- बुधबारको प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको र विपक्षीले संसद्मा अवरोध गरेका छन्।
- प्रधानमन्त्रीको कुर्सीमा बसिसकेपछि बालेन्द्र शाहले सार्वजनिक रुपमा बोल्न नहुनुको कारण उनका स्वास्थ्यको समस्या बताइएको छ।
- संसदमा प्रधानमन्त्रीको मौनताको आलोचना गर्दै संविधानका संरक्षक राष्ट्रपति पौडेलले उनीलाई सचेत गराउनुपर्ने सुझाव आएको छ।
बुधबारको प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित भयो । यसअघि पनि बुधबार दुईपटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेका थिए। सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको सट्टामा अर्थमन्त्रीले बोल्ने भन्नेबित्तिकै संसद्मा विपक्षीले बुधबा रडाको मच्चाए। आम निर्वाचनपछि ताजा जनादेशले बनेको यो सदन यसरी अवरोध भएको यो पहिलो पटक हो। बुधबार संसद खुल्ने र प्रधानमन्त्री आउने, दुवै कुरा अन्योलमा पर्दा ताजा जनादेशबाट आएको संसदको रूप पनि पुरानै देखिएको छ । यो नयाँहरूको बाक्लो उपस्थिति रहेको संसद पनि किन पुरानै स्वरुपको देखिएको? प्रधानमन्त्रीको पदभार सम्हालेका बालेन्द्र शाहले केही अति सामान्य नियम नमानिदिँदा यो भएको त होइन ?
चुनावी सभाहरुमा छोटै बोलेर भएपनि जनमतलाई राम्रै सम्बोधन गरेका बालेन्द्र शाह हाल ढुंगो बोल्ला मान्छे बोल्दैनझैँ देखिएका छन् । एजेण्डाको विषयमा उठेको प्रश्नलाई सम्बोधन गर्दै बालेन्द्रले त्यतिबेला चुनाबी सभामा भनेका थिए- विपन्नले शिक्षा पाउने र दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्यो, त्यही हो एजेण्डा हो भनेर। हुन पनि, तीन दलको म्युजिकल चियरबाट पीडित हुँदै गएका जनसागरलाई लामो भाषण र आश्वासनमा कुनै आकर्षण नभएको समयमा नै केन्द्रीय राजनीतिमा आइपुगे बालेन जो केबल प्रेस, सभा र गोष्ठीमा मात्र हैन, बोल्नुपर्ने ठाउँमा पनि बोल्दैन।
बालेन्द्रको बोली कुनै सुरिलो संगीत हैन जो सांसदहरूलाई सुन्न कौतुहल भएको छ, न उनी कुनै चमत्कारिक आवाजका धनी हुन् जसले बोलेको सुन्न पाउनु आफैँमा एउटा उपलब्धि होओस्। तर प्रधानमन्त्रीको कुर्सीमा बसिसकेपछि अब उनी बालेन शाह मात्र रहेनन्, उनी सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह भएका छन्। सम्माननीय बनिसकेपछिका आफ्नै मर्यादा, जिम्मेबारी र आचारसंहिता हुन्छन् होला, तर बिडम्बना दुई तिहाई ल्याउन सक्ने पार्टीका वरिष्ठ नेताले किन यो बुझिरहेका छैनन्?
प्रधानमन्त्रीका रुपमा बालेन्द्र शाहले पद समालेको आज करिब ५० दिन हुन लाग्दा उनी सार्वजनिक पदधारीका रुपमा न कुनै मिडियासँग बोलेका छन्, न संसदमा सम्बोधन नै गरेका छन्। हुँदाहुँदा प्रधानमन्त्री शाह राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको समयमा नै संसद भवन छोडेर मुस्कुराउँदै निस्किए। उनी निस्किएपछि चौतर्फी आलोचना हुन थाल्यो र आयो जानकारी उही सामाजिक सन्जालमार्फत उनका राजनीतिक सल्लाहकार अर्का शाह अर्थात् असिम शाहको जहाँ प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि उनी निस्किएको तर्क थियो। तर, असिम शाहको स्टाटस केहीबेरमै डिलिट भयो। मुस्कुराउँदै निस्केका प्रधानमन्त्री शाह वास्तवमै बिरमी थिए वा उनले बिरामी समयलाई निम्ता दिइरहेका थिए, उनी नै जानून्!
यो घटनामाथि टिप्पणी गर्दै लेखक एवम् पत्रकार विजयकुमार पाण्डे भन्छन्, ‘राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्र बालेन्द्र शाहले संसदमा जेजस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।’
बोल्नैपर्ने र पदको गरिमा जोगाउने ठाउँमा कृपया बोल्नुस् प्रधानमन्त्रीज्यू। अन्यथा, तपाईँको मौनता नै तपाँईको ओरालो यात्राको कारक बन्ला।
सांसदहरुबीच संसदमा चलेको चर्काचर्कीले आजको संसदलाई निकै चर्चा दियो। तर, संसद भवन कुनै चर्चाको खाँचो भएको ठाउँ हैन । विपक्षी दलका नेताहरुले मनग्गै असन्तोष व्यक्त गरे । हर्क साम्पाङले सदन छोडे, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीबाट कुनै र्याप गीत नभएर मर्यादा अनुरुप अत्यन्तै जरुरी एवम् संवेदनशील विषयमा बोल्न आग्रह गरेको जिकिर गरे।
अग्रणी मत राख्दै अर्जुन नरसिंह केसीले भने, ‘प्रधानमन्त्रीद्धारा संसदको उपेक्षा हुनु अत्यन्तै दुखी कुरा भएकाले, आजको लागि उहाँको प्रतिनिधिले बोले पनि यसबीच उहाँ आफू नै उपस्थिति भई बृहत्तर छलफल नगरे हामी पनि संसदलाई बहिष्कार गर्न बाध्य हुनेछौँ।’
यो सबका भागीदार प्रधानमन्त्रीको कुर्सीमा आसिन बालेन्द्र शाह हुनुपर्ने हो। बिडम्बना सभापति लामिछाने निरीह देखिन्छन् सत्तापक्ष लेखिएको कुर्सीको अघिल्तिर जहाँ उनी सभापति भएर पनि पार्टी भन्दा माथि रहेका सांसद एवम् प्रधानमन्त्री शाहको हर्कतको केबल साक्षी बन्न सक्छन्।
बोल्नु, चस्मा लाउनु वा कोट लाउनु वा नलगाउनु यी सब कुराहरु माथि त कार्यकालभरि चर्चा एवम् परिचर्चा हुन सक्ला तर लोकतन्त्र र यसका आधारभूत मुल्य मान्यतामाथि नै प्रहार हुन थाल्यो भने जुन जोगी आए पनि कानै चिरेका बाहेक हामीले के नै पो भन्न सक्ने होला र?
र्याप गीतदेखि र्याप ब्याटल सम्ममा धारा प्रवाह बोल्न सक्ने, मेयरको चुनाबमा अन्तर्वार्ताहरूमा गएर प्रशस्तै बोलेका बालेन जसलाई विशाल जनसागर र समयले प्रधानमन्त्रीसम्म बनायो उनी हाल किन मौन छन्? कि देउवाझैँ आफ्नो ज्योतिषिलाई निकै मान्छन् बालेन?
बोल्नैपर्ने र पदको गरिमा जोगाउने ठाउँमा कृपया बोल्नुस् प्रधानमन्त्रीज्यू। अन्यथा, तपाईँको मौनता नै तपाँईको ओरालो यात्राको कारक बन्ला।
बोल्दे न सरकार।
भर्खरै
लोकप्रिय
