- विद्यालयमा खाजा पकाएर खुवाउन थालेपछि विद्यार्थीहरूको नियमितता बढेको र कक्षा छोड्ने समस्या कम भएको छ।
- यसअघि नगद वितरणले विद्यार्थीहरूको उपस्थिति घटेकाले अनिवार्य खाजा कार्यक्रम लागू गर्न सुरू गरिएको हो।
- शिक्षक अभिभावक संघको जिम्मामा पौष्टिक खाजा वितरण भइरहेको छ, जसमा १३२ विद्यार्थी सहभागी छन्।
सिमकोट- हुम्लामा दिवा खाजा कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरू नियमित नहुने र कक्षा नछोड्ने समस्या हटेको छ । सरकारद्वारा प्राप्त हुने दिवा खाजाका लागि न्यून बजेटबाटै अनिवार्य खाजा खुवाउने गरिएपछि विद्यार्थीहरू नियमित हुने र कक्षा छोड्ने समस्याबाट मुक्ति मिलेको हो ।
विद्यालयमै खाजा पकाएर विद्यार्थीहरूलाई दिउँसो खाजाको समयमा खुवाउन थालिएपछि विद्यार्थीहरू नियमित हुने क्रम बढेको र कक्षा छोड्ने समस्या हटेको सिमकोट गाउँपालिका- ७ को कर्णाली माविका प्रधानाध्यापक लोकराज शाहीले बताए ।
यसअघि दिवा खाजाको पैसाले खाजा नपुग्ने भएपछि त्यसको सट्टा नगदै विद्यार्थीहरूको हातमा दिने गरिन्थ्यो । त्यसले गर्दा विद्यार्थीहरू नियमित पनि नहुने र कक्षा छोड्ने संख्या पनि बढ्ने समस्या भोगिएको र त्यसको समाधानका लागि खाजा नै पकाएर खुवाउने उपाय अपनाइएको हो ।
बालविकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीहरूलाई दैनिक खाजा पकाएर खुवाउने जिम्मा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्षलाई दिइएको छ ।
हाल हिमाली जिल्लामा प्रति विद्यार्थी प्रतिदिन पैच्चीस रुपैयाँ सरकारले उपलब्ध गराउने गरेको छ । सो बजेटले जे जति व्यवस्था गर्न सकिन्छ, त्यसैबाट गर्ने गरिएको छ । यसका लागि दुई जना सहयोगीको पनि विद्यालयले व्यवस्था गरेको छ ।
दिवा खाजाका लागि १३२ जना विद्यार्थीहरू रहेका छन् । जसमा बालविकासमा २७ जना, कक्षा एकमा १७ जना, कक्षा दुईमा १९ जना, कक्षा तीनमा १३ जना, कक्षा चारमा ४० जना र कक्षा पाँचमा १६ जना विद्यार्थीहरू रहेका छन् ।
खाजा भने विद्यालयले पौष्टिक आधारलाई मध्यनजर राख्दै चना, मकै, सिमी, कोदोको ढिडो, चिया, मकै, भटमास र कहिलेकाहीँ चिनोको भात पकाएर खुवाउने गरिएको छ ।
भर्खरै
लोकप्रिय
