- काठमाण्डौंबाट पश्चिम–उत्तर यात्रा गर्दै पोखराबाट उक्लिंदा स्थान–स्थानमा बादलको झम्को र घामको झल्को थियो।
- भूपिका कविताजस्तै अनन्तमा यात्रा गर्ने प्रकृतिको रचना, मुस्ताङ र ग्य्रान्ड क्यानियनलाई जीवन र विविधताको अभिव्यक्ति बनाउँछ।
- मुस्ताङले न केवल हिमाल र संस्कृति देखाउँछ, तर आध्यात्मिक अनुभवले भरिएको एक जिउँदो स्वप्नभूमि पनि प्रस्तुत गर्छ।
२०८३ असार १३, शनिबार। घुर्मैलो दिन।
मनको दशा ठीक उल्टो थियो, उज्यालो। यात्राको दिशा थियो, काठमाण्डौंबाट पश्चिम–उत्तर। हिमालको आलय मुस्ताङ। घरपझोङ काव्यात्रा।
पोखराबाट उक्लिने बित्तिकै ठाउँठाउँमा बादलको झपट। बीचबीचमा घामको झमक। बादलको बलमिच्याईँ बढ्दै थियो।
अन्नपूर्णको आँगनमा टेकियो तर अन्नपूर्णले अनुहार देखाएन कि मैले देखिन ? आँखा त मेरो पनि थिए। गाडीको सिट कोल्टे परेर पनि हुनसक्छ। परेला प्रेमिल भएर पनि हुन सक्छ।
तातो बेनीको तात्तातो भात। भातको मात लाग्यो। घरीघरी परेला प्रेमिल हुन्थे। बेलाबेलामा घित मरेजस्तो गर्थे, छुट्टिन्थे। आँखा खुल्थे। झ्यालबाट दृष्टि फुत्त बाहिर निस्केर पहाडतिर पुग्थे।
बादलको बर्को ओढेर सुतेका पहाडसँग मेरो अनुहार मिसिन्थ्यो। रङ् उस्तै धुर्मैलो हुन्थ्यो, खिस्रिक्क। बाटोभरी मेरा आतुर आँखा अन्नपूर्णको आलोकसँग विलोप भए। लाग्यो, दिनहुँ आफ्नो आसिक अनुहार देखाएर थाकेका हिमाल झन् मस्त निद्रामा परे।
तर मुस्ताङको मुहार हेर्ने भनेपछि मौसमको मर्जी जस्तो होस्, मनको घाम झलल थियो।

पन्ध्र जना थियौं। प्रन्ध्र दृष्टि हुने नै भयो। आँखाले देख्नेभन्दा बढी छेक्ने गर्छ। हाम्रा आँखाले के के देखे ? के के छेके ? सबैले हेर्ने उही हो, देख्ने फरक हुन्छ।
गाडी दौडिरहेको छ। गाडीसँगै दौडिएका मेरा नजर हरियो घाँसा पुगेपछि ठिङ्ग भए, धुपीका बोटजस्तै।
कविता भनेपछि ओठमा भूपि आउँछन्। घाँसा पुगेपछि धुपीका बाटोमा उनै भूपि देखिन्छन्। मेरा नजर त्यसै रोकिएका थिएनन्।
एकाएक अनौठो आवाज गुञ्जियो। सबै आँखाले सबैथोक नदेखे जस्तो सबै आवाज सबै कानले सुन्दैनन्। अरुका कानले सुने–सुनेनन् ? मेरा कानले त्यो आवाज सुने।
हरियो घाँसाका बूढा घूपीका बोटले भूपिका कविता गुन्गुनाई रहेजस्तो। ती बूढा धुपीसँगै तिनका नातीनातिनाको कोरस स्वर पहाडले सुनिरहे जस्तो। बेलाबेलामा आफ्नो उज्यालो अनुहार देखाउँदै धौरागिरीले हेरिरहे जस्तो।
कस्तो कस्तो ! प्रकृतिको लय र लजव मान्छेको भन्दा नितान्त फरक जस्तो।
