वीरगंज- वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।
उनलाई आज बिहान पर्सा र चितवनको सीमा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजु कार्कीले सिंहको पक्राउको पुष्टि गरेका हुन्।
नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट गत जेठ ८ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
मेयर सिंहले नक्कली कागजातहरू तयार पारी अरूकी छोरीलाई आफ्नै छोरी दाबी गरेर नागरिकता दिलाएको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो। सोही मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी सीमा क्षेत्रबाट पक्राउ परेका मेयर सिंहलाई आजै अदालतमा हाजिर गराउने तयारीमा जुटेको छ। अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने पर्सा प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय
