विगतमा इन्डियाका धेरै तीर्थस्थलहरू खुब घुमियो । तर पिताजीलाई लिएर हरिद्वार तथा गुहाटी बाहेक अन्य ठाउँहरुमा गएका थिएनौँ । यसपालि पिताजीलाई लिएर बनारस, अयोध्या, नैमिसारन्य, हरिद्धार, ऋषिकेश, केदारनाथ, गोपेश्वर माहादेव, बद्रीनाथ, वृन्दावन घुम्ने विचार गर्‍यौँ। पिताजी सतासी वर्षको हुनुभयो तर उहाँ राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्छ., देख्न र कान सुन्न सक्नुहुन्छ । त्यसकारण यो उमेरमा पनि उहाँलाई तीर्थयात्रा लिएर हिँड्न हामी रमाइलो मान्दछौं । तर पिताजी यसरी तीर्थयात्रा तथा देवी देउताहरुलाई पाउनको निम्ति विभिन्न ठाउँ धाउनुपर्छ भन्ने मान्यता राख्नु हुन्न। उहाँ भगवान आफूभित्र छन् र आफ्नो असल भावना, सेवा तथा सत्कर्मले नै भगवान् खुसी हुन्छन् भन्ने विश्वास गर्नुहुन्छ ।

म पनि यसमा सहमत छु तर मेरो विचारमा जसरी हावा सर्वत्र भएपनि गर्मीको समयमा कोठा भित्र एयर कन्डिसन लगाएर जुन चिसो हावा लिइन्छ त्यस्तै मन्दिरहरू जाँदा खेरी त्यहाँको छुट्टै किसिमको भाइब्रेसनले गर्दा हामीहरुलाई फरक आनन्द मिल्छ भन्ने विश्वास लाग्छ । पूर्वजहरूले विगतमा हजारौँ वर्षदेखि मान्दै आएका ठाउँहरु घुम्ने र पूजा आराधना गर्ने विश्वासलाई नकार्न सकिँदैन थियो त्यसकारण पिताजीलाई लिएर हामी बनारस, केदारनाथ, बद्रीनाथ हुँदै वृन्दावनको यात्रा गर्ने निर्णय गर्यौं । काकी तथा बहिनी मीरा, पिताजी, म र माला गरेर हामी ५ जना यो यात्रामा सामेल थियौं ।

कोरोनाको कहर भर्खरै मत्थर भएको थियो । जेठको महिना धेरै गर्मी थियो । हामी काठमाडौंबाट बनारस बुद्ध एयरमा जाने निर्णय गर्यौं । बिहान ८ बजेको फ्लाइटमा हामी बनारस गयौँ । लाल बहादुर शास्त्री इन्टरनेशनल एयरपोर्टमा हामीले बन्दोबस्त गरेको गाडीको ड्राइभर हामीलाई पर्खेर बसेका थिए । यो अवधिलाई हामीले आफ्नै गाडी बन्दोवस्त गरेका थियौं । इन्डियातिर गाडी भाडामा लिनको निम्ति सजिलो रहेछ । प्रतिकिलो मिटर यति रुपैयां र दिनभरीमा जम्मा यति किलोमिटर चाहिँ हिँडे पनि नहिँडे पनि तिर्नु पर्छ भन्ने खालको व्यवस्था रहेछ । हामीले त्यही मुताबिक एउटा राम्रो गाडी यो अवधिभरका लागि रिजर्व गर्यौँ । गाडीको ड्राइभरले हाम्रो टोलीलाई लिएर होटल पुर्‍याए र होटलमा सरसामान राखिसकेपछि हामी केही खानपिन गरेर सारनाथको यात्रामा निस्क्यौं । बाटोमा कबिर मन्दिरको दर्शन गर्यौँ ।