मृत्युको अर्थ हुदैन प्रकृतिसँग मान्छे बाँच्यो भने। प्रकृतिसँग बाँच्ने मानिस मर्छ, माटो बन्छ, त्यही माटोमा फेरि उम्रन्छ। बोटबिरुवाका फूल–पात बनेर फेरि लहलहाउँछ। प्रकृतिले कहिल्यै कसैलाई मार्दैन।
भूपि छन्, अन्त कतै गएका छैनन् तर भूपि छैनन्। भूपि अन्त कैतै छैनन् तर भूपि अनन्ततिर छन्। अनन्तको अन्तरछायाँ घाँसातिर पोतेर बसेका छन्।
जीवन र जिन्दगीको यात्राको फरक यही त हो। जिन्दगीको यात्राको गन्तव्य कहिल्यै थाह हुदैन। आज यहाँ भोलि कहाँ ? कहिले कता, कहिले कता। जिन्दगीको यात्रा सधैं अन्ततिर हुन्छ तर जीवनको यात्रा सधैं अनन्ततिर छ।
जिन्दगीको जिजीविषा र जीवनको दिशामा पनि यही त फरक छ। जिन्दगीलाई अगाडिको मोड पनि थाह हुदैन तर जीवनलाई आफ्नो बिसौनी थाह छ। गन्तव्य सधैं उही छ। जीवनको घडीमा समयका सुई सधैं उही बाटो, उही दिशा, उही नशामा घुम्छन्। केवल समय बदल्छन्। सुईले बाटो बदल्दैनन्।
भूपिले पनि जीवनको त्यो बाटो कति छिट्टै काटेजस्तो भो। म निक्कैबेर भूपिसँगै घुपीका बोटमा टाँसिए। निक्कैबेरपछि अगाडिपछाडिका साथीभाइका अनुहार हेरेँ। कोही मस्तमौलाना रमाइरहेका थिए। कोही निदाइरहेका थिए।

मनोवाद गरेँ– ‘जिन्दगीको यात्रामा अनेक हुन्छन् तर जीवनको यात्रामा कोही हुदैनन्। जीवन सधैं एक्लो यात्रा हो।’
बाटो निक्कै कटिसकेको थियो।
घाँसाबाट माथि लाग्दा पहाडका पुठ्ठामाथि डुलिरहेका बालदका हुल आफ्नै अगाडि दौडिएजस्तो लाग्यो।
मलाई भने बादलका ती हुलसँगै दौडिउँजस्तो भएको थियो। दौडिदै उडुँजस्तो भएको थियो। बादलको चिसो वाफ। झन् झकास्, झन् रोमाञ्चक ! आहा, कहिल्यै बिरानो नहुने त्यो साँझ !
पर्यटन पत्रकारको प्रतिमान बनाएका अमृत भादगाउँले। म उनलाई मास्टर नेपाल पनि भन्छु। नेपालको माटो सुङ्दै हिड्छन्। हावासँगै डुल्छन्। ढुङ्गासँगै बस्छन्। हिमालसँगै हाँस्छन्। सादय, उनलाई नचिन्ने हिमाल छैनन्। उनलाई नभेट्ने पाखापर्वत पनि छैनन्। उनका पाइलासँग अनजान खोँच र भीरका बाटाघाटा पनि छैनन्। र सायद, उनको छायाँछवि साँचेर नराख्ने कुनै ताल–कुण्ड छैनन्।
कन्सेप्ट नेपालको कन्सेप्ट। काव्यात्राको कमाण्डर उनै भादगाउँले भाइ। मलाई उनी दाइ भन्छन्। दाइ भनेपछि स्वतः भाइ भइहाले। उनलाई पनि सजिलो, मलाई पनि तर अघिल्लो रातदेखि नै मेरो निद्रा बिगार्ने उनै थिए।
करिब महिना दिनअघि
दाइ, यसपालि मुस्ताङ जाने हैन त भनेर सोधे। मैले जवाफ दिइँन। एउटा खुट्टो उचालेर देखाइदिएँ। कुरा बुझे हाँसे। दाँतमात्र देखाएन्। मन पनि देखाए। त्यो दिनदेखि एउटा खुट्टोले भुईँ टेकेन। यात्राको अघिल्लो दिन रातिदेखि अर्को खुट्टो पनि उचालियो।
