के मुगुको घाउमा राराले मलमपट्टी गर्न सक्छ?

नेपालको प्रमुख पर्यटकीय रारा क्षेत्र देश तथा बिदेशका धेरै मानिसहरूको आकर्षणको केन्द्र विन्दु हो। दशैं तथा तिहार जस्ता नेपाली चाडवाडहरू सम्पन्न गर्दै गर्दा रारा घुम्न जाने मानिसहरुको घुइँचो पनि त्यतिकै लाग्ने गर्दछ। वास्तवमा रारा प्राकृतिक रुपले अति सुन्दर रमणीय ठाउँ हो तर सो ठाउँमा बाटोघाटो त्यति राम्रो छैन। रारा पुग्नको लागि लामो घुमाउरो कठिन बाटो पार गर्नुपर्छ भने रारा पुगिसकेपछि पनि त्यहाँ बस्नलाई, खानपिनको लागि राम्रा होटल तथा होमस्टेहरुको व्यवस्था छैन।

रारातालमा डुङ्गा सयर गर्दै पर्यटकहरु।

रारा पुग्नलाई दुईवटा तरिकाहरू अपनाउन सकिन्छ । पहिलो तरिका नेपालगञ्जबाट सुर्खेत कालिकोट हुँदै ताल्चा एयरपोर्ट र त्यसपछि गमगढी र दोस्रो तरिका भनेको नेपालगञ्जबाट सिधै ताल्चा एयरपोर्ट पुग्न सकिन्छ । ताल्चा एयरपोर्टबाट रारा ताल पुग्नको निम्ति साधरणतया: गाडीबाट या पैदल यात्रामा पुग्न सकिन्छ.। राराताल ताल्चा एयरपोर्टबाट पश्चिमतिरको दिशामा पर्छ भने गमगढी उत्तरतिरको दिशामा पर्दछ र दुइटै लगभग लगभग गाडीबाट १ घण्टाको दूरीमा पर्दछन्। एयरपोर्टमा होटलहरू एकदमै कम छन् ।  रारा ताल हेर्न आउने पर्यटकहरुको विशेष सिजन भनेको दशैं तिहार छेक हो । यस्तै गरेर चैत वैशाखतिर पनि राराताल जानेहरुको घुइँचो लाग्छ । धेरैजसो मानिसहरु देशभित्रबाट राराताल जाने गर्छन् र देश बाहिर त्यति राम्रो प्रचार हुन सकिरहेको छैन ।

पर्यटकहरूको लगातार आउने जाने क्रम वर्षभरि नभएको कारणले गर्दा यहाँका होटलहरू त्यति धेरै फस्टाउन सकेका छैनन् । गमगढी र एयरपोर्टका होटलहरुको क्षमताको कुरा गर्ने हो भने लगभग लगभग ५०० मानिसहरू त्यसमा पनि जोडी बस्नेगरी हो भने त त्यो भन्दा कम मानिसहरु अटाउन सक्ने क्षमता छ । खानपानको हिसाबले भन्ने हो भने स्थानीय खानपान मानिसलाई त्यति मन नपर्ने हुन सक्छ । यहाँ किन धेरै होटलहरू छैनन् अर्थात् कम होटलहरु छन्। अर्थात् भएका होटलहरुले पनि राम्रो सेवाहरू दिन सकिराखेको छैनन जसको कारणले गर्दाखेरि आन्तरिक तथा बाह्य पर्यटकहरूलाई त्यति सहज अवस्था हुन सकिराखेको छैन भन्ने कुरा महत्वपूर्ण छ ।

राम्रो खानपानको लागि तरकारी, फलफूल तथा अन्य खाद्यान्नहरू बाहिरबाट ल्याउनुपर्ने भएको कारणले गर्दा यो महँगो छ । स्थानीय उत्पादन त्यहीँको मानिसहरूलाई पर्याप्त छैन । रारा ताल र त्यसको सेरोफेरोका मानिसहरू चरम गरिबी अवस्थामा जीवनयापन गरिरहेका छन् । यहाँ रोजगारीका अवसरहरु छैनन् । राराताल रारा राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । स्थानीय निकाय र राष्ट्रिय निकुञ्ज बिच राम्रो नीतिगत तालमेलसाथै कार्यान्वयनको क्षेत्रमा सहकार्य हुननसक्दा रारालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको निम्ति कठिनाइ देखा परेको छ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालय, मुगु।

