प्रिय पाठक,
देशसञ्चार डट कमको सातौं वार्षिकोत्सव मनाउँदै गर्दा हामी कृतज्ञता र गर्वले भरिएका छौं। यी वर्षहरूमा तपाईंको विश्वास र सहयोग नै हाम्रो यात्राको मुख्य आधार रहिआएको छ। ब्रेकिङ न्युजदेखि गहन विश्लेषणसम्म तपाईंलाई भरपर्दो, वस्तुनिष्ठ र निष्पक्ष रुपमा जानकारी प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य मात्र होइन, धर्म पनि हो।
डिजिटल पत्रकारिताको यो चुनौतीपूर्ण युगमा तपाईंको संलग्नताले हामीलाई उत्कृष्टताका लागि घच्घच्याइरहेको अनुभूति हामीले गरेका छौं। देशसञ्चार डट कमको समर्पित टोलीलाई हार्दिक धन्यवाद जसले विविध कठिनाइकै बीच पनि पत्रकारिताका उच्चतम मापदण्ड सुनिश्चित गर्न दिनरात मेहनत गरिरहेको छ।
मुलुक राजनीतिकसँगै अहिले आर्थिक संकटसँग जुधिरहेको छ। यी संकटहरूकाबीच संसारकै ‘कान्छो’ नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सञ्चालन भएकोमा हामी गर्व गर्न सक्छौं। यसले विश्वमञ्चमा नेपाली क्रिकेटलाई स्थापित गरेको छ। लामो समयदेखि नेपालमा खेलको अवसर खोजिराखिएकोमा लामो ‘खेलमार्ग’ निर्माणको खाका कोर्न यो सफलताले हामीलाई प्रेरित गरेको छ।
उपलब्ध सूचना र जानकारीलाई भरपर्दो समाचार, विश्लेषण र विचार या दृष्टिकोणमार्फत राष्ट्रिय समस्या समाधानमा सुसूचित गर्ने भूमिका खेल्नसक्ने समाज तयार गर्नु हाम्रो चाहना हो। प्रजातन्त्रमा सुसूचित जनताले मात्र राष्ट्रिय हितमा उपयुक्त निर्णय लिन सक्छन्, शासकवर्गलाई खबरदारी गर्दै। हाम्रो टोली सूचना र विचारको माध्यमबाट नेपालीलाई सशक्त बनाउन समर्पित छ, विश्वसनीय र तथ्यगतरुपमा।
डिजिटल मिडियाको सामर्थ्यपूर्ण यात्रालाई अघि बढाउँदै आपसमा जोडिएको समाज निर्माण सम्भव छ भन्ने कुरा अहिलेको सूचना र प्रविधि युगका धेरै घटनाक्रमहरूले पुष्टि गरिसकेको छ। तपाईंको समर्थन र संलग्नताले यस यात्रामा जोशको इन्धन र होसको ब्रेक या संयमको काम गर्ने छ। तपाईंको समर्थन र आलोचनालाई हामीले आफ्नो अधिकारका रुपमा लिएका छौं। हामी आभारी छौं।
नयाँ वर्ष २०२५ को शुभअवसरमा तपाईंहरुको जीवनमा शान्ति, समृद्धि, स्वास्थ्य एवम् सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
अध्यक्ष
रवीनकुमार दाहाल, देशसञ्चार
भर्खरै
लोकप्रिय
