा हिड्दै गरेको एउटा बटुवालाई देखाएर भन्नुभयो, अब बुद्ध पुरुषहरू त्यो मान्छे जस्तो हुनेछ। धेरै त्यस्ता मान्छेहरु हुनेछन् तर चर्चामा आउने छैनन्। सरल र सहज जिन्दगी जिएर पृथ्वीबाट सहज ढंगले बिदा हुनेछन्। अबका दिनमा ध्यानको मार्ग वा बुद्धको मार्ग हिड्न सहज पनि छ र कष्टकर पनि छ। सहज यस अर्थमा छकि उसले कुनै कठिन तपस्या र साधना नगरी घरपरिवार मै बसी बसी केही विधिहरु अपनाएर बुद्धत्व प्राप्त गर्न सक्छ भने कठिन मार्ग अर्थात् उसको बाहिरी संसारले उसलाई त्यहाँ प्रवेश गर्न दिँदैन वा बाहिरी संसारले उसलाई यान्त्रिक बनाइसकेको हुन्छ र ध्यानको मार्ग समात्न र सम्हाल्नै गाह्रो भइसकेको हुन्छ। हो संसारमा बुद्ध पुरुष च्याउसरी जन्मनेछन् र सुटुक्क बिदा हुनेछन्। तपाईं हाम्रो र हाम्रा सन्ततिहरुको सहज बाटो नै यही हुनेछ। मलाई लाग्यो. यो प्रश्नको उत्तर समयले देला। सायद समयले प्रमाणित गर्ला नै।

यात्राको आठौँ दिन हाम्रो यात्राको गन्तव्य यामद्रोक ताल हुँदै ल्हासा सम्मको हो। हामी चिया खाजा खाएर बाटो लाग्यौं। बाटोमा देखिएका मनोरम फाँटहरु, खेतहरु, चरनहरू, हिम शृङ्खला एवम् नदि हुँदै हामी यामद्रोक ताल प्रवेश गर्यौं। यो तिब्बतको तीनवटा ठूला ताल मध्यको एउटा ताल हो। प्राकृतिक छटाको हिसाबले अति सुन्दर मात्र होइन, यो माइग्रेटरी चराहरूको ठूलो बासस्थान पनि हो। बडवाचरहरुको लागि यो ठाउँ महत्वपूर्ण गन्तव्य हो। यो ताल ११० वर्ग किलोमिटर र पैतालिस सय मिटरको उचाइमा छ। ल्हासा जाँदा काम्बला पास बाट यो ताल ज्यादै रमणीय देखिएको थियो। तिब्बती मास्टिक कुकुरहरु, सेता याक, भेडा तथा पानी हांस यहांका अचम्म पार्ने जनावर र पंक्षीहरू रहेछन्। हामीहरु यामद्रोक पुग्नभन्दा अघि अति सुन्दर कोरोला हिमपहिरा, हिम शिखरबाट अघि बढ्यौं। यो लगभग ६००० मिटरको उचाइमा छ। यो ठाउँमा राकिएर हामीले हिमाल नजिकबाट छाम्यौं। हिमनदीमा हातखुट्टा मुख धोयौँ रमाईलो गर्यौ र साँच्चै नै उल्लास र उमङ्गले भरिएको क्षणहरू बितायौँ।

यात्राको नवौं दिन हामी सबैको महत्व र पर्खाइको दिन हो। हामी पोतला दरबार भ्रमणका लागि आतुर थियौं। यो ऐतिहासिक दरबार प्रवेश गर्न ३ ठाउँमा सेक्युरिटी चेक हुँदोरहेछ। पोटला दरबार १३ सय वर्षअघि नेपालका शासक अंशुवर्माका ज्वाइँ भृकुटीका पति सङ्घसेन ग्याम्पो ले बनाएका हुन्। ८७० इस्वी सनमा युद्धका कारण यो दरबार लगभग पूर्णरुपमा ध्वस्त भएको थियो। यहाँ १००० कोठाहरु, दलाई लामाहरूको समाधि मन्दिर, सुन तथा विभिन्न धातुका २ लाखभन्दा बढि बुद्ध मुर्तिहरु छन्। यो दरबार धार्मिक गुरु एवं पूर्व शासक दलाई लामाहरूको हिउँदे समयका लागी बस्ने दरबार हो भने ग्रिष्म समयका लागि यसको तल सम्म मैदानमा दलाई लामाका आफ्ना दरवारहरू छन्। हालका चौधौं दलाई लामा पनि ३ महिना आफ्नो दरबारमा बस्नु भएको रहेछ। हामीहरु सेक्युरिटी प्रक्रिया पूरा गरेर बिस्तारै दरबारभित्र उक्लियौं। हामीहरु सबै म्यारोन गाउनँमा अर्थात् ओशो पहिरनमा माला लगाएर उपस्थित थियौँ र सबै सन्यासीहरु बेलाबेलामा गीत, भजन गाउँदै रमाउँदै हिँडिरहेका हुन्थ्यौं। अन्य पर्यटकहरु हाम्रो भिडियो फोटोहरु खिचिरहेका हुन्थे। एक ठाउँमा हामीहरु बसेर ज्योति से ज्योति जलाते चलो भन्ने गीत गाइरहेका थियौं। १ जना ५० वर्ष जतिकी तिब्बती महिला आएर मलाई ब्रासलेट पहिराइ दिइन्। मैले तुरुन्तै आफ्नो क्याप निकालेर ती महिलालाई पहिराइ दिनुभयो। ती महिला हाम्रो समूहमा केही समय हामीसँगै रमाइन्। वास्तवमा तिब्बतका मानिसहरू अति मिलनसार, प्रेमल र सहृदयी हुँदारहेछन्। हामी दरबार उक्लिदै गयौं। सबै मन्दिर सुन र अलंकारले जडित मूर्तिहरूले भरिभराउ थिए। सायद ल्हासामा सुन छ कान मेरो बुच्चै भनेको यही कारण होला। ल्हासा र वरपर सुनखानी त छैन। सबै सुन नेपाल, भारत, पाकिस्तान आदि देशबाट गएको हुनुपर्छ तर सुन भने प्रशस्तै रहेछ। आनन्द मैत्रेय र समूह सदस्यहरुलाई दरबारभित्रका लामाहरुले विभिन्न रंगका खादा ओडाएर सम्मान दिनुभयो। सायद यो अहिलेको युगका बुद्ध पुरुष ओशोप्रतिको सम्मान होला। उहाँले आशीर्वाद दिनुभयो। सबैमा ध्यान फलित होओस् भन्ने आशय थियो। केही समय ध्यानपछि आजको यो रमाइलो क्षणलाई विश्राम दिँदै हामी होटलतर्फ लाग्यौँ। समयलाई सदुपयोग गर्दै केही साथीहरु किनमेलमा पनि लाग्नुभयो।

यात्राको दशौं दिन हामी जोखाङ टेम्पल र दलाई लामाका गृष्मकालीन दरबारहरुको भ्रमण गर्ने क्रममा रह्यौं। जोखाङ टेम्पल सातौं शताब्दीमा राजा संघसेन ग्याम्पोले बनाएका हुन्। त्यो समयमा उनले भृकुटीसँग विवाह गरी पोखरी पुरेर नेपाली काष्ठकलाका शिल्पीहरू लगेर काठका पिल्लर, झ्याल ढोकाबाट यो दरबार र यहाँको मन्दिर बनाउन लगाएका हुन् मन्दिरको बनावट र कलाकारिता हेर्दा लाग्छ। आजभन्दा १४ सय वर्षअघिको आर्किटेक्ट कति परिस्कृत र उच्च कोटीको थियो भनेर। मन्दिर भित्रको शान्ति, सन्नाटा र मौनताको अवस्थाले के देखाउँछ भने यो ठाउँ बुद्ध पुरुषहरू जन्माउने ठाउँ हो। शान्तिको प्रादुर्भावको केन्द्रबिन्दु हो। यहाँ यात्रापछि हामी नोर्बुलिंगका