काशी हिन्दू विश्वविद्यालय र त्यहाँ भित्र रहेको विश्वनाथ मन्दिरको दर्शन र समय निकालेर बनारसमा केही लुगाफाटाहरू किन्ने निर्णय गरी ड्राइभरलाई कुनै एउटा राम्रो पसलमा लैजानलाई भन्यौँ । ड्राइभरले उनले चिनजानको एउटा पसलमा लगे । त्यहाँ सामानहरू मध्यम खालका थिए र मोलमोलाइ ज्यादै हुने तर राम्रो व्यवहार गरे जस्तो गर्दै धेरै पैसा लिएको हामीले महसुस गर्यौं । पसलमा कामदारहरूले पिताजीलाई एकदम सम्मानसाथ गाडीमा चढाउन दुइतिरबाट हातमा समातेर ल्याए र गाडीमा राखे । हामी त्यसपछि बेलुका साँझ विश्वनाथ मन्दिर लगायत अन्य पवित्र मन्दिरहरुको दर्शन सकेपछि गंगामा डुङ्गा सयर गर्ने निर्णय गर्यौं ।

बनारसमा गंगा आरतीको समय।

विश्वनाथ मन्दिर दर्शन गर्दै गर्दा हामी लाइनमा बस्यौँ । लाइन काटिदै अनि फेरि मान्छेहरू दौडिँदै नयाँ लाइनहरू बन्ने गर्थे । म पनि पिताजीलाई लिएर दौडधुप गर्दै अघिअघि पुग्ने प्रयास गर्थें । मन्दिर पुग्ने बेलामा पिताजीले मलाई भन्नुभयो किन दौडेको भनेर । मैले भने हामी पछि पर्छौं कि भनेर दौडिएको नि । पिताजीले भन्नुभयो– मन्दिरमा आएर अगाडि अगाडि दौडिने मान्छे कहिल्यै पनि अगाडि पुग्दैन । जो मान्छे अशक्तहरुलाई, दुख पाएकाहरुलाई साथ लिएर उनीहरुलाई सहज ढंगले दर्शन गराउँछ, सधैं सबैभन्दा पछि बसेर मन्दिरको दर्शन गर्छ त्यो मान्छे नै सधैं आध्यात्मिक हिसाबले अगाडि पर्छ, यो कुरा ख्याल राख्नु भन्नुभयो । मन्दिर गएर पनि दौडधूप गर्नु उचित र सार्थक कुरा होइन भन्ने मैले पनि महसुस गरेँ । सेक्युरिटी चेक गर्ने ठाउँमा कोटको गोजी भित्र केही छ कि भनेर चेक गर्दा उहाँले पाउनुभयो कि उहाँको पकेट अगाडि नै काटिइसकेको रहेछ । खल्तीमा नेपाली पैसा कति थियो मलाई त थाहा भएन तर उहाँले अलिकति दुःख मान्नुभयो र मलाई भन्नुभयो तिमीहरूको मन्दिरका देवताहरुले सधैं मेरो पैसा यसरी नै लिने गर्छन् । पशुपतिमा पनि एकचोटि ५००० रुपैयाँ लगिदिएका थिए । उहाँको गुनासो सावित भयो –मन्दिर ईश्वर बस्ने भन्दा पनि फटाहाहरू बस्ने ठाउँ हो । गाडी ड्राइभरले डुंगाको व्यवस्था पनि आफै गर्दिएका थिए । बाहिर अन्य डुङ्गा भन्दा पनि ड्राइभरले व्यवस्था गरेको डुङ्गा निकै महँगो पायौं । डुंगामा यात्रा गर्दै गर्दा डुंगा चलाउने व्यक्तिले जीवन केही पनि होइन अहिले तिमीहरु पवित्र गंगा नदीभित्र छौं र यो डुंगा जतिखेर जे पनि हुन सक्छ, अवसर यही हो जे जति दान गर्न सक्छौं दान गर भन्यो जुन हाम्रो लागि पाच्य थिएन र हामीले प्रतिवाद पनि गर्यौं । तीर्थयात्रामा यस्ता किसिमका गतिविधि हुनु नितान्त निन्दनीय र नराम्रो कुरा हो । तर हामीले विश्वास गरेको ड्राइभरबाटै हामीलाई धोका भएको महसुस भयो । हामीले निर्णय गरेर यो गाडी छोड्न सक्ने अवस्था थिएन । सिंह थरको यी ५५ बर्ष जति उमेरको अनुभवी ड्राइभर र गाडी पनि राम्रै भएकोले गर्दा यिनै ड्राइभरलाई नै लिएर हामी बाँकी यात्रा पनि गर्ने निर्णय गर्यौं ।

