उपसभामुखमा नेकपा, श्रम संस्कृति र राप्रपाको आँखा, कसले मार्ला बाजी?

उपसभामुखमा नेकपा, श्रम संस्कृति र राप्रपाको आँखा, कसले मार्ला बाजी?
+
-

काठमाडौँ – आइतबार प्रतिनिधिसभाले सभामुखमा डोलप्रसाद अर्याललाई चयन गर्‍यो। झण्डै दुई तिहाइ बहुमत रहेको रास्वपाका उपसभापति समेत रहेका काठमाडौँ ९ बाट निर्वाचित सांसद अर्याल सर्वसम्मत रूपमा सभामुख चयन भए।

नेपालको संविधानको धारा ९१ (१) अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने छ। चैत १९ गते संसदको अधिवेशन सुरु भएकाले अब वैशाख ४ गतेभित्र उपसभामुख समेत चयन भइसक्नुपर्नेछ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व भएको अवस्थामा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्छ। धारा ९१ (२) मा उल्लेख गरिएको छ, ‘प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ ।’

रास्वपाबाट अर्याल सभामुख चयन भइसकेकाले अब संसदमा प्रतिनिधित्व गर्ने अरु दलका महिला सांसदबाट उपसभामुख चयन गर्नुपर्ने भएको छ।

उपसभामुखमा नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले दाबी प्रस्तुत गर्दै रास्वपासँग संवाद अघि बढाएका छन्। उपसभामुख चयनबारे संसद सचिवालयलाई अहिलेसम्म दलहरुले कुनै तयारी अघि बढाउन भनेका छैनन्।

नेकपाले आफूलाई उपसभामुख दिनुपर्ने लबिङ गरेको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा आफ्नो दललाई उपसभामुख दिन आग्रह गरेका थिए। प्रमुख सचेतक युवराज दुलालले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताए। उनले भने, ‘त्यसमा हाम्रो पार्टीको पनि दाबी रहन्छ।’

उपसभामुख दिए राष्ट्रियसभामा सत्तारुढ रास्वपमा शून्य अवस्थामा रहेकाले दोस्रो ठूलो दल हुँदा सरकारलाई त्यहाँ सहयोग गर्ने आश्वासन नेकपाले गरेको छ।

त्यस्तै हर्क साङ्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि उपसभामुख आफ्नो दलले पाउनुपर्ने दाबी सार्वजनिक रूपमा र रास्वपासँग पनि गरेको छ।

उनले उपसभामुखमा आफ्नो पार्टीले दाबी रहेकाले त्यसलाई र्‍याल काडेको रुपमा लिन हुने उल्लेख गरे। उनले उम्मेदवारी दिने घोषणा नै गरिसकेका छन्। साङ्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लोकतान्त्रिक अभ्यास गर्नेछौँ। उम्मेद्वारी दिन पाउने हाम्रो अधिकार हो । मत हाल्नु नहाल्नु त्यो सांसदहरुको अधिकार हो। यसलाई र्‍याल काड्ने स्याल काड्ने नभन्नु।’

उता राप्रपाले पनि उपसभामुखमा दाबी प्रस्तुत गर्दैै रास्वपासँग सघन छलफल गरिरहेको छ। राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले शनिबार लामिछानेसँग उनको निवासमै पुगेर उपसभामुख आफ्नो दललाई दिन आग्रह गरे।

अनौपचारिक रुपमा माग गरिहेको राप्रपाले लामिछानेसँग भेटेर औपचारिक रुपमा उपसभामुखका लागि याचना गरेको हो। राप्रपाले अवसर पाएको अवस्थामा उक्त दलकी खुश्बु ओली उम्मेदवार हुने निश्चित छ। उनले कुराकानी भए पनि आफ्नो दलले उपसभामुख पद पाउने नपाउने बारे टुंगो लागिनसकेको बताइन्।

ओलीले भनिन्, ‘कुराकानी भइरहेको छ। हाम्रो संसदीय दलको नेताले हिजो रास्वपाका सभापतिज्यूलाई पनि भेट्नु भयो। के हुने हो, त्यसको जानकारी मसम्म आइपुगेको छैन।’

रास्वपाले पनि विभिन्न दलसँग कुराकानी भए पनि कुन दलले तय गरेको उम्मेदवारलाई समर्थन गर्ने भन्ने यकिन भइनसकेका जनायो। रास्वपा सांसद लिमा अधिकारीले भनिन्, ‘कुराकानी भइरहेको सुनेका छौँ। तर कुन दललाई समर्थन गर्ने भन्ने यकिन भइसकेको छैन। छलफलमै होला।’

उपसभामुख कुन दललाई दिने भन्नेबारे रास्वपाभित्र पनि प्रधानमन्त्री बालेन्द्र शाह र सभापति लामिछानेबीच एक मत देखिएको छैन। स्रोतका अनुसार लामिछानेले राप्रपालाई दिनुपर्नेमा जोडबल गरेका छन् भने शाहको रोजाइमा श्रम संस्कृति पार्टी परेको छ।

संसदमा सभामुखको अनुपस्थितिमा निर्णायक भूमिकासँगै संवैधानिक परिषदको समेत सदस्य हुने भएकाले उपसभामुखमा दलहरुले आँखा लगाएका हुन्। संवैधानिक परिषदले गर्ने नियुक्तिमा प्रभाव राख्न सकिने भएकाले पनि दलहरुको आकर्षण उपसभामुखमा देखिएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…