दुबै खुट्टा उचालिएपछि परेलाले मायाप्रिति लाउन पाएनन्। नदीका दुई किनार भएर रातभरी छट्पटाइरहे।
म आँखा मिच्दै नजर घुमाउँदै छु। कालीगण्डकीको रहस्यले आँखाको रहर झन् बढाउँदै थियो। ढोकाको चेपमा लुकेकी बेहुलीजस्तो कालीगण्डीकी कतै पहाडको चेपमा लुकेको छ। कतै भ्यागुताको भुँडीजस्तो फुकेको छ। तीरैतीर शिरतिर जाँदैछौं। शिर कहाँ छ थाहछैन। मेरो मजालको बात हैन।
लार्जुङ पुगेपछि हिमालका पसिनाको पौखरले आँखाको प्यास बढाउन थाल्यो।
मग्न मनमौजी कालीगण्डकीको कायाले हायलकायल बनाउने मादकरुप देखियो। आकाशमा अल्बाट्रोसले पखेटा फिजाएजस्तो धरतीमा कालीगण्डकीले काया फिजाउन थाल्यो। ढुङ्गाको बिस्कुन लगाएर अनन्त–अविरल बगेको कालीगण्डकी हेर्दाहेदै नीलगिरीले झुलुक्क अनुहार देखायो। मलाई सातवर्ष अघिको सम्झनाले झ्याप्पै छोप्यो।

त्योभन्दा अघिनै दाना काटेर रुप्सेझरना पुगेपछि मेरा परेलाको पे्रमिल सम्बन्धमा ब्रेकअप भैसकेको थियो। आँखाका डिलमा केही अल्झेजस्तो लागिरहेको थियो।
सन् २०१९मा अमेरिकाको ग्य्रान्ड क्यानियन पुगेको थिएँ। आँखा ऐँठन हुने कालीगण्डकीको काया देखेपछि बल्ल थाह भो मेरा परेलाले किन ब्रेकअप गरे। डिलमा अल्झेका ग्य्रान्ड क्यानियनका ती दृष्यले झ्याम्म आँखामा हामफाले।
हेर्दाहेर्दै एरिजोना डेजर्ट पार गर्दै गरेजस्तो भयो। हेर्दै गएँ उस्तै देख्न थाले।
दुई नदीले एकै समयमा लेखेका दुई दुरूह महाकाव्य– मुस्ताङ र ग्य्रान्ड क्यानियन ! एकै हातका दुई हस्ताक्षर ! एकै चेतनाका दुई अभिव्यक्ति ! एकै प्रकृतिका दुई अद्भूत कृति !
‘के प्रकृतिले आफ्नै कथा दुई फरक ठाउँमा कोरेका हुन् ?’ आफैंलाई प्रश्न गरेँ। प्रश्नसँगै स्वर्ग सम्झिएँ।
‘के यही हो भूस्वर्ग ?’ उत्तर खोज्न थाले।
हुन त मुस्ताङलाई भूस्वर्ग भने पनि हुन्छ। धेरैले भन्ने पनि गरेका छन् तर स्वर्ग एक काल्पनिक कथ्यमात्र हो।
स्वर्ग कस्तो छ कसलाई थाह छ ? मान्छेले स्वर्गको कल्पना ग¥यो, प्रकृतिले मुस्ताङको सिर्जना ग¥यो। स्वर्ग कसैको कल्पनाले कोरेको चित्र हो तर मुस्ताङ त प्रकृतिले कोरेको एक विचित्रचित्र हो। प्रकृतिको एक महाकाव्य हो। प्रकृतिले धरतीमा लेखेको एक दिव्य कथा हो। मुस्ताङ स्वर्ग हैन, एक जीउँदो स्वप्नभूमि हो। जुन जिउँदा आँखाले देख्न सकिन्छ।
स्वर्ग एक कमजोर विश्वासको विषयमात्र हो तर मुस्ताङ एक अनन्त अनुभूतिको बिराटता हो।। स्वर्ग एक अचेतन चेतनामात्र हो। जुन केवल चेतनामा बाँचेको छ तर स्वयंको चेतना छैन। अस्तित्व पनि छैन।