रारा तालमा विभिन्न प्रजातिका माछाहरु पाइन्छन् साथै यो एउटा स्थान्तरण हुने चराहरूको निम्ति एउटा महत्वपूर्ण गन्तव्य पनि हो । यहाँको वनजङ्गल अर्थात् यहाँको वनस्पति, उम्रिन र बिकास हुनको निम्ति यहाँको उचाइ तथा तापक्रमको कारणले गर्दाखेरि लामो समय लाग्ने हुन्छ। यहाँका कृषकहरु यहीँका वनजंगलको प्रयोग गर्दै कृषिमा प्रयोग हुने हलो जुवा र अन्य कृषिका लागि चाहिने औजार तथा आफ्ना पशुहरुलाई खुवाउने घाँसको लागि वनजंगलमा आश्रित हुनुपर्ने हुन्छ । त्यस कारणले गर्दा यहाँको वनविनाश पनि भइरहेको छ । यहाँको जीविकोपार्जनमुखी कृषिलाई सहयोग पुर्‍याउन नयाँ टेक्नोलोजीहरूको आवश्यकता छ जस्ले गर्दा मानिसहरूको काममा समय कम लाग्ने र वनजंगल विनाश पनि रोकिन्छ ।

वनविनासमा कृषिऔजारहरु सहयोगी।

राराले. स्थानीय रोजगारी बढाउन सक्छ । राराले विपन्न तथा गरिब उन्मुख कार्यक्रमलाई सहयोग पुर्‍याउन सक्छ । राराले स्थानीय कृषि उत्पादनलाई सहयोग पुर्‍याउन सक्छ । त्यसका लागि रारालाई मध्यनजर गरेर पूर्वाधारहरू तयार गर्न आवश्यक छ । होटलहरुको निर्माण साथै होमस्टे र दिइने सेवाहरुमा तालिमप्राप्त व्यक्तिहरुबाट पर्यटकहरुलाई सुविधायुक्त ढंगले सेवा दिन आवश्यक छ । मुगु साँच्चै दुःखमा बाँचेको छ । समयमा मानिसहरुले औषधि पाउँदैनन् । विपन्न मानिसहरू अझ विपन्न बन्दै गइरहेका छन् । महिलाहरुले पुरुषहरुको तुलनामा बढी काम गर्नुपर्ने अवस्था छ । गाउँघरमा बैंकहरु छैनन् । त्यसकारणले गर्दा सबैको बैंक खाता छैन । राराले विपन्नहरुको निम्ति सहारा बन्न सक्छ ।

स्थानीय मानिसहरूले पर्यटकलाई आकर्षण गर्ने खालका विभिन्न सेवाहरु तथा सामानहरु विक्रीवितरण गर्न सक्छन् । यसका लागि स्थानीय तहले नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न आवश्यक छ । वास्तवमा भन्ने हो भने महिलामात्र नभएर पुरुषहरु पनि पीडित छन् । घर परिवार धान्नुपर्ने जिम्मा पुरुषहरुको हुने भएकाले गर्दा पुरुषहरू केही न केही गर्नुपर्ने र आम्दानीको स्रोत जुटाउनु पर्ने कारणले गर्दा बढी तनावमा रहने गरेको पाइन्छ ।

