- मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था र परियोजनाको आवश्यकता अनुसार तयार गरिने बताएका छन्।
- योजनाहरू योजना बैंकमार्फत छनोट गरिने र त्यसका लागि प्रणालीगत सुधारको आवश्यकता रहेको उनले उल्लेख गरे।
- बजेटको भाषा, संरचना, प्रभाव बुझ्न पिबिओ स्थापना गर्दै वित्तीय पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने सुझाव दिइयो।
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था अनुसार तयार गरिने बताएका छन् ।
सोमबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित संसदीय बजेट कार्यालयसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
‘हाम्रो अवस्था जे छ, त्यही आधारमा बजेट ल्याउँछौं । अघिल्लो वर्ष प्रयास गरे पनि प्राविधिक कारणले त्रुटि भयो, अबको बजेट वास्तविकतामा आधारित हुनेछ,’ मुख्यमन्त्री आचार्यले भने ।
उनले आयोजना बैंकमार्फत सिफारिस भएका योजनामात्रै बजेटमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए । योजना छनोटमा प्रणालीगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले योजना बैंकमार्फत योजना छनोट गर्ने परिपाटी विकास गरिने बताए ।
कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले बजेट तर्जुमा प्रक्रियालाई वस्तुगत र प्रभावकारी बनाउन पहल भइरहेको बताए । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगर, उपसचिव लोकमणी पाण्डे तथा अर्थशास्त्री एवं पूर्व योजना आयोग सदस्य डा. सुदनकुमार वलीले बजेट प्रणाली, चुनौती र सुधारका उपायबारे प्रस्तुति दिए ।
छलफलमा संसदीय बजेट कार्यालय (पिबिओ) स्थापना आवश्यक रहेकोमा जोड दिइएको छ । बजेटको भाषा, संरचना, प्रभाव र औचित्य बुझ्न प्रदेश सभा सदस्यलाई सहयोग गर्ने संयन्त्रका रूपमा (पिओबी) लाई प्रदेशमा स्थापना गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा बजेट विश्लेषण तथा निगरानी संयन्त्रलाई संस्थागत गर्ने, वित्तीय पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने, बजेट अनुशासन सुधार गर्ने जस्ता नीतिगत सुझावहरू प्रस्तुत गरिएको थियो ।
साथै लैङ्गिक तथा सामाजिक समावेशीता, जलवायु उत्तरदायित्व, वित्तीय समन्वय, तथ्याङ्क प्रणाली तथा बजेट साक्षरता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
भर्खरै
लोकप्रिय