बनारसको गंगा नदी र डुंगा सयर।

वनारसको घुमघाम र बसाइ पछि हामी अयोध्या हुँदै नैमिषारण्यतर्फ लाग्यौँ । लगभग ५ घण्टा पछि हामी वनारसबाट अयोध्या पुग्यौं । गाडीको अघिल्लो सिटमा काकी बस्नुभएको थियो । ड्राइभरले फोन गरेर मन्दिर दर्शन गराउने दलालहरु बोलाई गाडी रोक्ने र अघिल्लो सीटमा जबरजस्ती दलालहरु बसाएको हामीलाई त्यति राम्रो लागिरहेको थिएन । छोटो बाटो पनि एकदमै लामो देखाएर बीचमा दलालहरु छिराएर ड्राइभरले हामीलाई धोका एवम् दुःख दिएको महसुस गर्यौं । तर हामी बाटो लागिसकेको हुनाले गर्दा र अब अलि टाढा गइसकेपछि ड्राइभरको कुनै नेटवर्क नरहने भएको हुनाले हामीले यसलाई त्यति महत्वका साथ लिएनौं । जसोतसो राम जन्मभूमिको दर्शन गरेर दिउँसो बाटोमा खाना खाई बेलुका साँझ नैमिषारण्य पुग्यौं र दर्शन गर्यौं । नैमिषारण्य पुगेपछि पिताजी अलि विमारी पर्नुभयो र भोलिपल्ट त्यहाँबाट धनगढी नजिक पर्ने भएकोले गर्दा धनगढी लगेर काठमाडौंको फ्लाइटमा पिताजीलाई फिर्ता पठाई हामी पुन आफ्नो गन्तव्यतर्फ लाग्ने हो कि भन्ने पनि विचार आयो । तर साँझपख जीवनजल लगायत केही औषधि खाएर सुतेपछि बिहान ठीक हुनुभयो र हरिद्वार हुँदै केदारनाथ, बद्रीनाथको दर्शनका लागि तयार हुनुभयो ।

नैमिषारण्य, कलियुगमा देवी देवताहरू आएर गुप्तबास बस्ने ठाउँको रूपमा मानिन्छ । यहाँको पूजापाठ समापन भइसकेपछि हामी हरिद्वारको यात्रामा निस्कियौं । यहाँबाट हरिद्वार पुग्नलाई लगभग ८ घण्टा गाडीमा हिँड्नु पर्दछ । बाटोमा पाइएका मिठा मिठा आँप र अन्य फलफुलहरुको मज्जा लिदै हामी हरिद्वार पुग्यौं र साँझको गंगा आरतीमा सहभागी बन्यौँ। गङ्गास्नान गरी साँझको आरती खुब मजा संगले सम्पन्न गरियो । अघिल्लो अघिल्लो पटक आउँदा खेरि हामी धर्मशालाहरूमा बस्ने गर्थ्यौं भने यसपल्ट होटलमा बास बसियो । बिहान सबेरै ऋषिकेश हुँदै हामी केदारनाथका लागि निस्कियौं । ८–९ घण्टाको पहाडी यात्रा पश्चात हामी गौरीकुण्ड पुग्यौं। आजको हाम्रो विश्राम गौरीकुण्डमै भयो । गौरी कुण्डबाट केदारनाथ लगभग १८ किलोमिटरको यात्रा हो । केदारनाथ कसरी जाने भनेर हामीले निर्क्यौल गर्न सकिराखेको थिएन।

केदारनाथ जानलाई जम्मा चारवटा विकल्पहरु थिए । पहिलो विकल्प भनेको हेलिकप्टरमा उत्तरकाशी बाट जुन चाहिँ कहिलेकाहीँ हेलिकप्टर क्यान्सिल भयो भने पुन उड्न नपाइने अवस्थाले गर्दा त्यो त्यति भरपर्दो पनि थिएन र महँगो यात्रा पनि हुन्थ्यो । दोस्रो भनेको पैदल यात्रा थियो । जुन लगभग १० घण्टाको कठिन यात्रापछि मात्रै केदारनाथ पुग्न सकिन्थ्यो । तेस्रो भनेको जनही रु २७०० तिरेर घोडाको यात्रा जुन ५ घण्टा जतिमा केदारनाथ पुग्न सकिन्छ र पुनः ४–५ घन्टाको यात्रापछि गौरीकुण्डबाट रु १७०० तिरेर फर्केर आउन सकिन्थ्यो । र, चौथो भनेको मानिसलाई बोकाएर गरिने यात्रा । यो यात्रा चाहिँ डोकोमा अर्थात चौकोटमा बोकेर मानिसहरूले केदारनाथ सम्म पुर्याउन पर्ने हुन्थ्यो र यसका लागि समय पनि ज्यादा लाग्दथ्यो ।