तर यहाँ पुरुषको दाँजोमा महिलाहरू अझ बढी कष्टकर जीवन बिताइरहेको पाइन्छ । उदाहरणको लागि महिलाहरुले खेतीको काम पुरुषको दाँजोमा सबै गर्नुपर्ने, चुलो चौको, घाँस दाउरा, बालबच्चाको तथा बुढापाकाहरुको स्याहार सुसार र हेरचाह देखि लिएर विभिन्न कामहरु गर्दै आयआर्जनका कामहरुमा पनि लाग्नुपर्ने अवस्थाले गर्दाखेरि महिलाहरू बढी कष्टकर जीवन बिताइरहेको पाइन्छ। घरायसी काममा महिलाको बढी लगाव हुने भएकोले गर्दा उनीहरु व्यापार, व्यवसाय तथा राजनीतिमा खुलेर अगाडि आउन नसकिरहेको अवस्था छ । महिलाहरु घरबाट बाहिर निस्किएर व्यापार व्यवसायका काम गर्नु भनेको धेरै टाढाको कुरा हो । उनीहरु घर भित्रकै कुरा, घरभित्रकै कामहरुमा बढी लाग्नुपर्ने र उत्पादनमुखी काममा कम लाग्नु पर्ने अवस्थाले गरिबीबाट माथि उठ्न सकिराखेको अवस्था छैन ।

आयआर्जनमा घोडसवारका लागि महिला व्यवसायी।

साथै महिला तथा विपन्नवर्गका मानिसहरु कम पढेलेखेको हुनाले गर्दा राजनीति तथा व्यापार व्यवसायको तहमा माथि आउन खोजे पनि उनीहरुलाई सहयोग पुग्ने वातावरण बन्न सकिरहेको अवस्था छैन । महिलाहरूका कुराहरू राम्रो ढङ्गले सुनिँदैन र सुने पनि उनीहरूका कुरालाई कार्यान्वयनमा ल्याइँदैन । विपन्न वर्गको पनिअझ दर्दनाक अवस्थाहरु छन् । वास्तवमा स्थानीय निकायले उनीहरुको हितमा बिभिन्न योजनाहरु बनाएर काम गर्नुपर्ने अवस्था छ ।

साथसाथै पुरुषहरुले महिलाहरुका दिनानुदिन गतिविधिहरूमा अर्थात् घरायसी कामहरुमा सहयोग पुर्‍याउनुपर्ने  र महिलाहरुलाई व्यापार व्यवसाय अर्थात् उत्पादनमुखी काममा सहज वातावरण बनाइदिन पनि उत्तिकै आवश्यक छ जसले गर्दाखेरि पारिवारिक आम्दानी बढ्न जाने र परिवारमा शिक्षा, स्वास्थ साथै पारिवारिक समृद्धिमा सहयोग पुग्ने अवस्था बन्न सक्छ । महिलाहरु उत्पादनमुखी गतिविधिमा लाग्न उनीहरूसँग पुँजीको विकास हुन आवश्यक छ । उत्पादनबाट प्राप्त रकम, वस्तुभाउ साथसाथै जग्गाजमिनहरु पुरुषहरुको अन्तर्गतमा अथवा स्वामित्वमा रहने भएकोले गर्दा महिलाहरुले सहज ढंगले कुनै कुराको निर्णय गर्न सक्ने अवस्था समाजमा छैन ।

त्यस्तै गरेर महिलाहरूको कामलाई सहज बनाउनको निम्ति स्थानीय स्तरमा नयाँ टेक्नोलोजीहरूको विकास गर्ने र त्यसलाई कार्यान्वयन गर्ने वातावरण आवश्यक छ । परिवार, तथा स्थानीय तहमा आयआर्जन गर्नको निम्ति महिला, पुरुष, तल्लो तहका मानिसहरू सबैले उत्पादनमुखी क्षेत्रमा लाग्नुपर्ने बजार व्यवस्थापनमा लाग्नु पर्ने र त्यसका लागि रारा एउटा स्रोत बन्न सक्छ । पर्यटकीय गन्तव्य एको कारणले गर्दाखेरि ती मानिसहरू रारा र यसको प्रवद्र्धन साथै पर्यटनको क्षेत्रमा लागि परेर आयआर्जन गर्न सक्ने वातावरण बन्न सक्छ ।

