- एमाले संसदीय दलको नेता बन्न सुहाङ नेम्वाङको उम्मेदवारी रोक्न महासचिव शंकर पोखरेलले सांसदहरुलाई व्यक्तिगत रूपमा धम्क्याएका थिए।
- उपाध्यक्ष रामबहादुर थापा बादलको उम्मेदवारी मात्र रहेको र उनलाई निर्विरोध नेता चयन गरिएको घोषणा गरिनेछ।
- सुहाङलाई नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु लागेका भए पनि अन्ततः उनीहरु पछि हटेका थिए।
काठमाडौँ – एमाले संसदीय दलको नेता चयनमा सुहाङ नेम्वाङको उम्मेदवारी नै रोक्न संस्थापन पक्ष सफल भएको छ।
उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाउने तयारी अध्यक्ष केपी ओलीसहितका नेताहरुले गरेको अवस्थामा नेम्वाङले आफू पनि उम्मेदवार हुने इच्छा देखाएपछि उनलाई रोकिएको हो।
निर्वाचन समितिका सदस्य निरज आचार्यका अनुसार बादल एक जनाको मात्रै उम्मेदवारी परेको र उनलाई निर्विरोध दलको नेता चयन भएको घोषणा गरिने भएको छ।
एमाले स्रोतका अनुसार सुहाङलाई दलको नेता बताउन अर्का उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु लागेका थिए। उनलाई उम्मेदवार बन्न तयार पनि पारिएको थियो।
तर महासचिव शंकर पोखरेलले प्रत्येक सांसदसँग छुट्टाछुट्टै कुरा गरेर सुवाङको पक्षमा नलाग्न भनेपछि उनको उम्मेदवारी रोकिएको हो। एक नेताले भने, ‘सुहाङको उम्मेदवारी नै पर्न नदिन प्रत्येक सांसदलाई व्यक्तिगत रुपमा धम्क्याइयो। त्यसो हुँदा उहाँको समर्थक र प्रस्तावक बस्ने व्यक्ति नै पाइएन।’
प्रस्तावक र समर्थक बस्ने सांसद नै नपाएपछि सुहाङले लगेको उम्मेदवारी फर्म खेर गएको छ।
महासचिव पोखरेलको सक्रियतापछि पौडेल पनि सुवाङलाई नेता बनाउने तयारीबाट पछि हटेका हुन्। एमालेले प्रतिनिधिसभा जम्मा २५ सिट जितेको छ।
भर्खरै
लोकप्रिय
