- रातो डाँडा क्षेत्रलाई व्यवस्थित आवासीय क्षेत्रको रूपमा विकास गर्न संरचनागत र नीतिगत समस्याहरू समाधान गर्न ध्यानाकर्षण गराइएको छ।
- विभिन्न कार्यालयहरूको सेवा सुचारु गर्न, खेल मैदान र अस्पताल सञ्चालनमा प्राथमिकता दिन आवश्यक रहेको जनाइएको छ।
- शामल प्रक्रिया कडाइ गरि क्षेत्रिय विकासका लागि आर्थिक गतिविधि बढाउन र रोजगारी सिर्जना गर्न माग गरिएको छ।
दाङ – लमहीस्थित रातो डाँडा टाउन प्लानिङ क्षेत्रका सरोकारवालाहरूले क्षेत्रको समग्र विकासका लागि पहल गरिदिन प्रतिनिधि सभा सदस्य देवराज पाठकसमक्ष ज्ञापनपत्र पेश गरेका छन्। टाउन प्लानिङ टोल विकास संस्था, रातो डाँडाले विभिन्न संरचनागत, नीतिगत तथा सेवा प्रवाहसँग सम्बन्धित समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा लमही नगरपालिकाको सहजीकरणमा व्यवस्थित आवासीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको रातो डाँडा क्षेत्र अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गरिएको छ। व्यापारिक, आवासीय, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, पार्क लगायतका क्षेत्र निर्धारण गरी पूर्वाधार विकास भए पनि सेवा सञ्चालनमा समस्या रहेको जनाइएको छ।

संस्थाले नगर विकास समिति र नगरपालिकाबीच समन्वय अभाव हुँदा योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको औंल्याएको छ। एकद्वार प्रणालीमार्फत कार्य सञ्चालन गर्ने नीतिगत व्यवस्था गर्न माग गरिएको छ। यसैगरी बैंक तथा वित्तीय संस्था, मालपोत, नापी लगायतका कार्यालयहरूलाई तत्काल सेवा प्रवाह सुरु गर्न सम्बन्धित निकायबाट परिपत्र जारी गरिनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा खेल मैदान, बहुउद्देश्यीय सभा हल, पार्क तथा सार्वजनिक स्थलहरूको निर्माण तथा सञ्चालनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। निर्माण सम्पन्न ट्रमा अस्पताललाई जनरल तथा ट्रमा सेवासहित सञ्चालनमा ल्याउन पनि आग्रह गरिएको छ। दुग्ध उत्पादन तथा संकलन केन्द्रलाई व्यवस्थित गरी कृषकलाई लाभ हुने वातावरण सिर्जना गर्नुपर्ने, साथै आधुनिक आवासीय तथा व्यापारिक संरचना निर्माणका लागि स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने माग समेत गरिएको छ।
रातो डाँडा क्षेत्रलाई आकर्षक, सुरक्षित र स्मार्ट आवासीय क्षेत्रका रूपमा विकास गर्न सडक, बत्ती, सुरक्षा गस्ती तथा बजार व्यवस्थापनमा सुधार आवश्यक रहेको पनि ज्ञापनपत्रमा उल्लेख छ। संस्थाले समयबद्ध रूपमा घडेरीमा घर निर्माण नहुँदा क्षेत्र अस्तव्यस्त बन्दै गएको भन्दै नियमन कडाइ गर्नुपर्ने माग गरेको छ।
ज्ञापनपत्रमा सांसद पाठकको पहलमा रातो डाँडा क्षेत्रलाई नमूना शहरका रूपमा विकास गर्दै आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। टोल विकास संस्थाका अध्यक्ष खुमानन्द भण्डारीसहित पदाधिकारी तथा स्थानीयवासीहरूले हस्ताक्षर गरेको ज्ञापनपत्रमा दीर्घकालीन योजनासहित समस्या समाधान गर्न माग गरिएको छ।
भर्खरै
लोकप्रिय