गार्डेन गयौ। यो तत्कालीन दलाई लामाको अर्को ग्रीष्मकालीन दरबारहरू रहेको गार्डेन हो। यो सातौँ दलाई लामाले १८ औं शताब्दीको मध्यतिर सुरू गरेका हुन्। एउटा ठूलो र महत्वपूर्ण एवं ऐतिहासिक पार्कमा हामीले फोटो खिच्यौँ, भिडियो बनायौँ, साथै चौधौँ दलाइ लामाको कक्षामा केही समय ध्यान गर्ने अवसर पनि पायौं। आचार्य मैत्रेयले हामी सबैलाई ध्यानको लागि निर्देश गर्नुभयो र हामी ध्यानमा बस्यौँ। ध्यानबाट बाहिर निस्किसकेपछि उहाँले भन्नुभयो — वास्तवमा यो ठाउँ. ध्यानीहरुका लागि स्वर्ग हो। र ती बुद्ध पुरुषहरू जो शरीरमा छैनन्, उनीहरूसँग भेट गर्ने एउटा अवसर पनि हो।

आज ११ औं दिन शारिरीक एवं मानसिक रुपले हामी लगभग थकित थियौं। तर एक खालको उत्साह पनि हामीभित्र रहेको थियो कि आजबाट हामी हाम्रो फिर्ती सुरुवात गर्दैछौं अर्थात् हामी घर फर्किने प्रक्रियामा छौं। हामी रेलबाट सिगात्से र सिगात्सेबाट आफ्नै गाडीमा लात्से जाने कार्यक्रम छ। बिहानको नास्ता रेलमै गर्ने व्यवस्था लाजिमोले मिलाएकी थिइन्। हामी ७ बजे रेल स्टेशन पुग्यौं। ८ बजे त्यहाँबाट रेल चढेर सिगात्से गाडीमा ७ घण्टा समय लाग्ने बाटो हामीले २ घण्टामा पार गर्यौं। चाइनामा यो बीचको ५० ६० वर्षमा भएको भौतिक संरचनाका विकासको नमूना यो रेलमार्ग पनि हो। पहाडहरूमा टनेल बनाएर ल्हासाबाट सिगात्से मानिसहरु जागिर खान भ्याउने गरी दूरी छोट्याएको देख्दा खेरि लाग्छ- चाइना साँच्चै नै धेरै माथि पुगिसकेको छ। रेल चढ्दा अष्ट्रेलिया यूरोपका रेलभन्दा पनि सफा, ढलपल नगर्ने नहल्लाउने खालको थियो। रेल मार्गबाट ग्रामीण जीवन र प्रकृतिको भरपुर मज्जा लिदै हामी सिगात्से पुग्यौँ। नेपाली रेष्टुरेन्टबाट गाडी लिएर हामीलाई लिन आइसक्नुभएको रहेछ। हामी रेष्टुरेन्ट पुगेर नेपाली खाना खायौं, थकाई मार्यौँ र लात्सेको लागि बाटो लाग्यौं। पुलिस पोष्टमा पुग्दा एकजना मित्रको पासपोर्ट हराएको थाहा पायौं। यो यात्रामा सबै भन्दा नरमाइलो क्षण पनि यही थियो। सबैका झोला झ्याम्टा चेक गर्यौ। होटलमा फोन गरेर सबै कुराहरु खबर गर्यौं। रेल स्टेशन लिन गएका तीनवटै गाडीहरुलाई खबर गर्यौं। २–३ घन्टाको हाम्रो यो सरगर्मी र प्रयासपछि अब हामी एउटा निष्कर्षमा पुग्ने अवस्था आएको थियो। या त हामीले पुलिसलाई खबर गर्ने या ल्हासामा रहेको नेपाली राजदूताबासलाई खबर गर्ने। तर सौभाग्यवश रेल स्टेसनमा हामीलाई लिन जाने गाडीको ड्राइभरले फोन गरेर पासपोर्ट गाडीभित्र छुटेको जानकारी दिए। यो परिस्थितिमा १ जनाको