यसमा स्थानीय तह, प्रदेश साथै केन्द्र सरकारको पनि महत्वपूर्ण भूमिका आवश्यक छ र रारालाई वास्तवमा रारा बनाउनको निम्ति देखिएका केही नीतिगत कमीकमजोरीहरु, नीतिगत समस्याहरुलाई न्यूनीकरण गरेर स्थानीय मानिसहरूको सहभागीतालाई बढाएर राराको विकास साथसाथै त्यहाँको वनस्पति तथा प्राणीहरुको प्रवर्धन गर्दै बढीभन्दा बढी स्थानीय तहका मानिसहरुले फाइदा लिन सक्छन् र वास्तवमा सुन्दर र अति महत्वपूर्ण पर्यटकीय क्षेत्र रारा सबै मानिसहरूको लागि एउटा महत्वपूर्ण गन्तब्य बन्न सक्छ ।

वास्तवमा रारा ताल र यसको सौन्दर्य पर्यटकीय गन्तव्यलाई ध्यानमा राखेर विपन्न तथा पछाडि पारिएका व्यक्तिहरूको हितमाकाम गर्नलाई धेरै अवसरहरू छन् । यो एउटा आयआर्जनको प्रमुख स्रोत बन्न सक्छ स्थानीयहरुको लागि र उनीहरुको जीवनस्तर माथि उठाउनका लागि।

छायानाथ मन्दिर, गमगढी।

यसका लागि ताल्चा एयरपोर्ट तथा सल्लेरी बस स्टपमा सोभेनियर सपहरु खोल्न सकिन्छ । सोभिनियर सपमा बेच्न राखिने वस्तुहरू स्थानीय तहका कच्चा पदार्थ महिला एवं विपन्नवर्गका मानिसहरुको सहभागितामा उत्पादन गर्न सकिन्छ । त्यस्तै गरेर स्थानीय तहमा पाइने जडिबुटी, यार्सागुम्बाबाट आयआर्जन बढाउन सकिन्छ , साथै स्थानीय संस्कृतिलाई प्रवद्र्धन गरे आयआर्जनमा विकास गर्न सकिन्छ । छायानाथ तथा कालीमातामन्दिरसँग राराको पर्यटकीय आवागमनलाई जोडी गमगढी लगायत यसका आसपासका क्षेत्रहरुको अझ विकास गर्न सकिन्छ ।

कृषि उत्पादन बढाउन स्थानीय निकायले मलखाद तथा सिँचाइमा ध्यान दिई यसको उत्पादनलाई रारा र पर्यटकीय विकाससँगै जोडेर काम गर्न सकिन्छ । अर्थात् वास्तवमा भन्नु पर्दा व्यवस्थित होटल, होमस्टे र त्यहाँका बाटाघाटाले नै राराको गरिमालाई बढाउने भएकाले त्यतातिर ध्यान दिन आवश्यक छ।

यसले महिलाहरुको दिनानुदिन कामको लोडलाई घटाउन सक्छ, महिला तथा विपन्नवर्गहरुको सहभागितामा बढोत्तरी हुन सक्छ, साथै व्यापार, व्यवसाय तथा राजनीतिमा महिला तथा विपन्नवर्गको महत्वपूर्ण भूमिकालाई अगाडि बढाउन सहयोगी बन्न सक्छ। त्यस्तै गरेर पर्यटकीय गन्तव्य भएकोले गर्दा बाहिरबाट आउने मानिस र स्थानीय मानिसहरुबीच अन्तर्क्रिया हुने हुँदाविभिन्नसंस्कृति, संस्कारर परम्पराहरुको पनि सकरात्मकबिकास गर्नलाई सहयोग पुग्न सक्छ ।

यसका लागि स्थानीय तहले निकुञ्जसँग सहकार्य गर्दै छोटो तथा लामो समयको लागि नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गरी बढीभन्दा बढी फाइदा लिन सक्ने अवस्था बन्न सक्छ । वास्तवमा रारा त्यतिखेर मात्र सुन्दर रारा भन्ने छ जतिखेर त्यस भेगका मानिसहरुको जीवनस्तरमा पनि त्यो सुन्दरता झल्किन सक्ने अवस्था बन्न सक्छ ।

कात्तिक २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्