- स्थानीय गाउँवासीको सहयोगमा उनापानी गाउँका आगलागी पीडितका लागि आठ वटा नयाँ घर निर्माण सम्पन्न भएको छ।
- सबै गाउँवासी मिलेर ढुङ्गा र काठ ओसार्ने कार्य गर्दै घरको संरचना निर्माणमा सहयोग गरेका थिए।
- आगलागी पीडितले गाउँपालिकाबाट जानकारी नगराउँदा गृह मन्त्रालयको आर्थिक सहयोगबाट वञ्चित हुनु परेको गुनासो गरेका छन्।
हुम्ला – आगलागीमा परी जलेर नष्ट भएका पीडितका घर स्थानीयको सहयोगमा निर्माण गरिएको छ। सहयोगी र मानवताको भावले सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका आगलागी पीडितका घर स्थानीय गाउँवासीको सहयोगमा निर्माण गरिएका हुन्।
एक वर्षअगाडि २०८२ सालको जेठ १४ गते आगलागीबाट घर जलेर नष्ट भएका उनापानी गाउँका आठ जना पीडितको नयाँ जस्तापाताले छापेका घर निर्माण सम्पन्न भएको छ। आठ वटै घर ढुङ्गा, काठ, माटोले निर्माण गरेर जस्तापाता छापिएका छन्। काठ र ढुङ्गा ओसार्ने कार्य सवै उनपानीका गाउँवासी मिलेर गरेको र घरको अन्य संरचना निर्माणमा पनि गाउँवासीले सहयोग गरेका थिए।
यी आठ वटै घर ६ महिनामा निर्माण गरिएका हुन्। नयाँ घर निर्माण भएपछि हाल आठै जना आगलागी पीडित ती घरमा सरिसकेका छन्। आगलागी भएका आठ घरमध्ये तीन वटा नयाँ थिए भने पाँच वटा पुराना हुन्।
आगलागी पीडितका लागि घर निर्माण गर्न आफन्त र छिमेकीको सहयोग अविष्मरणीय रहेको आगलागी पीडित पाले फडेराले बताए। जलेका घर नयाँ निर्माण गर्न सक्ने अवस्थामा आफूहरू नरहेको अवस्थामा सबैको सहयोगमा नयाँ र जस्तापाताले छाएको घरमा बस्न पाउँदा आफूहरू ऋणी भएको उनले बताए।
आगलागी पीडितको विवरण हालसम्म गाउँपालिकाले पोर्टलमा नराखेकाले गृह मन्त्रालयबाट पाइने पाँच लाख रकमबाट भने वञ्चित हुुनुपरेकामा आगलागी पीडितले दुःख व्यक्त गरेका छन्।
भर्खरै
लोकप्रिय
