- प्रदेश सभा सदस्य अम्बिका काफ्लेले निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीका लागि तत्काल समिति गठनको माग गरिन्।
- बर्दियामा भएको त्रासपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिक सुरक्षा प्रति संवेदनशील हुनुपर्ने उनले बताइन्।
- पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै मूल्य नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने उनको धारणा थियो।
दाङ– लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनको दशौँ बैठकमा समसामयिक विषयमा बोल्दै प्रदेश सभा सदस्य अम्बिका काफ्लेले विभिन्न जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
उनले नेपालगंज-१२ की सृजना बुढा मगरको घटनाको सम्बन्धमा निष्पक्ष छानबिनका लागि तत्काल छानबिन समिति गठन गर्न माग गरिन। घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, बर्दियामा पछिल्लो समय देखिएको त्रासपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले `के सोझा बर्दियाली नागरिकले सधैं त्रासमा बाँच्न सरकारसँग सम्झौता गरेका हुन् ?´ भन्ने प्रश्न उठाइन। नागरिकको सुरक्षामा सरकार संवेदनशील हुनुपर्ने उनले जोड दिइन्।
प्रदेश सभा सदस्य काफ्लेले मान्छे मार्ने बाघको आतंक नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था गर्न पनि माग गरिन। मानव जीवनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै यस्ता बाघलाई नियन्त्रण गर्न स्पष्ट कानुनी प्रावधान आवश्यक रहेको उनको भनाइ थियो।
यसैगरी, पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै उनले नेपाल सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएर नेपाली नागरिकलाई `उपहार´दिएको हो भनी प्रश्न गरिन। मूल्यवृद्धिले जनताको दैनिक जीवन थप कष्टकर बनाएको उल्लेख गर्दै उनले सरकारलाई मूल्य नियन्त्रणतर्फ गम्भीर हुन आग्रह गरिन्।
भर्खरै
लोकप्रिय
