बुवा तुलसी घिमिरेको बाटो पच्छ्याउँदै अभिनेत्री पञ्चमी घिमिरे (भिडियो)

+
-
देशसञ्चार AI सारांश
  • पञ्चमी घिमिरेले ‘पहाड’ चलचित्रको मुख्य पात्र तारा गर्ने चाहना व्यक्त गरिन् र अन्ततः अनुबन्धित भइन्।
  • फिल्म ‘पहाड’ विदेशिएका नेपालीहरूको भावना र फर्किने चाहनालाई उजागर गर्ने सन्देश दिन्छ।
  • नेपाली फिल्महरू मौलिक कथामा बनाइनुपर्छ भन्ने बुझाइ भएकी पञ्चमी आफैं अभिनयलाई प्राथमिकतामा राख्छिन्।

अभिनेत्री पञ्चमी घिमिरेले ‘पहाड’ चलचित्रको स्क्रिप्ट पहिलोपटक घरमै सुनेकी थिइन्। उनका पिता वरिष्ठ फिल्म लेखक/निर्देशक तुलसी घिमिरेले जब स्क्रिप्ट घरका परिवारमा सुनाए, पञ्चमीले खुब मन पराइन्। अझ पहाड चलचित्रको ‘तारा’ पात्र उनलाई खुबै मन पर्‍यो तर बुवालाई सिधै ‘ताराको भूमिका म गर्न चाहन्छु’ भन्न सकिनन्। अनि अर्को दिन आमालाई खुसुक्क भनिन्। पञ्चमीको कुरा सुनुवाइ भयो। फिल्म पहाडको मुख्य नायिकामा पञ्चमी अनुबन्धित भइन्।

नेपाली फिल्म क्षेत्रमा निर्देशक घिमिरेले थुप्रै नयाँ कलाकार जन्माएका छन्। थुप्रै कलाकारलाई स्थापित गराएका छन्। यसपटक उनले आफ्नै छोरी पञ्चमीलाई डेब्यु गराए पहाड फिल्ममार्फत। पञ्चमी खुसी छन्। आफूले तारा चरित्रलाई न्याय दिने कोसिस गरेको बताउँछिन्। ‘मैले तारा चरित्रलाई सक्दो न्याय गर्ने कोसिस गरेको छु,’ उनले देशसञ्चारको अन्तर्वार्ताका क्रममा भनिन्।

पहिलो फिल्ममै उम्दा गरें भन्न नहुने र कलाकारलाई दोस्रो चलचित्रबाट गाह्रो हुने उनको बुझाइ छ। तर पहिलो चलचित्र बुवा भएकै कारण सजिलो भएकोलाई उनी अस्वीकार गर्दिनन्। कलाकार भएकै कारण सधैं बुवाकै फिल्म खेल्न पनि नपाइने हुँदा अभिनयमार्फत मन जित्नुपर्नेमा उनी ढुक्क छिन्।

फरासिली पञ्चमी पिता घिमिरेले निर्माण गरेको ‘दर्पण छाँया २’ मा सहायक निर्देशन गरेकी थिइन्। त्यसैसँग उनलाई अभिनयमा लाग्न रुचि बढेको थियो। त्यतिखेर धेरैले अभिनय गर्न सुझाव दिएपछि आफूभित्र पनि अभिनय गर्ने चाहना जागेको बताउँछिन्। भनिन्, ‘दर्पण छाँया २ बनिरहेको थियो त्यतिबेरसम्म म आफ्नो एजुकेसन कम्प्लिट गरिरहेकी थिएँ। मास मिडिया पढेँ। एड्भरटाइजिङ पनि गरेको थिएँ। दर्पण छाँया २ को म्युजिक लन्चमा धेरैले ‘एक्टिङ गर्नुस्’ भन्नुभयो, त्यहीँबाट मेरो दिमागमा पनि फिल्मको किरा पस्यो,’ उनले हाँस्दै सम्झिन्।

उनका अनुसार बाल्यकालदेखि नै घरपरिवार फिल्म क्षेत्रमा संलग्न भएकाले सुटिङ सेट, क्यामेरा र फिल्म निर्माणको वातावरणले उनलाई निकै प्रभावित बनाएको थियो। यद्यपि, सुरुमा उनी अभिनयभन्दा पनि फिल्म निर्माण (मेकिङ) तर्फ बढी केन्द्रित भइन्। समयक्रमसँगै उनलाई अभिनयले तान्यो। ‘एक्ज्याक्टली के गर्छु भन्ने थाहा थिएन, तर फिल्म लाइन भन्दा पर पनि जान सकिनँ । जुन बाटो सजिलो थियो त्यही बाटो हिँडेँ ,’ उनले भनिन्।

‘पहाड’ चलचित्रमा उनको सिंगो परिवारले काम गरेको छ। घिमिरे परिवारले नै लगानी गरेको पहाडलाई दर्शकले रुचाइदिएको उनको बुझाइ छ। पञ्चमी सुटिङ स्पटमा धेरैपटक बुवा आमाले सम्झाएको बताउँछिन्। ‘टेक दोहोरिँदा आमाले इशाराले धैर्य गर्न र राम्रै भइरहेको बारे बताउनु हुन्थ्यो, त्यसले मलाई थप उर्जा थपिन्थ्यो,’ उनले भनिन् ।