हामीले घोडाको यात्रालाई रोज्यौँ र त्यसपछि. घोडा सवारीवालाहरूसँग सल्लाह गर्यौ । बिहानको ३ बजे गौरीकुण्डबाट केदारनाथको लागि घोडामा निस्कने गरी हामी होटलमा बास बस्यौं । त्यहाँको होटल धेरै मानिसहरुको आवतजावतको कारणले गर्दा एकदमै सहज थिएन । मानिसहरुको भिडभाड र रातभरिको हल्लाखल्लाले निदाउन सक्ने अवस्था थिएन । एउटा अनौठो घटना त के भने बिहार तिरको एकजना महिलालाई केदारनाथबाट एकजना नेपाली युवाले डोकोमा बोकेर ल्याएछन् । उनले आफ्नो पारिश्रमिक माग्दा महिलाले मोबाइल ट्रान्सफर गर्दैको छु भनिछन् । त्यो ठाउँमा इन्टरनेट एक्सेस नभएको कारणले गर्दा मोबाइल ट्रान्सफर भए नभएको थाहा भएन। राति ती युवाले महिलासँग ढोका ढकढकाउँदै मसँग पैसा छैन, म भोकै छु, खाना खान भए पनि पैसा देऊ भनेर माग्दै थिए । भित्रबाट महिला भन्दै थिइन् – मसँग पनि पैसा छैन । अनलाइन ट्रान्सफर गरिसकेको छु र यदि भाको छैन भने उज्यालो भएपछि ट्रान्सफर गर्दिन्छु । म तिम्रो पारिश्रमिक खाएर भाग्दिनँ । बिहारको म पनि एउटा हुनेखाने परिवारको महिला हुँ भनेर उनले आफ्नो कुरा गर्दै थिइन् । पारिश्रमिक माग्ने व्यक्ति नेपाली नै थिए भन्ने कुरो चाहिँ उनको हिन्दी बोलाइबाट र उनले प्रयोग गर्ने गालीका शब्दहरुले पनि प्रस्ट हुन्थ्यो । यो लामो रातभरिको असहजताको कारणले गर्दा खेरि हामी सुत्न सकेनौं । जसोतसो ढल्किउँ र ३ बजेको हाम्रो केदारनाथको यात्रालाई पर्खिरह्यौ । २ बजेपछि हामी उठेर हातमुख धोएर केदारनाथ यात्राको लागि तयार भयौँ ।
५ दिनको बीचमा बनारसको त्रिचालिस डिग्री सेल्सियसको गर्मी बाट केदारनाथ को २–३ डिग्री सेल्सियसको चिसोमा पुग्दा शरीरलाई एडजस्ट गर्न पनि गाह्रो परिरहेको थियो । हामी सबैले एक एक वटा रेनकोट किनेर लगायौं । सिमसिम पानी पर्न थाल्यो । घोडामा चढेर केही तेर्सो र केही उकालो बाटो लाग्यौं । वास्तवमा घोडा चढेर यात्रा गर्नु अति कठिन यात्रा रहेछ । कहाँनिर कतिखेर घोडा चिप्लिन्छ र कहाँनेर कतिखेर पछारिने हो भन्ने कुरोको पत्तै नहुने रहेछ । ५ जना घोडामा चढ्यौं र त्यसमा पनि तीनटा ग्रुपका घोडा रहेछन्– एउटा आमा छोरी घोडाको ग्रुप जसमा म र मेरी श्रीमती थियौं । उनीहरुसँगै हिँडे । दोस्रो मेरो पिताजी र बहिनी मीरा चढेका घोडाहरू आमा छोरी रहेछन् । उनीहरु पनि सँगसँगै हिँडे । तर काकी चढेको घोडा चाहिँ हामीबाट छुट्यो र कहाँ रह्यो हामीलाई पत्ताफाँट नै भएन ।

