- मुगु हिमाली जिल्लाका महिलाहरूले घरधन्दा, खेतबारी, पशुपालन र बालबालिकाको हेरचाहजस्ता अधिकांश जिम्मेवारी सम्हाल्दै आएका छन्।
- पुरुषहरु घरबाहिर रोजगारीको खोजीमा जाँदा, स्थानीय महिलामाथि कार्यभार बढेको उनीहरूको गुनासो छ।
- महिलाहरूको जीवनस्तर सुधार्न सीपमूलक तालिम, वैकल्पिक रोजगारी अवसर र पुरुषहरुको सहयोग आवश्यक छ।
मुगु – दुर्गम हिमाली जिल्ला मुगुमा दैनिक जीवनयापनका अधिकांश जिम्मेवारी महिलाकै काँधमा थुप्रिएको देखिएको छ।
घरधन्दा देखि लिएर मल (प्राेसाे) घाँस,दाउरा संकलन, पानी बोक्ने, खेतबारीको काम, पशुपालन र बालबालिकाको हेरचाहसम्मका काम महिलाहरूले नै सम्हाल्दै आएका छन्।
विशेषगरी मुगुका चार ओटै स्थानिय तहहरूका ग्रामीणबस्तीहरूमा पुरुषहरू रोजगारीका लागि बाहिरिने प्रवृत्ति बढ्दै जाँदा महिलामाथिको कामकाे भार अँझ बढेको स्थानीय महिलाहरू बताउँछन्। बिहान सबेरै उठेर राति अबेरसम्म निरन्तर काम गर्नु परेकाे ले पुरूष भन्दा हामी महिलाहरूकाे कार्य बाेझ बढी नै भएकाे महिलाहरूकाे गुनासाे छ ।

छायाँनाथरारा नगरपालिका बडा नं १ की महिला सक्कली शाही भन्छिन “ हामीहरूकाे समय दिनभरि काममै बित्छ, तर हाम्रो दुःख कसैले देख्दैन।” यस्तै साेही नगरपालिका वडानं ५ ढुम निबासी लाप्से बिकका अनुसार “दैनिक गुजारा चलाउन महिलाले जोखिमपूर्ण बाटो हुँदै दाउरा र घाँस ल्याउनुपर्ने बाध्यता अझै कायमै छ । ”
यस अवस्थालाई सुधार गर्न स्थानीय तहले महिलामैत्री कार्यक्रम, सीपमूलक तालिम र वैकल्पिक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, घरायसी कामको जिम्मेवारी बाँडफाँड गर्दै लैजान पुरुषहरूको भूमिकासमेत महत्वपूर्ण हुने सरोकारवालाहरूको भनाइ छ।
मुगुजस्ता दुर्गम जिल्लामा महिलाको श्रमलाई सम्मान र उचित मूल्याङ्कन गर्दै उनीहरूको जीवनस्तर सुधारतर्फ ध्यान दिनु आजको आवश्यकता बनेको छ।
भर्खरै
लोकप्रिय