फिल्मको स्क्रिप्टमा काम गर्न आफूं पनि बसेको बताउछिन् उनी। पिता घिमिरेले परम्परागत कथा भनिरहेकोमा आफूले धेरैपटक खण्डन गरेको बताउँछिन् उनी। भन्छिन्, ‘पापाको स्क्रिनप्लेका बारेमा हामी छलफल गर्थ्यौँ। केही फरक ढंगले कथा नभनी नयाँ पुस्ताका दर्शकको मन जित्न सकिँदैन भन्थ्यौँ।’

पिता घिमिरेलाई उनले ‘पहाड’ फिल्म अहिलेको दर्शकलाई हेरेर बनाउनु पर्ने सुझाव दिएकी थिइन्। फिल्म ‘पहाड’ ले विदेशिएका नेपालीहरूको भावना, घरप्रतिको माया र फर्किने चाहनालाई उठान गरेको छ। पञ्चमीका अनुसार अवसरको खोजीमा विदेशिएका नेपालीहरूलाई दोष दिनु उचित नभए पनि उनीहरूले आफ्नो जरा (घर) नबिर्सनुपर्ने सन्देश फिल्मले दिएको छ। साथै, देशले पनि फर्किन योग्य वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतालाई फिल्मले प्रस्तुत गरेको छ।

उनले दार्जिलिङ, सिक्किम, कालिम्पोङलगायत स्थानका नेपाली समुदायका कथासँगै विश्वभर छरिएका नेपालीहरूको साझा अनुभवलाई फिल्मले समेटेको बताइन्। यो केवल नेपालीहरूको मात्र नभइ घरबाट टाढा बसेका सबै मानिसहरूले अनुभूत गर्न सक्ने पारिवारिक कथा भएको उनको भनाइ छ।

‘विदेश गएका नेपालीहरू मनले होइन, परिस्थितिले गएका हुन्,’ उनले भनिन्, ‘सबै अनुभव लिएर एकदिन घर फर्किनुपर्छ भन्ने नै फिल्मको मुख्य सन्देश हो। ‘पहाड’ केवल एउटा स्थानको कथा नभई विश्वभर छरिएका नेपालीहरूको साझा कथा हो। यो दार्जिलिङ, सिक्किम, नेपाल मात्र होइन, जहाँ जहाँ नेपाली छन्, सबैको कथा हो।’

विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै उहाँले घरबाट टाढा बस्नुपर्ने पीडा, पर्व–उत्सवको सम्झना र परिवारको मायालाई फिल्मले उजागर गर्ने विश्वास व्यक्त गर्दछ। अवसर मिलेमा स्वदेश फर्किन र देशमै केही गर्ने प्रेरणा फिल्मले दिने उनले बताइन्।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ। प्रमोद प्रधानले छायाङ्कन गरेको फिल्म भाग्यरत्न फिल्म्सको ब्यानरमा बनेको हो।

अबको नेपाली फिल्म मौलिक कथामा बन्नु पर्ने बुझाइ छ उनको। माटोको कथा वा इतिहासको कथा भन्न सके नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुग्न सक्ने बताउँछिन्। जीवनमा नाच्न र गाउन रुचि राख्ने पञ्चमी अभिनयलाई प्राथमिकतामा राख्छिन् । आफ्नै बुवा फिल्म क्षेत्रमा नभएको भए अभिनय क्षेत्रमा आउन गाह्रो हुन सक्ने पनि बताउँछिन् उनी।

बाउबाजेको थातथलो कालिम्पोङ भए पनि पञ्चमी मुम्बईमा जन्मिन्। उतै हुर्किन्। तर उनलाई लागिरह्यो नेपालमै केही गर्ने। ‘मेरो पुरै परिवार फिल्म क्षेत्रमा हुनुहुन्छ। म सानैदेखि फिल्मसँग जानकार छु। तर नेपालमै बसेर फिल्म क्षेत्रमै केही गर्ने सोचेको थिएँ। अब सुरुवात भयो,’ उनले भनिन्।

मास मिडिया पढेकी पञ्चमीलाई विज्ञापनको क्षेत्र बारे ज्ञान छ। बलिउडमा एउटा विज्ञापन बनेको पैसामा नेपालमा फिल्म बन्छ भन्ने राम्री थाहा छ। त्यसैले उनी भन्छिन्, ‘नेपालमा जुन बजेटको फिल्म बन्छ त्यही सोचका साथ फिल्म हेरिनुपर्छ, कथा पनि त्यही अनुसार भनिनु पर्छ भन्ने लाग्छ।’

तीन सय रुपैयाँमा हलमा गएर हलिउड र बलिउड नेपाली फिल्म हेर्न पाइन्छ तर नेपालको फिल्मको बजेट कम हुन्छ। दर्शकले नेपाली फिल्म नै हो भनेर हेरिनु पर्ने बताइन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…