बेहोसीले गर्दा सारा सबैले दुख पाए पनि पासपोर्ट भेटिएपछि सबै खुशी भयौं। ओशोले मेरा सन्यासीहरु होशपूर्ण र प्रेमिल हुन्छन् भन्दाभन्दै पनि हामीहरु कतैकतै होस गुमाइरहेका हुन्थ्यौं। रियाक्टिभ भइरहेका हुन्थ्यौँ। मेरो विचारमा यी सबै मानवीय स्वभाव हुन्। हामीले यात्रा गर्नुपर्ने बाटो अन्तर यात्राको बाटो हो। यो बाटो लामो छ र अभ्यासले नै सबैलाई यो बाटोमा हिँड्नलाई सजिलो बनाउँछ, सुमधुर बनाउला। कम उचाइबाट बढी उचाइमा जाँदा शरीर थकित हुन्छ. त्यस्तै गरेर हाम्रो मस्तिष्क पनि थकित हुन्छ। सायद त्यसकारण मानिसहरुमा चिडचिडाहट हुन्छ। बेलाबेलामा त्यस्तो देखिन्थ्यो नै। आजको यात्रा लात्से पुगेर टुंगियो। भोलि सगरमाथा बेस क्याम्प हुँदै टिग्रिंसम्मको यात्रा हुनेछ। यो यात्राका लागि मानसिक रुपमा हामी तयार छौं र वास्तवमा यो यात्रा हाम्रो लागि एकदमै महत्त्वपूर्ण यात्रा हुने कुरामा हामी विश्वस्त छौं।

यात्राको बाह्रौँ दिन सगरमाथा बेस क्यामको लागि हामी बाटो लाग्यौँ। सगरमाथा बेस क्याम्प ५१५० मिटर उचाइमा पर्छ भने नेपालतर्फको बेसक्याम्प त्रिपन्न सय चौसठ्ठी मिटरको उचाइमा छ। चाइना तर्फबाट बेस क्यामसम्म गाडी नै पुग्दो रहेछ। तर नेपालतर्फ कि पैदल मार्ग कि हवाई मार्ग नै अवलम्बन गर्नुपर्छ। नेपालतर्फको बेस क्याम जाँदा फरक हरियाली, झरना, भू–वनोटको मजा लिन सकिन्छ भने चीनतर्फको बेसक्याम्पमा त्यो मजा लिन पाइँदैन। हामीहरु लात्सेबाट. ग्याबु ला पुग्यौं। यहाँको उचाइ ५२०० मिटर हो र यहाँबाट सगरमाथासहित लामो हिमश्रृङ्खला देख्न सकिन्छ। ग्याबु ला पासमा हामीले झण्डै २ घण्टा बितायौँ। अलिकति त्रास र केही रोमाञ्च हामीबीच रह्यो। मान्छे उडाउला जस्तो हावा, खुब रमाइलो हिम श्रृङ्खलाको अद्भुत दृश्यहरू हेर्यौँ अनि बिस्तारै नाङ्गा खैरा चट्टाने डाँडाहरू छिचोल्दै रोंगबुक शहर पुग्यौँ। यहाँबाट हाम्रो गाडीलाई बेसक्याम्प जान अनुमति थिएन। त्यसकारण यहाँको स्थानीय विद्युतीय बस मार्फत एकाउन्न किलोमिटर यात्रा गरी बेसक्याम्प पुग्यौँ। हामी रोंगबुक पुगेपछि को बेस क्याम्प जाने को नजाने भनेर सल्लाह गर्यौं। सबै जाने भन्ने निधो भएपछि १– १ वटा अक्सिजन सिलिन्डर बोकेर, तातोपानी, भुटेका मकै साथमा राखेर बेसक्याम्प पुग्यौं। फोटो, भिडियोहरु खिचेर खुब रमाइलो गर्यौ। छोटो समयमा बेसक्याम्प बडो आनन्दित र रोमाञ्चित भएर रह्यौ र सकुशल सबैजना पुनः रोंगबुक हुँदै ओल्ड तिग्रींको लागि प्रस्थान गर्यौ।

