काठमाडौँ- प्रतिनिधिसभाको सभामुख चयनको औपचारिक प्रक्रिया आजबाट सुरु हुँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
सचिवालयले उम्मेदवारको अन्तिम नामावली आजै दिउँसो २:३० बजे प्रकाशन गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन आगामी चैत २२ गते आइतबार हुनेछ। सो दिन बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन प्रक्रिया अघि बढाउने गरी ज्येष्ठ सदस्यले मिति तोक्नुभएको छ।
यदि सभामुख पदका लागि एकभन्दा बढी उम्मेदवारी दर्ता भएमा सोही बैठकमा मतदान प्रक्रिया सुरु हुने सचिवालयले जनाएको छ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्यालको नाम सर्वसम्मतिले पारित गरेको हो।
हालको प्रतिनिधिसभामा रास्वपाको झण्डै दुई तिहाइ अर्थात् १८४ सांसद रहेकाले अर्याल निर्वाचित हुने सम्भावना निकै उच्च देखिएको छ।
उनी काठमाडौँ क्षेत्र नं. ९ बाट निर्वाचित सांसद हुन्।
भर्खरै
लोकप्रिय
