- बाजुरा-हुम्ला सीमा विवादका कारण सडक अवरुद्ध हुँदा धुलिचौरमा ३०-४० सवारीसाधन र १५० यात्रु अलपत्र परेका छन्।
- हिमाली गाउँपालिका र खार्पुनाथका स्थानीयबीच झडप हुँदा ६ जना घाइते भएका र ४ जनाको उपचार भइरहेको छ।
- स्थानीयले दोषीलाई कारबाही नभएसम्म बाटो नखोल्ने भन्दै जिल्लामा भएको सर्वपक्षीय निर्णय अस्वीकार गरेका छन्।
बाजुरा- हुम्ला-बाजुरा सीमा विवादका कारण पिलु-धुलिचौर हुँदै हुम्लातर्फको सडकखण्ड दुई दिनदेखि अवरुद्ध भएको छ।
बाजुराको हिमाली गाउँपालिकास्थित धुलिचौरमा स्थानीयले सडक अवरुद्ध गरेका हुन्। धुलिचौर हिमाली गाउँपालिकाको केन्द्र पनि हो। सडक अवरुद्ध हुँदा दुई दिनदेखि मालबहाक तथा यात्रुबहाक सवारी सधान सञ्चालन हुन सकेका छैनन्।
सडक अवरुद्ध भएपछि धुलिचौरमा करिक ३०।४० वटा सवारी सधान रोकिएका छन्। करिब १५० जनाको संख्यामा यात्रुसमेत बाटोमै अलपत्र परेका छन्।
तर अझै सडक खुल्ने अवस्था देखिएको छैन।
हिमाली गाउँपालिका ३ स्थित लाम्पाटामा प्रहरी चौकी निर्माणका विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका २ थालीका स्थानीय र लाम्पाटाका स्थानीयबीच विवाद भएको थियो।
विवादकाबीचमा जेठ ५ गते झडप हुँदा बाजुराकातर्फका ६ जना घाइते भएका थिए। घाइतेमध्ये ४ जनाको सुर्खेत लगेर उपचार भइरहेको छ।
बाजुराका स्थानीयले आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही नभएसम्म सडक नखोल्ने अडान लिँदै आएका छन्। बिहीबार बाजुराको सदरमुकाम मार्तडीमा बसेको सर्वपक्षीय बैठकले दोषीलाई कारबाही गर्न हुम्ला प्रशासनलाई दिने र बाटो खुलाउने निर्णय गरेको थियो।
तर स्थानीयले जिल्लामा भएको सर्वपक्षीय निर्णय स्वीकार गरेनन्। उनीहरूले कुटपिट गर्नेहरुलाई कारबाही नभएसम्म बाटो नखुलाउने अडान लिएका छन्।
बाजुरा जिल्ला प्रशासन कार्यालयमा पनि सिमा विवाद र झडपमा विषयमा बिहीबार सर्वपक्षीय बैठक बसेको थियो। बैठकले कुटपिटका विषयमा छानिबन गर्न आयोग गठनका लागि केन्द्रीय सरकालाई आग्रह गर्ने र बाटो खुलाउने निर्णय गरेको छ।
दुवै जिल्लामा भएको निर्णयको स्थानीयले स्वीकार गरेका छैनन्।
भर्खरै
लोकप्रिय