घोडाद्वारा गौरीकुण्डदेखि केदारनाथसम्मको यात्रा।

केदारनाथ पुग्नुभन्दा ५ किलोमिटर अगाडि पुगेपछि घोडालाई गुण–चना खुवाउनलाई रोकियो । हामीहरु पनि घोडाबाट ओर्लियौं । घोडामा एकोहोरो बसाइ रातभरको अनिदो र कहाँनेर कतिखेर घोडा लड्छ भन्ने त्रासको कारणले गर्दा मानसिक चिन्ता आदिको कारणले हामी पनि थकित थियौं । पिताजीले मलाई र बुहारी मालालाई राम्रैसँग गाली गर्नुभयो । यहाँ आउने मानिसहरू पापी हुन् र अझ बढी पाप बटुल्न आएका हुन भन्न पनि भ्याउनुभयो । र, उहाँले भन्नुभयो– यी घोडाहरूको के दोष थियो जसले गर्दा यिनीहरुले यति धेरै यातना सहनु परेको छ ? त्योभन्दा त बरु मानिसहरुको काँधमा चढेर वा डोकोमा चढेर आउनु सजिलो हुन्छ, किनभने भोकाएको तिर्खाएको अर्थात् हिँड्न नसकेको या दुःख भएको उनीहरूले अभिव्यक्ति दिनसक्छन् । तर घोडाहरूले त न आफू भोकाएको कुरा भन्न सक्छन् न दुख भएको कुरा ब्यक्त गर्न सक्छन् । त्यसकारणले गर्दाखेरी यो पापीहरुको यात्रा जस्तो लाग्यो भनेर पिताजीले गुनासो गर्नुभयो । वास्तवमा किन यहाँ यो बाटोमा घोडाहरू यति धेरै हिँडाइएका हुन् भनेर सोध्दा एकजना घोडा व्यवसायीले भने– यो हाम्रो पुरानो व्यवसाय हो र यहाँ बाटो बन्नु, सिधै गाडी पुग्नु, वा अन्य उपायबाट धेरै मानिसहरुलाई केदारनाथ पुर्‍याउनु भनेको केदारनाथका आसपासका गाउँका धेरै मानिसहरु बेरोजगार बन्नु हो । घोडा यहाँको एउटा अपरिहार्य आर्थिक स्रोतको बाटो हो । वास्तविक हिसावले भन्दा यो ठीकै पनि होला तर दिनको २०००० मान्छेहरु आवतजावत गर्ने बाटोमा दिनको लगभग ४–५ वटा घोडाहरू भिरबाट खस्ने मान्छेहरुको मृत्यु हुने घाइते हुने, घोडाहरूको मृत्यु हुने आदि यी घटनाक्रमहरुले गर्दा यो त्यति राम्रो कुरा चाहिँ हो जस्तो लागेन । मेरो पिताजीले भनेजस्तो घोडा भन्दा यदि हिँड्न सकिन्न भने मानिसहरूको काँध चढेर जानु चाहिँ उचित हुन्छ होला जस्तो लाग्यो ।

केदारनाथ मन्दिरमा तीर्थालुहरू।

जब हामी केदारनाथ पुग्यौं, त्यहाँको अलौकिक दृश्य, मन्दिरको उर्जा, आदिले होला घोडाले पाएको दुख र २–४ पैसा कमाउन गएका नेपालीहरुले चौपाईमा मानिस बोकेर ल्याउँदा पाएको दुखलाई हामीले भुलिसकेका रहेछौं । हामीहरु केदारनाथ जुन १७ तारिखका दिन पुगेका थियौं । वास्तवमा आजको दिन सन् २०१३ मा यहाँ गएको हिमपहिरोले हजारौं मानिसहरुको ज्यान लिएको दिन थियो । हामीले पनि केदारनाथ मन्दिरमा गएर आजकै दिन सन् २०१३ मा दिवंगत भएका ती सारा तिर्थालु मानिसहरूको आत्माको चीर शान्तिको कामना गर्यौं । चिसो धेरै भएकोले हामी मन्दिरको पूजा पाठ सिद्धिएपछि तुरुन्तै खानपान गरेर घोडा चढेर पुन, गौरीकुण्ड फर्कियौं । गौरी कुण्डमा पार्किङ गरिरहेको हाम्रो गाडीको ड्राईभरलाई धेरै समय खोजेपछि तास खेल्दै गरेको अवस्थामा भेट्टाइयो र पुन गाडी लिएर हामी उत्तरकाशी आएर बास बस्ने गरी त्यहाँबाट बाटो लाग्यौँ । भोलिपल्ट बिहान उत्तरकाशी बाट चमौलीको गोपेश्वर महादेव हुँदै हामी बद्रीनाथको लागि बाटो लाग्यौं । उच्च पहाडी भेग, नेपालकै जस्ता डाँडाकाँडा, वनजंगल, रमाइलो वातावरणको मज्जा लिदै हामी गोपेश्वर महादेव पुग्यौं । गोपेश्वर महादेव सिलवाल बन्धुहरुको अर्थात केहि भारद्वाज गोत्रीय बन्धुहरुको कुल देवताको रूपमा पनि पुजिँदो रहेछ ।