यात्राका अन्तिम २ दिनहरु पनि अति रोमाञ्चकारी र अति रमाइलो रहे। यात्राको १२ औं दिन हामीहरु ओल्ड तिग्रीबाट पेल्खु छो ताल जुन ४६०० मिटरमा छ, हुँदै केरुङ गयौँ। लहरै बसेका सिसापाङ्मा, लाङटाङ, गौरीशंकर र अन्नपूर्णको उत्तरपट्टिबाट दृश्यालोकन गर्दै हामी पेल्खु छो ताल पुग्यौँ। सेता हिमशृङ्खला, निलो ताल र नीलो आकाश र हामीलाई छोएर बहने चिसो हावाको स्पर्शले सबैको मन फुरुङ्ग थियो। साँझ केरुङ पुगेर पूर्ववत नेपाली खाना खाएर होटलमा बास बस्यौं। भोलिपल्ट आइतबार परेकोले चाइना तर्फको चेकपोस्टमा केही ढिला हुने कुरा हाम्री गाइड लाजिमोले जानकारी दिइसकेकी थिइन्। हामीले लगभग नेपाली समय १२– १ बजे चेकपोष्टको प्रक्रिया पूरा गर्यौं। लाजिमा र यी २ भाइ चाइनिज ड्राइभर हाम्रो यात्राका महत्वपूर्ण मानिसहरू थिए। उनीहरुसँग छुट्टिनु हामी सबैका लागि कठिन थियो। उनीहरूलाई मैत्रेय स्वामीजीले खादा ओढाएर प्रतिव्यक्ति नेपाली रुपैयाँ १५ हजारका दरले धन्यवाद टोकन प्रदान गर्नुभयो। लामो र कष्टपूर्ण चेकपोष्टको लाइन हाम्रो सहजताको लागि निमा र लाजिमोले अन्तिमसम्म सहयोग गर्नुभयो। निस्कने लाइनमा बसिरहँदा एउटा दृश्यले साँच्चै नै घोत्लिन बाध्य बनायो। यो भन्सारमा धेरैजसो रसुवाका मानिसहरू वारिपारि गर्दा रहेछन्। कामको सिलसिला तथा सरसामान ल्याउने– लैजाने गर्दा रहेछन्। त्यही समूहको एक दम्पती २ ससाना छोरीसहित लाइनमा उभिएका थिए। त्यहाँ ती बच्चाहरुले रोएर कोकोहोलो मच्चाइ रहेका थिए। हाम्रो सर सामान तथा झोला चेकजाँच गर्दै गरेकी एकजना महिला प्रहरीले चेकजाँच छोडेर जुरुक्क उठिन् र उनीहरू रोइरहेको लाइनमा गइन्। सबै कागजात हेरिन् र त्यो दम्पतीलाई अन्तिम एक्जिटमा पुर्‍याएर त्यहाँबाट बिदा गरिन्। वास्तवमा यो संवेदनशीलता त्यहाँको सेक्युरिटीमा देखेपछि चाहिँ मलाई लाग्यो- चाइनाले यो ५० ६० वर्षमा भौतिक र आर्थिक विकास मात्र गरेको छैन, मानवीय संवेदनशीलतालाई पनि उसले उत्तिकै महत्व दिएको छ र समावेशीतालाई पनि उसले त्यत्तिकै महत्व दिएको छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ। अन्तत, हामीले पनि निस्कने प्रक्रियाको लाइन छिचोल्यौ। अन्तिमपटक लाजिमो र टीमसँग बिदाइका हातहरु हल्लायौं। उनीहरूका आँखा भरी आँसु तथा आफ्नै परिवारका सदस्यहरु जस्तो गरेर उनीहरु बिदाइका हातहरू हल्लाई रहेका थिए। भक्कानिएको कण्ठबाट सधैंझैं बोल्न सकिरहेका थिएनन्। हामीलाई ओझेल नपरुञ्जेल सम्म हेरिरहे, हेरिरहे।

असोज २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्