सोच्दै गएँ। एरिजोनाका चट्टानभित्र लुक्दै नागबेली लयमा बगेको कोलोराडो नदी र उही भाका, उही लयमा मुस्ताङका चट्टानी पहाड चिर्दै भित्रभित्रै लुकामारी गर्दै बगेको कालीगण्डकी ! हेर्दै गएँ।
मलाई कालीगण्डकी र कोलोराडो नदी केवल नदीमात्र लागेनन्। लाग्यो– पानीको प्रवाहमात्र हैनन् नदी। पृथ्वीपटमा सयमको स्मृति लेख्ने लेखक पनि हुन्, नदी। लाखौ वर्षको मौन इतिहास चट्टानमा अङ्कित गर्ने इतिहासकार पनि हुन्, नदी।
लाग्यो, प्रकृतिको आफ्नै मौलिकता हुँदो रहेछ। आफ्नै भाषा र आफ्नै व्याकरण हुँदो रहेछ। आफ्नै जन्रा र आफ्नै शैली हुँदो रहेछ। आफ्नै लयमा लेखिएका प्रकृतिका कृति कति उत्कृष्ट !
उस्तै लाग्यो ग्य्रान्ड क्यानियन र मुस्ताङमा प्रकृतिले लेखेको लिपि, भाषा र शैली। एकै लाग्यो चट्टानमा कुँदिको प्रकृतिको हस्ताक्षर।
भोलिपल्ट बिहान। नीलगिरी हाँसेजस्तो हाँस्दै आइपुगे मोहनसिंह। मनमाफिकका मान्छे। एकै मान्छेमा मैले अजब र गजब दुबै चरित्र पाएँ। त्योभन्दा बढी धेरै कम मान्छेमा हुने दुबै सेन्स पनि पाएँ, कमन सेन्स र सेन्स अफ ह्युमर !
थकाली खानेकुराजस्तै उनका कुरा मीठा। मिसमास पारेर खानेकुरा बनाउन थकाली सिपालु। दुबै सेन्स मिसमास पारेर कुरा गर्न मोहनसिंह सिपालु।
घरपाझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन। उनको सेन्स अफ ह्युमर र कमन सेन्सका बारेमा भोलिभोलि भलाकुसारी गर्दै गरुँला।
उस्तै मनमाफिककी लागिन् उपाध्यक्ष जमुना थकाली थापामगर। अनुहारमा मुस्ताङ्का हिमाल टाँसिएजस्तो। अलिकति घाम झुल्किदा हिमाल उज्यालिन्थे। पाहुना झुल्किदा मुस्ताङी अनुहार उज्यालिन्छन्, जुनकिरीजस्तै। अतिथि सत्कार उनीहरूको अकलमै मिसिएजस्तो। त्यही नै थकालीको असली पहिचान नै भएजस्तो। हामीलाई भेट्दा उस्तै उज्यालिइन् जमुना, जुन्किरीजस्तै।
मुस्ताङी मुसाफिर हामी। साथमा थिए, मुस्ताङी मूली। मूलीले घुमाए। गाउँगाउँ पु¥याए। बस्तीबस्ती डुलाए। गल्ली गल्ली हिडाए।
मुस्ताङमा कमिला छन् कि छैनन् ? मैले देखिन तर म मुस्ताङमा कमिलो भएँ। हुन त कमिलाले आफैं बाटो खोज्छ तर हामीलाई बाटो देखाउने उनै मनकारी मोहनसिंह र जुन्किरी जमुना थिए। कमिला डुेलेजस्तो डुलिरहेको थिएँ। मसँगै मनमा ग्य्रान्ड क्यानियन पनि हिँडिरहेको थियो।
त्यहाँका थुम्काथुम्का, गाउँगाउँ, बस्तीबस्ती, गल्लीगल्ली। जहाँजहाँ पुग्छु, त्यहाँ त्यहाँबाट मुस्तङलाई हेर्छु। उस्तै देख्छु, दुबैको अनुहार र आवरण। भौगोलिकता र भूआकृति।