गोपेश्वर महादेवको मन्दिर, चमौली।

त्यहाँको पूजापाठ सकिसकेपछि चमौलीमा खानपान गरेर हामी बद्रीनाथको बाटो हिँड्यो । जोशीमठ हुँदै बद्रीनाथ हामी लगभग बेलुका पुग्यौँ । बद्रीनाथमा पानी परिरहेको थियो । बाटोमा पहिरो जाने क्रम जारी नै थियो । मनमा त्रास सहित हामी बद्रीनाथ पुग्यौं र जाडोले लगलग काम्दै बेलुकाको दर्शन आरती सकेर होटलमा बास बस्यौ । धेरै चिसोको बाबजुद पनि जसोतसो एक रात कटाएर भोलिपल्ट पुन ऋषिकेशतर्फ बाटो लाग्यौं ।

बद्रीनाथ मन्दिर।

बाटोमा ऋषिकेश घुमघाम तथा दर्शन पश्चात साँझ हरिद्वार पुगेर बास बस्यौं । भोलिपल्ट दिल्ली हुँदै वृन्दावन पुगेर बास बस्ने योजनाका साथ हिड्यौं । हाम्रो ड्राइभर पुरानो तौरतरिकाको भएको हुनाले कुन बाटो कता जान्छ भनेर अनलाइन ट्र्याक गर्न नजान्ने र विभिन्न ठाउँहरूमा गाडी रोक्दै मानिसहरुलाई सोध्दै हिँड्नु पर्ने कारणले गर्दा यहाँनिर हाम्रो के सिकाइ रह्यो भने गाडी चलाउने अनुभवी ड्राइभर त हुनुपर्छ नै साथसाथै अहिलेको टेक्नोलोजीसँग परिचित ड्राइभर भयो भने मात्रै यात्रा सहज हुने रहेछ । दिल्ली जस्तो ठूलो शहरमा छिरिसकेपछि कुन बाटो कता जान्छ, कसरी कहाँ पुगिन्छ भन्ने कुनै पनि कुराहरुको ज्ञान नभएपछि र ट्रयाकिङ गर्ने टेक्नोलोजीसँग परिचित नभएपछि ड्राइभरलाई धेरै गाह्रो परेको महसुस गर्यौं । जसोतसो हामी दिउँसोको ३ बजे तिर वृन्दावन पुग्यौं । वृन्दावनमा एक जना त्रिवेदी थरका मानिसले हाम्रो गाडी रोकेर होटल र घुमफिरको व्यवस्थापनको लागि काम गर्ने जानकारी दिए र हामीले पनि उनको कुरालाई ठिकै मानेर उनले भनेको होटलमा गएर बास बस्यौं । ड्राइभरको बुबा यही हाम्रो यात्राको सिलसिला रहँदै खेरी बीचमा बित्नु भएछ र ड्राइभरले त्यसको लागि पुनः बनारस फर्कनु पर्ने भएकोले गर्दा हामीले यो गाडीलाई त्यहीँबाट बनारस सम्मको सम्पूर्ण लाग्ने खर्च ब्यहोरेर फिर्ता गरिदियौं र अर्को नयाँ गाडीको बन्दोबस्त गर्यौ ।

