- नेपाली महिला फुटबल टोलीले बंगलादेशसँग सेमिफाइनल खेल्दै पुन एकपटक फाइनल पुग्ने लक्ष्य राखेको छ।
- पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई पराजित गरेको र बदला लिने अवसर रहेको छ।
- बंगलादेशी फुटबलमा आन्तरिक विवादले गर्दा नेपालले फाइदा उठाउन सक्ने सम्भावना देखिएको छ।
काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले महिला साफ च्याम्पियनसिप अन्तर्गत बुधबार जवाहरलाल नेहरु स्टेडियम, गोवामा पहिलो सेमिफाइनल अन्तर्गत साविक च्याम्पियन बंगलादेश सँग अपरान्ह ४ बजे प्रतिस्पर्धा गर्दै छ। नेपाली महिला फुटबल इतिहासकै महत्त्वपूर्ण मध्ये एक मानिएको यो खेल नेपाल जित्दै पुन एकपटक फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिने छ।
सेमिफाइनलमा नेपाल पछिल्लो पटक सन् २०१६ मा एकपल्ट मात्र असफल भएको थियो। अन्यथा नेपालले पटक-पटक फाइनलमा स्थान बनाएको छ तर दुर्भाग्य एकपटक पनि साफ च्याम्पियनसिप जित्न सकेको छैन्।
२०१६ बाहेकका बाँकी संस्करणमा लगातार उपविजेता बनिरहेकाले नेपाल उपाधिका लागिनै प्रतिस्पर्धामा छ। उपाधि दाबेदारको बलियो छविमा निरन्तर रहेको नेपाल फाइनल पुग्न नसकेमा नेपाली महिला फुटबलको दाबेदार छवि समेत छाँयामा पर्ने जोखिम छ। प्रशिक्षक नवीन न्यौपानेले नेपाली महिला फुटबलकै लागि ठुलो खेलका रुपमा बंगलादेश विरुद्धको भिडन्तलाई लिएका छन्।
उनले खेल अघि भने ‘नेपाल महिला फुटबलका लागि सेमिफाइनल ठूलो मात्र होइन निकै ठूलो खेल हो। हाम्रो टिम यो खेलका लागि शारीरिक र मानसिक रूपमा तयार छ, खासै केही ठूलो समस्या देखिएको छैन्। हामी यो खेललाई लिएर उत्साही पनि उतिकै छौ।’
त्यसोत नेपालका लागि बंगलादेश सँगको पछिल्ला भेटहरु सुखद छैनन्। पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशको हातबाट नेपाल पराजित भयो। त्यसैले नेपालका लागि पछिल्ला दुई फाइनलमा बेहोरेको हारको बदला लिने मौकाका रुपमा समेत यो खेल रहने छ।
पछिल्लो समय बंगलादेशी महिला फुटबल कति बलियो मानिन्छ। नेपालले यो दक्षिण एसियाली प्रतिद्वन्द्वीलाई सन् २०२१ यता हराउन सकेको छैन। पछिल्लो ५ वर्षदेखी नेपालमाथि हावि रहेको बंगलादेश यो पालि पनि सोहि निरन्तरता चाहन्छ। अहिलेसम्म यी दुई टिमबीच १३ खेल भएको छन् जसमा नेपाल ६ खेलमा विजयी भएको छ। त्यो सफलता भनेको २०२१ भन्दा अघिका मात्र हुन्।
सन् २०१० मा नेपाल र बंगलादेशबीच पहिलो खेल भएको थियो, दक्षिण एसियाली खेलकुदमा। त्यसपछि सन् २०२१ सम्म नेपाल बंगलादेशविरुद्ध लगातार अपराजित रह्यो। अझ सुरुआती ४ खेलमा त बंगलादेश नेपालविरुद्ध एउटै गोल गर्न पनि सक्षम भएको थिएन्।
तर त्यसपछि फेरिएको बंगलादेशलाई नेपालले हराउनै सकेन। पछिल्लो पटक सन् २०२४ मा बंगलादेशले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाललाई हराएयता दुई टिमबीच पहिलो पटक खेल हुन लागेको हो । यसबीच बंगलादेश एसिया कपमा छनोट हुन सफल रह्यो, तर नेपालले त्यस्तो उपलब्धि नजिक पुगेपनि फेरी पनि टाढानै रहन बाध्य भयो।
विवादमा छ बंगाली टोली
त्यसोत लगातार सफलता मात्र होइन पछिल्लो समय विवाद समेत बाहिर आइरहेका छन्। बंगलादेशी महिला फुटबलले सुधारेपनि आफैलाइ ध्वस्त पार्ने तर्फ अघि बढेको आरोप लाग्ने गरेकव छ। ‘सेल्फ डिस्ट्रक्सन मोड’ मा बंगलादेशी महिला फुटबल टोली पुगेको आरोपलाई चिर्न पनि उनीहरुले नेपाललाई हराउनु पर्ने चुनौती छ।
मुख्य गरी अहिलेको टिममा पुराना र नयाँ खेलाडीबीच स्पष्ट एकता नहुँदा समस्या रहने गरेको बताइन्छ। टिमबाट केही सिनियर खेलाडी फालिएका छन्, केही नयाँ खेलाडी टिममा आएका छन्, तर टिममा स्पष्ट एकता नभएको मानिन्छ। टिम व्यवस्थापक खालिद महमुद पनि लगातार विवादमा परिरहँदा बंगलादेशी समर्थकहरु र विश्लेषकहरुको आरोपमा बल पुगेको छ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले समेत उनको खराब व्यवहारलाई लिएर बंगलादेशी फुटबल संघसामु आपत्ति जनाइएको बताइएको छ।
अझ भारतसँगको हारमा खेलाडीबीच आपसी तालमेल देखिएको थिएन र खास-खास खेलाडीले खेललाई बेवास्ता गरेर खेलेको नतिजानै फरक पारेको आरोप लागेको छ। यस्तोमा उनीहरुको बेमेलमा नेपालले फाइदा उठाउन सक्छ। तर उनीहरु फेरी एकपटक एकताबद्ध भएर मैदानमा उत्रिएमा स्वभाविक संकट सिर्जना हुने छ।
भर्खरै
लोकप्रिय