मार्फाली स्याउ जति नाम्मी छ, उतिनै दाम्मी छ। हामी स्याउघारीको गाउँ चिमाङ पुग्यौं। माथि डाँडामा बसेको ढुङ्गे बस्ती। बस्तीको शिरबाट हेर्छु उस्तै देख्छु। फेदबाट आँखा घुमाउँछु उस्तै देख्छु। ओरिपरि उभिएका अजङ्ग चट्टानी कायाकल्पधारी पहाडका अनुहार हेर्छु ती पनि उस्तै देख्छु।
नीलगिरीसँग सधैं संवाद गरिरहे जस्तो ठाउँ। थकाली सभ्यातको इतिहास र संस्कृतिको विरासत बोकेर बसेको अर्को जिउँदो–जाग्दो गाउँ। हामी ठिनी पुग्यौं। ठिनीबाट हेर्छु उस्तै देख्छु । ओरिपरीका पहाडको छातीमा फुलबुट्टा कोरेजस्तो गरी ठप्प बसेका बुट्यान हेर्छु ती पनि उस्तै देख्छु।
हेर्दै, हिड्दै हामी छैरो पुग्यौं। उँधो पातालतिर झर्दाझदै उँभो आकाशतिर उक्लेजस्तो देखिने छैरो छहराको रहस्यले निक्कैबेर रनभुल्ल बनायो। छैरोको छेउबाट हेर्छु, त्यहाँबाट पनि उस्तै देख्छु।
ठिनीको अर्को थाप्लो। जहाँ धिमहि मुद्रामा धीरताको पहाड बनेर बसेको छ कुछप तेरेङ्गा गुम्बा। सुनसान ठाउँको गुल्जार गुम्बाको बलेसीबाट निक्कैबेर हेर्छु, त्यहाँबाट पनि उस्तै देख्छु।
मुस्ताङमा जताततै हिमताल छन्। हिमालका आँखाजस्तै लागे, ती ताल। उस्तै देखेँ मैले तेरेङ्गा गुम्बाको फेदमा बसेर एकटकले हेरिरहेजस्तो धुम्बा ताल पनि। त्यहाँबाट मेरा आँखाले फेरि एकफन्को मारे। फेरि पनि उस्तै देखेँ मुस्ताङ। अमेरिकाको एरिजोनामा फैलिएको ग्य्रान्ड क्यानियन जस्तै।
मुस्ताङको बाटोमा घूलो उडाउँदै हामी अर्को सुन्दर ढुङ्गे गाउँ साङ पुग्यौं। साङको सान बेग्लै छ। तल कालीगण्डकी। माथि कुलदेवी फोला पुजेर बसेको पहारिलो गाउँ। हिमाली सभ्यताको अर्को सुन्दर नाउँ। साङबाट हेर्छु, त्यहाँबाट पनि उस्तै देख्छु।
माथि मुक्तिनाथ मन्दिरबाट हेर्छु उस्तै देख्छु। मुस्ताङका ती अग्ला र फराकिल टरेन हेर्छु ती पनि उस्तै देख्छु।
हामी जोमसोम झर्छौ।
जहाँबाट हेर्छु उस्तै देख्छु, जोमसोमको छातीमाथि अविरल बगिरहेको कालीगण्डी र ग्य्रान्ड क्यानियको छाती चिरेर बगेको कोलोराडो नदी। दुबै नदी कहिले समय बनेर बगिरहे जस्तो। कहिले समय स्वयं नदी बनेर बगिरहे जस्तो।
दुबै नदीको सादृश्य साधनाको कथा पनि एउटै समयले जन्माए जस्तो। भूगोलको चित्र पनि एउटै पारखीले कोरे जस्तो। प्रकृतिले आफ्नो एउटा मौलिक सत्यलाई अनन्तरुपमा एकसाथ प्रकट गरिरहे जस्तो।
