- वाग्मती र बकैया नदीको जीर्ण बाँधका कारण रौतहट क्षेत्रका धेरै नगरपालिकाहरू बाढीको उच्च जोखिममा परेका छन्।
- बाँध फुट्दा राजपुरमा बाढी पसेर जनजीवन प्रभावित भएको र बर्सेनि ठूलो धनजन क्षति भइरहेको छ।
- नदीको बाँधको अनुगमन गरी क्षति न्यूनीकरणका लागि तटबन्ध मर्मत तथा नियमित अनुगमन गर्न अधिकारीहरूले निर्देशन दिएका छन्।
चन्द्रपुर (रौतहट)- रौतहट भएर बग्ने वाग्मती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा यस क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्।
दुवै नदीको बाँध कमजोर भएर भत्किँदा बर्सेनि गौर सदरमुकामलगायत दर्जनौँ बस्तीहरू डुबानमा पर्ने गरेका छन्। यसबाट प्रत्येक वर्ष करोडौँ मूल्य बराबरको धनजन र बालीनालीको ठूलो क्षति भइरहेको छ।
केही दिनअघि भएको वर्षाका कारण बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका–४ मा बाढी पसेपछि त्यहाँको जनजीवन प्रभावित भएको थियो।
बकैया नदीको बाँध फुट्दा रौतहटका आधा दर्जनभन्दा बढी नगरपालिकाहरू प्रभावित हुने स्थानीय प्रकाश श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाँध फुट्दा कटहरिया, देवाही गोनाही, मौलापुर, ईशनाथ, राजपुर तथा गौर नगरपालिकाका नागरिकहरू प्रत्यक्ष प्रभावित हुन्छन्।
नदीको बाँधलाई दिगो र बलियो नबनाएसम्म बर्सेनि यस भेगका बासिन्दाले सास्ती र क्षति बेहोरिरहनुपर्ने श्रेष्ठले बताए।
यस्तै, वाग्मती नदीको बाँध कमजोर हुँदा पनि आधा दर्जन पालिकाका नागरिक समस्यामा परेका छन्।
वाग्मतीको बाढीका कारण दुर्गाभगवती गाउँपालिका, गढीमाई, माधवनारायण, राजदेवी र गौर नगरपालिकाका नदी तटीय बस्तीहरू डुबानमा पर्ने गरेको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए।
गत वर्ष पनि वाग्मती नदीमा आएको बाढीले करोडौँ मूल्यबराबरको धानबाली नष्ट गरेको र बाँध कमजोर हुँदा स्थानीयले सधैँ डरैडरमा बस्नुपरेको सिंहको भनाइ छ।
यसैबीच, वाग्मती र लालबकैया नदीमा पानीको सतह बढ्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसहितको सुरक्षा अधिकारीको टोलीले बिहीबार नदी नियन्त्रण बाँध तथा निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा राजदेवी नगरपालिका–३ स्थित वाग्मती नदीको बाँधमा वर्षा र नदी कटानका कारण सामान्य क्षति पुगेको पाइएको प्रजिअ भुसालले बताए।
उनले निरीक्षणलगत्तै सम्बन्धित निकायलाई क्षतिग्रस्त भागको तत्काल मर्मत तथा आवश्यक संरक्षणका काम अघि बढाउन निर्देशन दिएका छन्।
प्रजिअ भुसाल नेतृत्वको उक्त टोलीले परोहा नगरपालिका–३ तेजापाकडस्थित लालबकैया नदीमा निर्माणाधीन स्पर (कटान नियन्त्रण संरचना) को समेत निरीक्षण गरी कामको प्रगति, बाँधको अवस्था तथा सम्भावित जोखिमबारे प्राविधिकहरूसँग जानकारी लिएको थियो। वर्षायाममा हुन सक्ने क्षति न्यूनीकरणका लागि संवेदनशील क्षेत्रको नियमित अनुगमन र पूर्वतयारीलाई तीव्र बनाइएको प्रजिअ भुसालले उल्लेख गरे।
उनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र विपद् सम्बन्धी कुनै पनि सूचना तत्काल सुरक्षा निकायमा दिन आग्रह समेत गरे।
उक्त अनुगमन टोलीमा नारायण दल गणका गणपति विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी सहभागी थिए।
भर्खरै
लोकप्रिय
