- कोशी टापु वन्यजन्तु आरक्षणमा खुला चाैपाया भैँसीहरूका कारण जङ्गली अर्नाको आनुवंशिक शुद्धता खतरामा परेको छ।
- घरपालुवा भैँसी र जङ्गली अरनाको क्रस-ब्रिडिङले आनुवंशिक क्षय निम्त्याइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
- जङ्गली अर्नाको विशेष शारीरिक र आनुवंशिक विशेषता हराउँदै जाँदा संरक्षणको मुख्य चिन्ताको विषय बनेको छ।
काठमाडौँ– कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा महत्वपूर्ण सिमसार तथा घाँसे मैदान हो।
सप्तकोशी नदीले बनाएको यो मैदान जङ्गली हात्ती, नीलगाई, चराचुरुङ्गी र विशेष गरी दुर्लभ जङ्गली अर्नाको मुख्य आश्रयस्थलका रूपमा परिचित छ। जङ्गली अर्नाको मौलिक जीन हराउने खतरा याे क्षेत्रमा अहिले एउटा मौन संकटकाे रुपमा बढिरहेको छ।

वैज्ञानिक अध्ययनहरूका अनुसार कोशीटप्पु क्षेत्रमा खुल्ला चाैपाया भैँसीको समस्या नयाँ होइन। सन् १९५० को दशकतिर केही घरपालुवा भैँसीहरू छुटेका वा खुला रूपमा छाडिएका कारण फेरल (खुल्ला चाैपाया) काे जनसंख्या विकसित भएको उल्लेख विभिन्न अनुसन्धानमा पाइन्छ।
पछि ती भैँसीहरू जङ्गली बथानसँग मिसिँदै गए। अहिले कोशीटप्पु भित्र र वरपर हजारौंको संख्यामा घरपालुवा तथा फेरल गाईवस्तु चरिरहेका भेटिन्छन्। यही अवस्थाले जङ्गली अरनाको आनुवंशिक शुद्धतामाथि चुनौती खडा गरेको छ।

खुला चरन र नियन्त्रणविहीन पशु प्रवेशका कारण जङ्गली अरना र घरपालुवा भैँसीबीच क्रस–ब्रिडिङ बढिरहेको छ। यसले “जेनेटिक इरोजन” अर्थात् मौलिक जीनको क्रमिक क्षय निम्त्याइरहेको छ। जङ्गली अरनाको विशिष्ट शारीरिक र आनुवंशिक विशेषता विस्तारै हराउँदै जाने जोखिम अहिले संरक्षणको मुख्य चिन्ता बनेको छ।

कोशीटप्पुका मैदानमा देखिने कतिपय भैँसीहरूमा मिश्रित विशेषता स्पष्ट देख्न सकिन्छ। शुद्ध जङ्गली अर्नाको शरीर सामान्यतया ठूलो, कालो र शक्तिशाली हुन्छ। तिनका सिङ बाक्ला र अर्धचन्द्राकार बाहिरतिर फैलिएका हुन्छन्।
तर क्रस–ब्रिड भैँसीमा शरीरको अनुपात, सिङको आकार, अनुहारको बनावट र रङमा फरकपन देखिन्छ। यही परिवर्तनले जङ्गली वंश क्रमशः कमजोर बन्दै गएको संकेत दिन्छ।

![]()
तस्बिर : दृष्टान्त बिडारी/ नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