दुरुस्तै नभए पनि मलाई उस्तै लाग्यो, अमेरिकाको ग्य्रान्ड क्यानियन र मुस्ताङको क्यानियन। थकाली सभ्यताको उद्गम स्थल बनेर बाँचेको मुस्ताङ र अमेरिकी आदिवासीका गुफा साँचेर बसेको ग्य्राण्ड क्यानियन। दुबैलाई मेरा आँखाले उस्तै उस्तै देखे।
मेरा लागि अनन्त छ, हेरेर नसकिने ! अतीव छ पढेर नसकिने ! अथाह छ, बुझेर नसकिने। मुस्ताङको क्यानियन पनि।
अमेरिकाको ग्य्रान्ड क्यानियन विशाल छ तर यसको विशालता भित्र विविधता छैन। आकारमात्र छ, प्रकार छैन। हुन त प्रकृतिले आफ्नो अभिव्यक्रि आकारले मात्र हैन आभा र आकृतिले पनि दिन्छ
त्यो आभा र आकृति मुस्ताङले साँचेको छ। विविधतालाई काँधमा राखेको छ। आकारमा सानो छ तर यसको आभा अर्कै छ। प्रकारमा महान् छ।
मुस्ताङले प्रकृति, संस्कृति र आध्यात्मिक विविधतको विशालतालाई पनि साँचेर राखेको छ। यहाँको प्रकृति नै एक प्रविधिजस्तो लाग्छ ।
हिमालका प्रमोहक प्रभास बोकेको मुस्ताङले हिमाली र थकाली संस्कृतिको गीत अझै गाइरहेको छ। याकनाचको नालिबेली सम्हाल्दै अझै नायकी गरिरहेको छ । भीर मौरीको स्वरमा मानेको मुधुर–मृदुल ध्वनी सधैं गुन्गुनाइरहको छ। गुम्बा, चैतन्य र बुद्धका आँखाले हेरिरहेको मुस्ताङले आध्यात्मिकताको आलोक सधैं छरिरहेको छ।
अमेरिकाको ग्य्रान्ड क्यानियन आकारमा विशाल छ तर रुप र स्वरुपमा मुस्ताङ महान् छ। त्यसैले मैले मुस्ताङः नेपाल्स लिभिङ ग्य्रान्ड क्यानियन (Mustang: Nepal’s living Grand Canyon) भनेँ।
अमेरिकाको ग्य्रान्ड क्यानियनले चट्टानको इतिहास पढाउँछ तर मुस्ताङको ग्य्रान्ड क्यानियनले चट्टानसँगै मानवसंस्कृति, कला, धर्म, दर्शन र सयमको इतिहास बोल्छ।
अमेरिकाको ग्य्रान्ड क्यानियन प्रकृतिको महाकाव्य हो भने मुस्ताङको क्यानियन प्रकृति, संस्कृति, सभ्यता र आध्यात्मिकताको एक एकत्र महाकाव्य हो।
मुस्ताङ पुगेपछि मैले एक फरक अनुभूतिको कोसेली पनि साँचेर ल्याएँ।
अजीब छ अमेरिकाको ग्य्रान्ड क्यानियन पनि। एकलासको ठाउँ। एकनासको हेराई। एकान्तले आँखा तानिरहने। हेरिरहुँ लागिरहने। हेरेर नसकिने।
मुस्ताङको क्यानियन ‘लिभिङ’ छ। भिन्नताले भरिभराउ छ। दृष्टि डुलाइरहुँजस्तो। आँखा झिमिक्क नपारी दोहोर्याई तेहेर्याई परपरसम्म हेरिरहुँजस्तो। हेर्दा हेर्दै आँखा चिम्लेर आफैंलाई निक्कैबेर हेरुँजस्तो। निक्कैबेर नियालुजस्तो। माने ध्वनीसँगै ‘ॐ मणि पद्मे हूँ’मा विलिन हुँ जस्तो। धिमहि मुद्रामा बसेका पहाडमा हराउँ जस्तो।
एकाएक आध्यात्मिक अनुभूतिको अनुभूत ! मुस्ताङको एक अजीब कोसेली।
साँचेर ल्याएँ, त्यही कोसेली।
भर्खरै
लोकप्रिय