प्रेम मन्दिर बृन्दावन।

इन्डियाका अन्य सहरको दाँजोमा वृन्दावन अलिक फरक पायौं । मन्दिरहरूमा सहयोग रकम चाहिँ चुँइक्याएर मागे तापनि पसल तथा बाहिरी वातावरणमा त्यति धेरै चिटिङ भएको पाइएन । यसकारण हाम्रो यो ३ दिनको वृन्दावनको बसाई अति रमाइलो रह्यो । बृन्द्रावन लगायत आसपासका मन्दिरहरूमा बाँके बिहारी मन्दिर, प्रेम मन्दिर, मथुराका अन्य मन्दिरहरु, वर्षानामा राधारानीको मन्दिर साथसाथै गोकुलका विभिन्न पवित्र धामहरूको दर्शन गरियो । वास्तवमा भन्ने हो भने बृन्दावनको बसाइ उल्लासमय रह्यो । वृन्दावनको बसाइ पछि हामी एक रात दिल्लीमा बस्ने र दिल्लीबाट काठमाडौं फ्लाइटमा फर्किने कार्यक्रम मुताबिक दिल्लीतर्फ लाग्यौं । दिल्लीमा अरु थप कपडाहरु खरिद गर्ने सोच बनाएर हामीहरु लाजपात नगर, गान्धीनगर, चाइना टाउन लगायतका विभिन्न ठाउँहरु चहार्‍यौँ। दिल्ली आइसकेपछि हामीले बृन्दावनमा लिएको गाडीलाई फिर्ता पठाइदियौं र स्थानीय ट्याक्सीहरू प्रयोग गर्यौं ।

वृन्दावनमा मिर्गहरुसँग।

दिल्ली घुम्ने क्रममा हामीले टेम्पोमा यात्रा गर्दै गर्दा मीरा बहिनीले लगाएको सुनको सिक्री छिनाउनलाई मोटरसाइकलमा आएका दुई व्यक्तिले प्रयास गरे । तर टेम्पो ड्राइभर असल मान्छे भएकोले गर्दा यो पटक उनले बचाए । त्यस्तै गरेर पुरानो दिल्लीबाट नयाँदिल्लीतर्फ फर्कँदै गर्दा जाम भएको ठाउँमा २ जना केटाहरुले प्याक गरेका राम्रा राम्रा लुगाहरु बेचिरहेको जस्तो देखिन्थ्यो र गिफ्टको रुपमा कपडाहरु लानुपर्ने तथा कपडा पनि सस्तो पाइएकोले यी प्याकेटहरू हामीले पनि किन्यौं । तर रमाइलो कुरा त के भयो भने ती कपडाहरु जब होटलमा ल्याएर खोल्यौं, ती सबै कुनै हिसाबले काम नलाग्ने कपडाहरु थिए र हामी वास्तवमा राम्रो ठगीमा परेछौं भन्ने त्यतिखेर मात्र थाहा भयो । त्यस कारण कुनैपनि पसलहरुमा सामान किन्न राम्रै हुन्छ.जति महंगो परेपनि तर यसरी बाटामा राम्रो प्याकेटमा राखिएका वा सजाइएका सामानहरू भरपर्दो हुँदो रहेनछन् । यो पनि हाम्रो एउटा राम्रै सिकाइ रह्यो । गाडीको दैनिक कम्तिमा २५० किलोमिटर बराबरको पैसा तिर्नैपर्ने प्रावधान भएको हुनाले गर्दा हामीले सोही मुताविक योजनाहरू बनायौं र धेरैभन्दा धेरै लामो यात्राहरू गर्यौं । यो लोभको कारणले गर्दा १४ दिनको यात्रामा हामी राम्रैसँग थाकेका थियौं र दिल्लीबाट काठमाडौं फर्किंदै गर्दा अब यस्ता लामा यात्रा फेरि गरिन्न होला भने जस्तो भएको थियो ।

हामी १४ दिनको इन्डियाका विभिन्न धार्मिक स्थलहरूको यात्रा पश्चात काठमाडौं सकुशल फर्कियौं । यस चोटिको यात्रा अलिकति फरक रह्यो । त्यो के भने. अत्यन्त गर्मीबाट अत्यन्त जाडोमा, त्यस्तै गरी कम्तीमा २५० किलोमिटर प्रति दिनको हिँडाइ र कतै कतै विभिन्न हिसाबले भएका चिटिङहरुले गर्दा यात्रा कतै कतै अलि नमिठो जस्तो लागेपनि समग्रमा यो यात्रा अत्यन्तै उल्लासमय र रमाइलो रह्यो ।

मंसिर १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्