- तातोपानी गाउँपालिकामा विद्युतीय चुलो र सौर्य बत्तीको प्रयोगले महिलाहरूको दैनिकीमा ठूला परिवर्तन ल्याएको छ।
- करेसा बारीबाट उत्पादन भएको तरकारीले पोषण र आंशिक आम्दानी दिए पनि पुरुषहरूको निर्णयप्रति निर्भरता अझै कायम छ।
- दलित र गरिब महिलाहरूले जमिनको अभाव र सहकारीमा सक्रिय हुन नसक्नेजस्ता समस्याहरूको सामना गर्नु परिरहेको छ।
जुम्लाको कर्णालीमा पर्ने तातोपानी गाउँपालिकाका गाउँहरु— जहाँ केही वर्षअघिसम्म यहाँको बिहान धुँवाले भरिएको हुन्थ्यो। गाउँका अन्य महिलाहरूको जस्तै सीता रोकायाका लागि पनि दिनको सुरुवात भनेको दाउरा बाल्ने, आँखा पोल्ने धुँवा सहने र घरधन्दा सम्हाल्ने हुन्थ्यो। ‘बिहान उठ्दा चुलो बाल्नै पर्थ्यो, धुँवाले आँखा पिरो हुन्थ्यो,’ उनी भन्छिन्।
श्रीमान् भारतमा छन्। घर, खेत, बालबच्चा, बुढापाढका, रोगी बिमारी—सबै जिम्मेवारी सीताको काँधमा हुन्छ। दिनभरि काम गरे पनि नगद आम्दानी शून्यजस्तै हुने।
तर अहिले उनको भान्छा बदलिएको छ। धुँवा हराएको छ। विद्युतीय चुलो छ, सौर्य बत्ती छ, सिँचाइका लागि पानी तान्ने सुविधा छ। ‘अब काम छिटो हुन्छ, समय बच्यो,’ उनी भन्छिन्।
घरअगाडिको खाली जमिनमा उनले करेसा बारी सुरु गरिन्। सुरुमा उनलाई पनि विश्वास थिएन। तर पानीको सहज पहुँच भएपछि सानो ठाउँ पनि उत्पादनशील बन्यो। अहिले उनको करेसा बारीमा साग, टमाटर, काउली लगागत थुप्रै किसिमका तरकारी उत्पादन हुन्छन्।
‘अब बजारबाट किनेर खानु पर्दैन,’ उनी भन्छिन्, ‘बरु बेच्न पनि लैजान्छु।’
उनकी छोरी गौरीका विद्यालय जान्छिन्। पहिलेजस्तो कमजोर छैनिन्। घरमै उत्पादन भएको तरकारी खान थालेपछि स्वास्थ्यमा सुधार आएको छ। विद्यालयमा पनि परिवर्तन छ—खाजामा गाउँकै अन्न तथा तरकारी प्रयोग हुन थालेको छ। दुर्गम क्षेत्रका लागि यो सानो कुरा होइन।
तर यो कथा यति सरल छैन। तातोपानीका धेरै परिवारका पुरुषहरू अझै पनि भारततिर जान्छन्। घरमा महिलाहरू मात्र हुन्छन्। बालबालिका पनि कहिलेकाहीँ अभिभावकसँगै जान्छन्, महिनौँसम्म विद्यालय छुट्छ। यस्तो अवस्थामा तरकारी खेतीले कम्तीमा घरमा बसेका बालबालिकालाई पोषण दिन थालेको छ, विद्यालय जाने रुचि पनि बढाएको छ।

सीताले अहिले करेसा बारीबाट आएको तरकारी बजारमा बेच्न पनि थालिन्। ‘महिनामा एक–दुई हजार त आउँछ,’ उनी भन्छिन्। कहिलेकाहीँ पाँच हजारसम्म पनि पुग्छ। त्यो पैसा उनले छोरीको कापी, परिबारका अन्य सदस्यहरूका लागि औषधि र घरखर्चमा प्रयोग गर्छिन्। सानो रकम भए पनि उनको लागि ठूलो कुरा हो—पहिलो पटक उनले आफ्नै कमाइ अनुभव गरेकी छन्।
तर बजारसम्मको यात्रा सजिलो छैन। बिहान सबेरै निस्किनुपर्छ, टाढा हिँड्नुपर्छ। कहिलेकाहीँ सबै तरकारी बेचिँदैन। ‘कहिलेकाहीँ फिर्ता ल्याउँदा कुहिन्छ,’ उनी भन्छिन्। उचित मूल्य नपाउने समस्या अझै छ ।
गाउँमा सीता मात्रै होइन, धेरै महिलाहरू यस्तै यात्रामा छन्। कसैले सिलाइ सिकेर कपडा सिलाउन थालेका छन्, कसैले सागसब्जी बेच्न थालेका छन्। पहिले घरभित्र सीमित रहेका उनीहरू अहिले महिला कृषक समूहमा बस्छन्, कुरा गर्छन्, योजना बनाउँछन्।
तर भित्री रूपमा सबै कुरा बदलिएको छैन। ‘ठूलो निर्णय गर्दा अझै पनि पुरुषकै कुरा अन्तिम हुन्छ,’ सीता स्वीकार्छिन्। धेरै महिलाहरू पढ्न लेख्न नजान्ने भएकाले बजारको जानकारी लिन सक्दैनन्, सहकारीमा सक्रिय हुन गाह्रो हुन्छ। उनीहरूको आवाज अझै पनि कमजोर नै छ ।
दलित र गरिब परिवारका महिलाहरूका लागि त यो यात्रा अझै कठिन छ। कतिपयसँग आफ्नै जमिन छैन, सानो टुक्रा भाडामा लिएर खेती गर्नुपर्छ। त्यहाँ पनि पानी, ऊर्जा, उत्पादन—सबै कुरा व्यवस्थापन गर्न चुनौती हुन्छ । तर उनीहरू पनि अब पछि हटेका छैनन्।

‘पहिले जस्तो छैन अब,’ उनी बिस्तारै भन्छिन्, ‘अब केही आफ्नो जस्तो लाग्छ।’
तातोपानीको गाउँहरुको यी परिवर्तन कुनै ठूलो शहरको कथा होइन। यो सानो सानो परिवर्तनहरूको कथा हो—एक चुलो, एक करेसाबारी, एक महिलाको आत्मविश्वास। जहाँ ऊर्जा उज्यालो मात्रै होइन, सम्भावनाको ढोका बनेको छ। जहाँ घरबगैंचा तथा करेसाबारी केवल खाना होइन, भविष्यको आधार बनेको छ। र जहाँ महिलाहरूले पहिलो पटक आफूलाई केवल घर सम्हाल्ने होइन, जीवन बदल्ने शक्ति भएको महसुस गर्न थालेका छन्।
(अन्तर्राष्ट्रिय विकास क्षेत्रका परामर्शदाता बालकृष्ण सिलवाल शर्मासँग लैङ्गिक समानता, सामाजिक समावेशिता, सुशासन तथा अनुगमन तथा मूल्याङ्कन क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव छ।)
भर्खरै
लोकप्रिय
