- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २०८३/८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गर्दै रूपान्तरणकारी कार्यक्रमहरू अघि सारेको छ।
- नगरपालिकाले डिजिटल शिक्षक बैंकमार्फत योग्य शिक्षक छनोट गरी विषयगत शिक्षकको अभाव कम गर्ने नीति अपनाएको छ।
- नगरपालिकाले छात्रवृत्ति कोष र विशेष शिक्षा कार्यक्रमहरू मार्फत जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग प्रदान गरिनेछ।
सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गरेको छ ।
नगरपालिकाले विद्यालय शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ विभिन्न रूपान्तरणकारी कार्यक्रमहरू अघि सारेको छ ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शिक्षक बैंक, स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) शिक्षा, कार्यसम्पादन करार तथा दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कोष सञ्चालन जस्ता योजनाहरू कार्यान्वयन गरिनेछ ।
वीरेन्द्रनगरलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न १० वर्षे शिक्षा क्षेत्र योजना पनि लागू गरिएको छ ।
डिजिटल शिक्षक बैंक र शिक्षण सुधार योजना
सामुदायिक विद्यालयहरूमा देखिने विषयगत शिक्षकको अभाव हटाउन नगरपालिकाले यसै वर्ष ‘डिजिटल शिक्षक बैंक’ स्थापना गर्ने नीति लिएको छ । रिक्त रहेका शिक्षक पदहरूमा यही बैंकमार्फत योग्य शिक्षक छनोट गरिनेछ ।
विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव कम गर्न नगरस्तरीय सिकाइ सहजीकरण केन्द्रलाई थप आधुनिक र प्रभावकारी बनाइनेछ । यसका साथै, प्रारम्भिक बालविकास (इसिडी) कक्षाको भौतिक पूर्वाधार र शिक्षण–सिकाइ मापदण्डमा सुधार गरी सिकाइको बलियो आधार निर्माण गर्ने लक्ष्य राखिएको छ ।
जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति र विशेष शिक्षा
नगरपालिकाले मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कोष सञ्चालनमा ल्याउने भएको छ ।
यस कोषमार्फत नगरभित्रका जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
त्यस्तै, अटिजम भएका बालबालिकाका लागि प्रारम्भिक सिकाइ केन्द्र स्थापना गर्ने योजना पनि बनाइएको छ ।
‘म बनाउँछु, मेरो नगर शिक्षा विकास कोष’ मा रहेको रकम परिचालन गरी लक्षित वर्गका बढीभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
जवाफदेहिता, क्षमता विकास र थिङ्क ट्याङ्क
शिक्षाको गुणस्तर सुधारका लागि प्रधानाध्यापक र शिक्षकहरूसँग कार्यसम्पादन करार सम्झौता गरिनेछ ।
विद्यालयको वार्षिक नतिजाका आधारमा स्तरीकरण गरी सोहीअनुसार सामुदायिक विद्यालयहरूमा लगानी बढाइनेछ ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पससँग सहकार्य गर्दै शिक्षक मेन्टरिङ र क्षमता विकासका कार्यक्रमहरू चलाइनेछ ।
साथै, निवृत्त शिक्षक तथा कर्मचारीहरू सम्मिलित ‘वीरेन्द्रनगर थिङ्क ट्याङ्क’ समूह स्थापना गरी शैक्षिक नीति र योजनामा परामर्श लिइनेछ ।
साझेदारी र ‘कक्षाकोठामा नगरप्रमुख’ कार्यक्रम
अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने शिक्षकहरूको क्षमता विकासका लागि आवश्यक तालिमहरू सञ्चालन गरिनेछ ।
विद्यालयको सिकाइ उपलब्धि सुधार गर्न इच्छुक गैरसरकारी संस्था तथा निजी शैक्षिक संस्थाहरूसँग पनि साझेदारी गर्ने नीति लिइएको छ ।
यसका साथै, नगरप्रमुख स्वयं कक्षाकोठामा पुगेर विद्यार्थीहरूसँग अन्तक्र्रिया गर्ने ‘कक्षाकोठामा नगरप्रमुख’ कार्यक्रम पनि यस वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको छ ।
यी कार्यक्रमहरूले वीरेन्द्रनगरको शैक्षिक क्षेत्रमा ठूलो सुधार ल्याउने विश्वास गरिएको छ ।
भर्खरै
लोकप्रिय
